स्वास्थ्य

कोरोना सम्बन्धी भ्रम र यथार्थ (भिडियो)

काठमाडौं- गत डिसेम्बरमा चीनको वुहान प्रान्तबाट फैलिएको कोरोन भाइरस (कोभिड–१९) अहिले विश्वका १०० बढी देशमा फैलिएको छ। ४००० बढीको ज्यान लिइसकेको यो भाइरसबाट यो समाचार तयार पर्दा सम्म १ लाख १६ हजार व्याक्ति संक्रमित भैसकेका छन्। महामारीको रुपमा फैलिरहेको यो भाइरसका एक जना विरामी भेटिएका छन्। चीनको वुहानबाट फर्किएका एक युवामा पोजिटिभ देखिएको भए पनि अहिले निको भएर घर फर्किसकेको सरकारले जनाएको छ।

कोरोनाको उद्गमस्थल उत्तरी छिमेकी चीन र दक्षिणको छिमेकी भारतमा पनि करिब ५० को हाराहारीमा संक्रमित देखिदा यहाँ त्रास देखिएको छ। नेपालको समग्र स्वास्थ्य प्रणाली पनि अपेक्षित मात्रामा सबल नहुँदा आम मानिसमा यस भाइरसलाई लिएर त्रास फैलिएको देखिन्छ। आवश्यक सूचना र सचेतनाको अभावमा मानिसहरुमा यो रोगसँग सम्बन्धित थुप्रै भ्रमपनि व्याप्त छन्।

कोरोना भाइरस के हो? कसरी सर्छ ? र रोकथाम कसरी गर्न सकिन्छ? यसका भ्रम र यथार्थबारे नागरिकन्यूजका लागि प्रशान्त लामिछानेकमल सुवेदीले कन्सल्टेन्ट फिजिसियन डाक्टर खेमराज भुसालसंग कुराकानी गरेका छन्।

डा भुसालका अनुसार कोरोना भाइरस रुघा खोकी  गराउने सामान्य भाइरस भए पनि बीच बिचमा  आनुवांशिक गुण परिवर्तन गर्ने गर्छ र एकै पटक धेरै मान्छेमा संक्रमण गर्ने गर्दछ। उनका अनुसार सामान्यतया संक्रमित व्याक्तिले खोक्दा वा हाछ्यु गर्दा निस्कने खकार जन्य पदार्थहरु नजिकै रहेको व्याक्तिले स्वाश्प्रश्वाश मार्फत ग्रहण गर्दा यो भाइरस सर्ने गर्दछ। त्यसगरी संक्रमित व्याक्तिको शरीरबाट निस्केको विभिन्न खाले तरल पदार्थ रहेको रुमाल कपडा लगायतका समानबाट पनि सर्ने खतरा रहन्छ। संक्रमित व्याक्ति वा उसको शरीरबाट निस्केको तरल पदार्थ नाङ्गो हातले छोई, हात सफा नगरी नाक, कान, आँखा वा मुखमा हात लैजादा पनि यो भाइरस सर्ने गर्दछ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्याक्ति अलिक छिट्टै संक्रिमत हुने खतरा पनि रहेको उनले जानकारी दिए।

त्यसैले डा भुसाल यो रोगको संक्रमणबाट जोगिन माथिका कुरामा ख्याल गर्दै सम्भावित संक्रमित व्याक्तिबाट केही दुरीमा बस्ने, २० सेकेन्ड सम्म राम्रोसंग साबुन पानी वा अल्कोहलजन्य एन्टीसेप्टिकको प्रयोगले हात धुनु पर्ने उनले बताएका छन्। खोक्दा वा हाछ्यु गर्दा रुमाल वा कपडा वा कुहिनाले छोप्न पनि उनले सुझाए।

“उच्च ज्वरो, खोकीको मात्रा बढ्ने, टाउको दुख्ने, श्वासप्रस्वास दर बढ्ने, निमोनियाको जसतै लक्षण देखिने, छाती दुख्ने र कहिले काही छातीमा संक्रमण देखिने जस्ता लक्षण देखिने यो रोगको मृत्युदर ३ प्रतिशत रहेको छ।”

यो रोगका बारेमा रहेका थुप्रै भ्रम र यथार्थका बारेमा डा भुसालसंग गरिएको कुराकानीको पूर्ण अंश यो भिडियोमा हेर्न सकिन्छ :

 

प्रकाशित: २८ फाल्गुन २०७६ १०:१६ बुधबार

कोरोना भाइरस स्वास्थ्य भ्रम