स्वास्थ्य

धार्मिक गतिविधि सञ्चालनमा पुर्नविचार गर्नुपर्‍यो : पर्यटनमन्त्री

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबै गर्न अपिल गरेका छन्। कोरोना भाइरस (केभिड–१९)को संक्रमणको जोखिम रहेका बेला सबै धर्मावलम्बीहरुलाई संयमता अपनाउन र कार्यक्रमहरुमाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले अग्रह गरेका हुन्।

सरकारले कुनैपनि सार्वजनिक सभा समारोह, ठूला भेलाहरु, जात्रा, महोत्सव, र भोजभतेर नगर्नु भन्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उनले बताए। उनले भने, 'अहिलेको परिस्थिति समान्य परिस्थिति होइन। कुन ठाउँबाट कोरोना भाइरस बाहिर निस्किन्छ कुन ठाउँबाट निस्किदैन भन्ने कुरा कसैले भन्न सक्दैन। त्यसकारणले कुनैपनि धार्मिक समुदायले आफ्ना नियमित कृयाकलापहरुमा समेत पुर्नविचार गर्नुपर्‍यो। पूर्ण सावधानी अपनाउन पर्‍यो।’

मन्त्री भट्टराईले सरकारले पशुपतिनाथमा दर्शन गर्न समेत २५/२५ जनाको दरले जाने र कम्तिमा एक मिटरको दुरीमा रहने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेको बताए। उनले देश बहु धार्मिक बहु भाषिक मुलुक भएकाले सबै धर्मावलम्बीहरुले संयमता अपनाई आफ्ना कार्यक्रमहरुमाथि पुर्नविचार गर्न आग्रह गरेका हुन्।

अहिले पशुपति क्षेत्र वरिपरि विभिन्न जात्रा सुरु हुन लागेको, बुद्ध धर्मावलम्बीहरुको सामूहिक प्रार्थना हुने र त्यस्तै भोली शुक्रबार मुस्लिम धर्मावलम्बीहरुको नवाज अदाह गर्ने र क्रिश्चियन धर्मावलम्बीहरुको विशेष प्रार्थना गर्ने दिन भएकाले ती कार्यक्रममाथि पुर्नविचार गर्न मन्त्री भट्टराईले आग्रह गरेका हुन्।

प्रकाशित: ६ चैत्र २०७६ १२:०९ बिहीबार

केभिड_१९ कोरोना धार्मिक_गतिविधि