स्वास्थ्य

कोरोनाको महामारी प्रवेश हुन नदिन नेपालगन्ज नाकामा सतर्कता

नेपाल–भारत सीमा नाका जमुनाहामा भारतबाट फर्किने व्यक्तिको स्वास्थ्य परीक्षण गरिदै । तस्बिर: नागरिक

नेपालगन्ज- कोरोना भाइरसको महामारी नेपाल प्रवेश हुन नदिन नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ। नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले सीमा क्षेत्रमा हेल्प डेस्क (सहयोग कक्ष) स्थापना गरी विशेष सतर्कता अपनाएको हो।

उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दका अनुसार डेस्कमा भारतबाट नेपाल भित्रिने ज्वरो लगायत स्वास्थ्य समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। भारतबाट नेपाल आउने बिरामीको लागि ‘इन्फाइड थर्मोमिटर’ को सहायताले ज्वरो नाप्ने गरिएको उनले जानकारी दिए। ‘इन्फाइड थर्मोमिटरको सहायताले करिब एक मिटर टाढाबाट ज्वरो नाप्ने गरिएको छ,’ उनले भने।

बिरामीको स्वास्थ्य परीक्षणका लागि हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म २/२ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ। ‘भारत हुँदै नेपाल प्रवेश गर्ने व्यक्तिबाट कोरोना भाइरस भित्रिन नपाओस् भनेर यस्तो सर्तकता अपनाइएको हो,’ चन्दले नागरिकसँग भने ‘अहिले सम्म कुनै त्यस्तो शंकास्पद बिरामी फेला परेका छैनन्, तर पनि हामीले आफ्नो तर्फबाट सर्तकता अपनाएका छौं।’ स्वास्थ्य जाँचका साथै भारतबाट आउने व्यक्तिलाई जनचेतनामूलक पोष्टर, पम्प्लेट वितरण पनि गरिएको चन्दले जानकारी दिए। इबोला र स्वाइन फ्लुका बिरामीको स्वास्थ्य परीक्षण गर्न उक्त स्थानमा हेल्प डेस्क राख्ने गरिएको थियो।

कोरोना भाइरसका शंकास्पद बिरामी देखिएमा तत्कालै भेरी अस्पताल नेपालगन्जमा पठाउने व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। भारतमा मजदुरी गरेर फर्किने नेपाली रुपैडिहा हुँदै नेपालगन्ज प्रवेश गर्छन्, भने कैलाश मानसरोवर तिर्थयात्राका लागि यस नाका हुँदै तिर्थयात्रीहरु नेपालगन्ज आउने गर्छन्। औषधि उपचार र व्यापारिक कामको शिलशिलामा भारत पुगेका नेपाली पनि सोही नाकाबाट फर्किने गरेको पाइन्छ।

भारतमा कोरोना भाइरसको महामारी देखा नपरेको हुँदा अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको चन्दको भनाई छ। तर, विश्वमा महामारी नरोकिएको हुँदा चुप लागेर बस्न नहुने स्वास्थ्य क्षेत्रका सरोकारवाला बताउँछन्। भारतबाट फर्किने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने अवस्था नरहेको हेल्प डेस्कले जनाएको छ।

 

 

 

 

 

प्रकाशित: २१ फाल्गुन २०७६ १०:०६ बुधबार

कोरोना_भाइरस महामारी