स्वास्थ्य

‘बच्चा जोखौं, नुन बोकौं’ अभियान सुरु

रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँस्थित ठूलोगाउँ स्वास्थ्य चौकीमा बच्चाको तौल चेकजाँच गरिँदै। तस्बिर : नागरिक

रसुवा – जिल्लाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँस्थित ठूलोगाउँ स्वास्थ्य चौकीले ‘बच्चा जोखौं, नुन बोकौं’ अभियान सुरु गरेको छ।

बच्चाको तौल जोख्न आउने अभिभावक नियमित नआएपछि उनीहरूलाई आकर्षित गर्न स्वास्थ्य चौकीले अभियान थालेको हो।

स्वास्थ्य चौकीका प्रमुख कृष्णप्रसाद भण्डारीका अनुसार प्रत्येक महिनाको १५ गते बच्चाको तौल चेकजाँच गरिनेछ। ‘बच्चाको तौल चेकजाँच गर्न आउनेको संख्या बढे पनि नियमित आउनेको दर भने कम छ,’ उनले भने, ‘यसका लागि यो योजना अघि सारेका हौं।’ उनका अनुसार बच्चाको उमेर अनुसारको उचाइ र उचाइ अनुसारको तौल हुनुपर्छ। उक्त वडामा २ वर्षमुनिका ४० बालबालिका छन्।

आपतकालीन सेवा शुल्क तथा अन्य विभिन्न शुल्कको रकमबाट गत माघमा अभियान सुरु गरिएको हो। बजेट अभावमा स्वास्थ्य चौकीले अन्य योजना अघि बढाउन नसकेको प्रमुख भण्डारीले बताए।

‘हामीले धेरै योजना बनाएका छौं,’ उनले भने, ‘तर, योजना सञ्चालन गर्न बजेट नहुँदा कार्यान्वयन हुन सकेको छैन।’ यो योजनाको लागि थोरै शुल्कले पुग्ने भएकाले निरन्तरता दिएको उनले बताए।

तौल लिँदा सातो जाने, आँखा लाग्ने वा बिरामी पर्छन् भन्ने भ्रम चिर्न आवश्यक रहेको प्रमुख भण्डारीले बताए। तौल नियमित नलिँदा बच्चा कुपोषित भएको रहेछ भने पनि थाहा हुन्न, जसको कारण उसको ज्यानै खतरामा पर्न सक्छ। बच्चाको राम्रो वृद्धि विकासका लागि बच्चाको अवस्था र आवश्यकताअनुसार खानपान तथा स्याहार गर्न सकिन्छ।

प्रकाशित: १० फाल्गुन २०७६ ०३:१२ शनिबार

स्वास्थ्य_चौकी बच्चा नुन