स्वास्थ्य

सांसदको चिन्ता : कोरोनाबारे तयारी कम भयो

विराटनगर- कोरोना भाइरस रोकथामका लागि सरकारी तयारी कमजोर रहेको भन्दै प्रदेश नम्वर १ संसद्मा सांसदहरुले चिन्ता व्यक्त गरेका छन्।  केही दिनअघि २३ बुँदे कार्ययोजना सार्वजनिक गरेर 'उच्च सतर्कता अपनाएको' दाबी गर्ने सरकारको भनाइ झुटो रहेको भन्दै सांसदहरुले आलोचना गरेका छन्।
सोमबार संसद् बैठकको शून्य समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले 'मन्त्रीहरुले झुटो बोलेर जनतालाई ढाँटिरहेको आरोप लगाए। 'आज मात्रै हामी जोगबनी नाका घुमेर आयौं', कार्कीले भने 'त्यहाँ नाकामा खटिएका स्वास्थ्यकर्मीहरु सुरक्षाका सामग्री बेगरै खटिएका छन्। प्रहरीहरु सुरक्षित पोशाक बेगरै चेकजाँच गरिरहेका छन्। सरकारले के ठानेको छ, प्रहरीको पोशाक देखेर कोरोना भाग्छ?' स्वास्थ्यकर्मीहरुलाई सुरक्षित पोशाक  उपलब्ध गराउन उनले सरकारसँग माग गरे।
प्रदेश १ का ठूला अस्पतालहरुले नै कोरोना उपचारका क्रममा प्रयोग हुने सुरक्षित सामानहरु सरकारबाट पाउन नसकेको बताइरहेका बेला संसद्मा पनि यो विषयले प्रवेश पाएको हो। तयारी नाम मात्रैको भएको भन्दै आइतबारको बैठकमा सत्तारुढ नेकपाकै सांसदहरुले आलोचना गरेका थिए।

प्रकाशित: ३ चैत्र २०७६ ११:४३ सोमबार

कोरोना संसद तयारी