स्वास्थ्य

विद्यार्थीको मुटु र मिर्गौला परीक्षण

चितवन – इच्छाकामना गाउँपालिकामा रहेको सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटार र जनप्रिय माध्यमिक विद्यालय काउलेमा अध्ययनरत एक हजार ५० जना विद्यार्थीको मुटु तथा मिर्गौलाको निःशुल्क परीक्षण गरिएको छ।

इच्छाकामना गाउँपालिकाको आयोजना र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालि चितवनको संयोजनमा सञ्चालन भएको स्वास्थ्य शिविरमा विद्यार्थीको मुटु र मिर्गौलाको परीक्षण गरिएको हो। स्वास्थ्य शिविरमा १५ जना विद्यार्थीमा मुटुको बाथरोग, एकजनामा जन्मजात मुटुमा प्वाल परेको र अर्का एकजनामा भल्ब लिकेज देखिएको शिविरमा सहभागी मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीले जानकारी दिए।

शिविरमा सहभागी अर्का डा. केशव बुढाथोकीले विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्षसम्मका बालबालिकामा मुटुको भल्ब साँघुरो हुने, धड्कन अनियमित हुने लक्षण देखिएको बताए। अधिकांश विद्यार्थीको मिर्गौलाको अवस्था सामान्य रहेको उनको भनाइ छ। शिविरमा मुटुको इकोकार्डियोग्राफी, रगत जाँचतर्फ सुगर, क्रियटिनाइन, पिसाब जाँचमा एल्बोमिन र प्रोटिन परीक्षण गरिएको जानकारी आयोजक पक्षले दिएको छ।

शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका विद्यार्थीलाई चिकित्सकले मुटु र मिर्गौला रोगबारे जानकारीसमेत गराएका थिए। इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले चितवनको विकट गाउँका विद्यार्थीलाई गाउँमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको बताइन्। शिविरले आर्थिक अवस्था कम्जोर भएका र दुर्गम ठाउँका बिरामीलाई सहज भएको उनको दाबी थियो।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन्। शिविर उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कीर्तिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत वासुदेव लम्साल, स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटालगायतको सहभागिता थियो।

प्रकाशित: २८ फाल्गुन २०७६ ०३:२२ बुधबार

मुटु मिर्गौला परीक्षण