स्वास्थ्य

रसुवा अस्पतालमा आइसोलेसन कक्ष

जिल्ला अस्पताल रसुवामा स्थापना गरिएको आइसोलेसन कक्ष। तस्बिरः हिमनाथ/नागरिक

रसुवा – जिल्ला अस्पताल रसुवामा आइसोलेसन कक्षको स्थापना गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) को शंकास्पद बिरामी आएमा उपचारको लागि चार वेडको आइसोलेशन कक्ष स्थापना गरिएको हो। जिल्ला अस्पताल रसुवाका डाक्टर अनिलकुमार खरेलकाअनु्सार हालसम्म जिल्लामा कोरोना भाइरस संक्रमण भएको बिरामी फेला परेका छैनन्। अस्पतालमा प्रयोग बिहीन अवस्थामा रहेका आल्मुनियमका बेडहरूलाई प्रयोगमा ल्याएर आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।

अस्पतालमा अहिले मौसमी फ्लुका बिरामीको चाप बढ्दै गएको भएपनि कोरोनाको शंका लागेका बिरामी नआएको डाक्टर खरेलले बताए। केही महिनाअघि शंका लागेर परीक्षण गरिएका एक जना बिरामीलाई पनि कोरोना भाइरस भएको उनले स्पष्ट पारे। कसैलाई पनि कोरोना भाइरसको शंका लागेमा अस्पतालमा तत्काल आउन डाक्टर खरेलको आग्रह छ। परीक्षणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ), मास्क, डिजिटल थर्मामिटरलगायतका आवश्यक सामग्री तयारी अवस्थामा राखिएको उनले बताए। उपचारका लागि अवश्यक पर्ने अपुग सामग्रीको माग गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुँइकेलले बताए।

नमुना परिक्षणका लागि खकार तथा -याल टेकु अस्पतालमा पठाइने भएकाले बिरामीलाई पठाउन नपर्ने अस्पतालले जनाएको छ। कोरोना संक्रमित बिरामी आएमा आइसोलेसनमा राखेर उपचार गरिने र काठमाडौं रिफर गर्न आवश्यक परेमा एम्बुलेन्स तयारीमा राखिएको अध्यक्ष कुँइकेलले बताए। रसुवागढी नाकामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा अस्थायी संरचना निर्माण कार्य सुरु भएको छ।

जिल्लामा कोरोना भित्रिन नदिनका लागि नाकामा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए। अहिले नाकामा दुई जना एमबिबिएस डाक्टर खटाइएको उनले जानकारी दिए। नाकामा रहेको हेल्थ डेक्समा चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको प्रजिअ भण्डारीको भनाइ छ। हेल्थ डेक्समा आवश्यक पर्ने पिपिइ, माक्स, डिजिटल थर्मामिटरको व्यवस्था गरिएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयले जिल्लास्तरमा धेरै मान्छे जम्मा हुने सबै कार्यक्रम सञ्चालन नगर्न आग्रह गरेको छ। कार्यालयले नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहकार्यमा बजारमा औषधि तथा दैनिक उपभोग्य सामग्रीको अवस्थाका बारे तथ्यांक लिन सुरु गरेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए। करिब ५ महिनासम्मका लागि पुग्ने सामग्रीको स्टक राख्नका लागि आग्रह गरिएको उनको भनाइ छ। प्रजिअ भण्डारीकाअनुसार रसुवागढी नाका केही समय अझैँ खुल्ने छैन। जोखिम बढेको खण्डमा रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा हेल्थ डेक्स स्थापना गरिने छ।

प्रकाशित: २३ फाल्गुन २०७६ ०३:२६ शुक्रबार

रसुवा_अस्पताल आइसोलेसन_कक्ष कोरोना_भाइरस