स्वास्थ्य

कैदीबन्दीलाईं बाहिरी वातावरणबाट जोगाउन चुनौती

इटहरी- कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्वव्यापी महामारीको रुप लिइरहेको बेला कारागारमा रहेका कैदीबन्दीलाई जोगाउन मुख्य चुनौती रहेको छ। पूर्वको सबैभन्दा ठूलो कारागार झुम्का सुनसरीमा कैदीको चाप बढेको र विभिन्न बिरामीको संख्या पनि थुप्रै भएकाले कोरोनाको संक्रमणबाट जोगाउनु चुनौती भएको हो।

कारागारमा ठूलो संख्यामा कैदीबन्दी हुनु र विभिन्न खालका बिरामी हुँदा उनीहरुलाई अन्यत्र अस्पतालमा उपचार गर्न लादा–ल्याउँदा बाहिरी मुभमेन्टबाट जोगाउन समस्या हुने कारागार प्रशासनका जेलर उपसचिब अनिल खनालले बताए। कारागारमा कोरोनाको संक्रमण देखा परेमा नियन्त्रणबाहिर जानेछ।

अहिले कारागारमा विभिन्न किसिमका बिरामीहरु छन्। एक जना अहेब छन्। उनले सामान्य उपचार गर्छन्। अहेबबाट सम्भव नभएका बिरामीलाईं सुरुवातमा जिल्ला अस्पताल इनरुवामा लाने गरिन्छ, त्यसपछि कोशी अञ्चल अस्पताल वा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप उपचारका लागि लाने गरिन्छ। ‘पूर्वका अस्पतालमा उपचार गर्न सम्भव नभएका बिरामीलाई काठमाडौ पठाउने गरिएको छ,’ कारागार प्रशासनका अधिकृत सूर्यमान बाँनियाले भने। बिहीबार मात्र एक जना हात्तीपाइले रोगका बिरामीलाईं काठमाडौ लगिएको छ। दीर्घरोगी १३ जनालाई काठमाडौ लानेका लागि कारागार व्यवस्थापन विभागसँग सहमति मागिएको छ।’

अहेब मोहन भूजेलका अनुसार, यहाँ अहिले रुघाखोली, सुगर, प्रेसर, मानसिक सन्तुलन गुमाएका, श्वासप्रश्वास सम्बन्धी, छाला, पायल्स, मुटुरोगीलगायतका बिरामी छन्। यी सबैलाई नियमित अस्पतालमा उपचार गर्न लैजादा खतरा हुने  भएका इमेरजेन्सी बिरामीलाई मात्र अस्पतालमा उपचार गर्न लाने गरिन्छ।

एकातिर केन्द्रीय कारागारपछि सबैभन्दा ठूलो संख्यामा कैदीबन्दी झुम्का कारागारमै रहेका छन्। अनि, त्यसमा यहाँ पूर्वका अन्यत्र जिल्लाका बिरामीलाई पनि कारागार प्रशासनले बाहिरका व्यक्तिमार्फत संक्रमण भित्रिनै नदिनका लागि विशेष सतर्कता अप्नाएको जनाएको छ। ‘अहिले हप्तामा दुई दिनमात्र आफन्तसँग भेट गर्न दिएका छौ, त्यसमा पनि अति आवश्यक काम पर्दा मात्र भेटन दिएका छौ,’ अधिकृत बनियाँले भने, ‘बाहिरका व्यक्ति कारागार परिसरभित्र छिर्दा थर्मल गर्नमार्फत ज्वरो नाप्ने गरिएको छ।’ साथै, कारागार बाहिर कैदीबन्दीलाई भेट्न आउनेलाई साबुन पानीले हात धुने व्यवस्था मिलाइएको छ।

झुम्का कारागारबाट २०६९ कार्तिक २३ गते राति झन्डै ८० फिट लामो सुरुङ खनेर १२ जना कैदी भागेका थिए। यसतर्फ पनि कारागारले सतर्कता अप्नाएको  छ। यहाँ ब्लक नं. १ र २ गरि एक हजार सात सय ४३ जना कैदीबन्दी छन्।

प्रकाशित: ८ चैत्र २०७६ १३:२० शनिबार

कैदीबन्दी वातावरण काेभिड_१९ काेराेना