स्वास्थ्य

भ्रम फैलाए कस्तो सजाय हुन्छ ?

काठमाडौं- सामाजिक सञ्जालमा एकाएक कोरोनाबारे एउटा अडियो भाइरल भयो। फेसबुकको मेसेन्जरमा एक जना पुरुष व्यक्तिको आवाज रहेको उक्त भ्रमपूर्ण अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भनिएको छ।  महामारीको रुपमा फैलिएको कोरोनाबारे यस्तो अडियो भाइरल भएपछि मानिसहरु त्रसित हुन स्वभाविक पनि हो। तर उक्त अडियोबारे कुनै सत्यता नभएको नेपाल प्रहरी र सम्वन्धित अस्पतालले बताइसकेका छन्। भाइरल अडियोबारे नेपाल प्रहरीले अनुसन्धान थालिसकेको बताएको छ।

भ्रम फैलाएमा सजायँ हुने कानुनी व्यवस्था समेत छ। मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा त्यसको व्यवस्था गरिएको छ।

अफबाह फैलाउनेबारे कानुनमा यस्तो भनिएको छ :

७०. झुट्ठा अफबाह फैलाउन नहुनेः

(१) कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।

विद्युतीय माध्यमबाट अफवाह फैलाएमा थप सजायँ समेत हुन सक्छ।

 

 

प्रकाशित: ८ चैत्र २०७६ ०८:५३ शनिबार

कोरोना_भाइरस कोभिड_१९ भ्रम