स्वास्थ्य

युएईमा कोरोना भाईरसबारे समाजिक सञ्जालमा जथाभावी लेखे जेल

रामकुमार परियार

युएई- कोरोना भाईरस (कोभिड – १९) का बारेमा सामाजिक संजालमा अफवाह फैलाउने विरुद्ध युएई सरकारले कडा कदम चाल्ने भएको छ।

भाईरस संक्रमणका बारेमा सामाजिक संजालमा जथाभावी लेखे न्युनतम ३ वर्षदेखि जन्मकैद वा ३ मिलियन दिर्हामसम्म जरिवाना हुने युएईको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। मन्त्रालयले युएईको अनलाईन कानुनको पालना गर्दै सबैलाई जिम्मेवार भएर काम गर्न आग्रह समेत गरेको छ।

कानुनको उल्लंघन गर्दै सामाजिक संजालमा भाईरस संक्रमितहरुको तथ्यांक तोडमोड गरेर जथाभावी लेख्दा समाजमा तथा परिवारका सदस्यहरुमा भय उत्पन्न हुने मन्त्रालयले जनाएको छ। साथै यस्ता तथ्यांक र जानकारीहरु सम्वन्धित निकाय वा अधिकारीहरुबाट मात्रै जारि गरिने बताईएको छ।

मन्त्रालयले युएईमा रहने सबै नागरिकलाई स्वास्थ तथा रोकथाम मन्त्रालयले जारी गरेको स्वास्थ निर्देशन तथा सावधानिहरुको पालन गर्न आग्रह गरेको छ।

संसारभर द्रुत रुपमा फैलिईरहेको कोरोना भाईरसबाट अहिलेसम्म युएईमा ५९ जना संक्रमित भईसकेका छन। जसमध्ये १२ जना उपचार पश्चात् निको भईसकेको बताईएको छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०६:४८ मंगलबार

कोरोना सामाजिक_सञ्जाल युएई