स्वास्थ्य

छालाको स्याहार

काठमाडौं – जाडो याम सुरु हुँदै छ। यो मौसममा मानिसको शरीरका छाला सुक्खा हुने, कपालमा चाया पर्ने, हाँगा फाँट्ने, दरो हुने जस्ता समस्या देखिन्छन्। त्यसैले जाडोमा छाला र कपालको विशेष हेरचाह गर्नुपर्छ।

वीर अस्पतालका वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. अनुपमा कार्कीका अनुसार, यो मौसममा वातारण चिसो हुने भएकाले विशेष गरेर छालामा धेरै समस्या देखिन्छन् । दीर्घकालीन रोगहरू, जस्तैः दाद, चिलाउने, लुतो (स्क्याबिज, सोयासिस, विन्टर एक्जिमा) देखिन्छन्। त्यस्तै जाडोमा घाममा धेरै समय बस्दा अनुहारमा चाया, पोतो, आँखामा चाउरी (रिङ्कल), हात र निधारमा सनप्यान जस्ता समस्या आउँछन्। यी समस्या समाधानका लागि प्रशस्त पानी र झोलिलो पदार्थ पिउन, ड्राई सामग्रीको कम प्रयोग गर्न डा. कार्की सुझाउँछिन्।

सुक्खापन कसरी घटाउने ?
जाडोमा अधिकांशले अल्छी गरी शरीर, बेड–कभर र रुमको सरसफाइ निकै कम गर्ने गर्छन्।  सरसफाइको कमीले गर्दा शरीरमा धेरै खालका समस्या देखिन्छन्। डा. कार्कीका अनुसार, साबुनले नुहाउँदा पनि छालालाई सुक्खा बनाउँछ। मोस्चराइजर भएको बडी वासको प्रयोग गर्दा छालालाई सुक्खापनबाट जोगाउँछ।’ शरीरमा वोलिभ वइल, नरिवल तेल, बडी लोसन, मोस्चराजर क्रिमको प्रयोगले छालामा सुक्खापनको कमी आउने उनले बताइन्। डा. कार्कीका अनुसार जाडोमा हामी घाममा धेरै समय बिताउँछौँ। घामको किरणले छालालाई असर गर्ने हुँदा सन प्रोटेक्सन क्रिम दिनको तीनपटक लगाउनुपर्छ। सन प्रोटेक्सन क्रिम गर्मी मौसममा मात्र प्रयोग गर्ने भन्ने हाम्रो मानसिकता नै गलत छ। यो घाममा निस्कनुअघि लगाउने क्रिम हो। त्यसैले जाडोमा यसको धेरै प्रयोग गर्नुपर्छ।

शरीरको स्याहार
जाडोमा अधिकांशले विशेषतः हात र अनुहारको मात्र स्याहार गर्ने गर्छन्। तर, जाडोमा पूरै शरीरको स्याहार गर्नुपर्छ। हरेक दिन बिहान र बेलुका हात, खुट्टा धोएर मोस्चराइजर लगाउनुपर्छ। नुहाएपछि भने पूरै शरीरमा बडी लोसन अथवा मोस्चराइजर क्रिम लगाउनुपर्छ। जाडोमा घाम प्यारो हुन्छ। हामी धेरै समय घाममा बस्ने गर्छौं। घाममा बस्दा घामको किरणले हाम्रो छालालाई असर गरिरहेको हुन्छ। यो कुरामा धेरैले ख्याल गरेका छैनौँ। घाम ताप्न बस्नु पाँच मिनेटअघि हामीले सन प्रोटेक्सन क्रिम प्रयोग गर्न सौन्दर्यविद् एवं फ्यासिनेटेड ब्युटी ट्रेनिङ सेन्टरकी सौन्दर्यकर्मी लक्ष्मी महत बताउँछिन्। उनका अनुसार हामी धेरै समय घाममा बस्ने हँुदा ३० देखि ५० एसपी एफका सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ। सम्भव भएसम्म प्रत्येक चार घन्टामा क्रिम लगाइ रहनुपर्छ। त्यसकारण पनि घाममा बस्दा छालाको पनि स्याहार गर्नुपर्छ।

कहीँ कतै बाहिर निस्कनु अघि मात्र अनुहारमा क्रिम लगाउने र शृंगार गर्ने हाम्रो अभ्यास छ। धुवाँ धुलोबाट बच्न लोसन, मोस्चराइजर लगाउने गर्छौं। घरमा र अफिसमा बस्दा हामीले अनुहार र छालाको स्याहार गर्दैनौँ। तर, घर र अफिसमा हुँदा पनि हामीले छालाको विशेष स्याहार गर्नुपर्ने सौन्र्दयविद् महत बताउँछिन्। उनका अनुसार, भान्सामा खाना पकाइरहँदा भान्साको तापक्रम बढी हुन्छ। हाम्रो छाला कोमल हुने भएकाले त्यसको तापक्रम र खारले हाम्रो छालालाई असर गर्छ। हाम्रो ध्यान जान नसकेको अर्को कुरा, घरमा अथवा अफिसको काममा हामी लामो समय सम्म कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ। यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ। त्यसकारण यी उपकरण प्रयोग गर्नु १५ मिनेट अगाडि नै हामीले शरीरमा बडी लोसन र सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ।

शरीर र अनुहारमा कुनै पनि क्रिम प्रयोग गर्नुअघि सबैभन्दा पहिले आफ्नो शरीरको छालाको प्रकृति कस्तो छ भन्ने कुराको ज्ञान हुनुपर्छ। मानिसको शरीरमा दुई प्रकृतिका छाला हुन्छन्– वइली र ड्राई। जाडो याममा ड्राई स्किन हुनेहरूको आँखा वरपर रिङकल देखापर्छ। वइली स्किन चिल्ला देखिन्छन्। जाडोमा यी दुवै स्किनको उत्तिकै स्याहार गर्नुपर्छ। वइली स्किन हुनेले जेलभेस्को मोस्चराइजर लगाउँदा छाला राम्रो हुन्छ भने ड्राइ स्किन हुनेले सामान्य खालका बडी लोसन र मोस्चराइजर क्रिम प्रयोग गर्दा छालाको राम्रो स्याहार हुने सौन्दर्यविद् बताउँछन्।

घाममा तताएको पानी र तेल
चिसो मौसममा प्रायःले तातोपानीले नुहाउने गर्छन्। तर, तातोपानीले नुहाउँदा शरीरमा सुक्खापन देखिने गर्छ। चिसोमा उसै त हाम्रो शरीरका छाला सुक्खा देखिन्छन्। झन् तातोपानीले नुहाउँदा छालामा अझ बढी सुक्खापन देखिन्छ। आगोमा तताएको पानीभन्दा पनि घाममा तताएको पानीले नुहाउँदा छालामा सुक्खापन त्यति नदेखिने सौन्दर्यविद् बताउँछन्। सामान्यतः नुहाउन हामीले साबुन प्रयोग गर्ने गर्छौं। ‘साबुनले छालालाई सुक्खा बनाउँछ,’ उनले भनिन्, ‘चिसो मौसममा शरीरका लागि साबुनभन्दा राम्रो हुन्छ। यसले छालालाई मुलायम बनाउँछ। सुक्खापनबाट जोगाउँछ।’

जाडो सुरु भएपछि कपालमा चाया पर्न थाल्छ। चायाको समस्याले धेरैलाई हैरान बनाउँछ। घरेलु सामग्रीको प्रयोग गरेर चायाको समस्या हटाउन सकिने सौन्दर्यविद् महत बताउँछिन्। यसको अचुक उपाय नरिवल र कागती हुन्छ। सामान्यतः तेललाई हामीले आगोमा तताउने गर्छौं। सौन्दर्यविद्का अनुसार तेललाई आगोमा तताउँदा, त्यसमा भएको भिटामिन नष्ट हुन्छ। तेललाई आगोमा भन्दा पनि तातोपानीमा तताउनुपर्छ। एउटा कचौरामा नरिवलको तेल राखेर, त्यसलाई तातोपानीमा राख्नुपर्छ। तेल तातेपछि त्यसमा कागती राखेर कपाल मसाज गरेर एक घन्टासम्म राख्नुपर्छ। एक घन्टापछि स्याम्पु लगाएर घाममा तताएको मन तातोपानीले कपाल धुनुपर्छ। चिसो मौसममा यो विधि अपनाउँदा कपालमा चायाको समस्या कम हुने उनले बताइन्।

प्रकाशित: ३० कार्तिक २०७६ ०१:५१ शनिबार

छाला स्याहार सुक्खापन