भैरहवा– भैरहवामा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी अन्दोलित बनेका छन्।
कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ताको माग गर्दै बिहीबारदेखि अध्यननरत विद्यार्थीहरुले कलेजको मुख्य प्रवेशद्वारमा धर्ना बसी आन्दोलन गरेका हुन। सरकारले एक महिनाअघि त्रिभुवन विश्वविद्यालयले तोकेभन्दा बढी पैसा लिएको भए फिर्ता दिन निर्देशन गरे पनि, रकम फिर्ता गर्न मेडिकल कलेजले आनाकानी गरिरहेकोले आन्दोलन गरेको अध्यननरत विद्यार्थीहरुले बताए।
हामीले केही दिनअघि मेडिकल कलेजले अवैधानिक रुपमा असुलेको शुल्क फिर्ता गर्न माग गर्दै त्रिविमा निवेदन दर्ता गरेका थियौँ। त्रिविमा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि बाध्य भएर आन्दोलन सुरु गरेका हौ– अध्ययनरत विद्यार्थीले नागरिक न्यूजलाई भने।
पहिला कलेज प्रशासनलाई वैधानिक शुल्क फिर्ता गराइदिन भनि ज्ञापन पत्र बुझाउन गए पनि कलेज प्रशासनले बुझन नमानेपछि विद्यार्थीहरूले बिहीबार नै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए। दोस्रो दिन पनि विद्यार्थीहरुले कलेज प्रशासनलाई माग सहितको ज्ञापन पत्र बुझउन खोज्दा विद्यार्थीहरु माथि कलेजले सुरक्षाकर्मी खटाई धकेलेर बाहिर पठाएको विद्यार्थीले बताएका छन्। अहिले पनि विद्यार्थीहरुले मुल गेटमा निरन्तर धर्ना बस्दै आएका छन्। आज शनिबार पनि मुल गेटमा सबै तहका विद्यार्थी धर्ना बस्ने, इन्टर्न गरिरहेका विद्यार्थी डाकटरहरु पनि एक घन्टा धर्ना बस्ने र इन्टर्नहरुले हातमा कालो पट्टी बाधेर काम गर्ने लगायतको आन्दोलनको कार्यक्रम रहेको विद्यार्थीहरुले बताए।
यता प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सरकारले निर्णय गरिसकेकोले तोकेभन्दा बढी रकम लिएको भए पैसा फिर्ता गराउन सहयोग गर्नेे बताए। ‘विद्यार्थीहरुले परीक्षा सार्नको लागि बोधार्थ निवेदन दिनु भएको छ, परिक्षा सार्ने काम जिल्ला प्रशासनको होइन। रकम बढि लिइएको हो भन्ने विषयमा भने कहा कहाँ बढि रकम लिइएको छ, प्रमाणसहित आए सरोकारवाला निकायबीच छलफल गराउन प्रशासन तयार छ’, प्रमुख जिल्ला अधिकारी पन्थले भने।
रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले विद्यार्थीहरुले गेटमा धर्ना बसेर एम्बुलेन्सलगायतका अत्यावश्यक साधन रोक्न खोज्दा सामान्य धकेलाधकल मात्रै भएको बताए। प्रहरीले सो कलेजका विद्यार्थीमाथि लाठीचार्ज नभएको दाबी गरेको छ।
मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङ्गले भने विद्यार्थीहरु माथी लाठी चार्ज भएको कुरा यथार्थ नरहेको बताए। ‘मुल गेट नै अवरुद्ध गरेर विद्यार्थीले उपचार गर्न जाने विरामीलाई केहीबेर रोकेकोले प्रहरीले विद्यार्थीहरुलाई हटाएको हो। उनले समस्या समाधानका लागि अस्पताल प्रशासन छलफल गर्न तयार छ। विद्यार्धीहरु छलफलमा आउन मानेका छैनन। आन्दोलनका धेरै मागहरु नेपाल सरकारसँग सम्बन्धित भएकोले कलेजले गर्न सक्ने अधिकार छैन, स्थानीय र कलेजका सम्बन्धित मुद्दाहरुको विषयमा कलेजले प्रतिनिधित्वको हिसाबले बोलाएको छ, विद्यार्थी आउनै मानेका छैनन्’, जनसम्पर्क अधिकृत गुरुङ्गले भने।