स्वास्थ्य

एचआइभीको औषधि नियमित नखाए एड्स हुन्छ

कुनै बेला एचआइभी/एड्स भन्नेबित्तिकै ज्यानै जाने रोग बुझिन्थ्यो। कारण, यस रोगका लागि औषधि थिएन। पछिल्लो समय औषधिको पहुँचका कारण एचआइभी संक्रमितलाई पनि सामान्य रूपमा लिइन्छ। एचआइभी कस्तो रोग हो ? यसबाट कसरी बच्ने ? लगायत विषयमा प्रस्तुत छ, नागरिककर्मी पवित्रा सुनारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका यौन, चर्म तथा सरुवारोग विशेषज्ञ डा. अनुपराज बास्तोलासँग गरेको कुराकानीको सारसंक्षेप ः

एमविविएस नेपाल मेडिकल कलेजबाट,चर्म तथा यौन रोगमा एमडी राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालबाट र सरुवा रोग बिशेषज्ञको अध्ययन सिंहापु्रबाट गरेको हुँ।  

यो सेवामा लाग्नुभएको कति वर्ष भयो ?
१४ वर्ष भयो। अहिले ट्रपिकल (उष्ण प्रदेशीय रोग) तथा यौनरोग विशेषज्ञको रूपमा सेवा गरिरहेको छु।
 
एचआइभी/एड्स सुन्दा आज पनि मानिसहरू धेरै डराउँछन्, यो कस्तो रोग हो ?
यो रोगका लागि विकास भएको औषधि तथा उपचारको स्थितिले विगतमा जस्तो डराउने अवस्था छैन। तर यो रोग लागिसकेपछि पूर्ण निको नहुने भएकाले आफैंमा गम्भीर हो। एचआइभी ह्युमन इमुनोडेफिसेन्सी नामक भाइरसले हुने रोग हो। शरीरमा प्रवेश गरेपछि यसले रोगसित लड्ने क्षमता नष्ट गर्दै जान्छ।   

यो रोग कसरी सर्छ ?
मुख्य संक्रमित व्यक्तिले अर्को व्यक्तिसँग असुरक्षित यौन सम्पर्क गरेमा, संक्रमित आमाबाट जन्मेको बच्चामा, संक्रमित कीट तथा सुईको प्रयोग अर्को मानिसले गरेमा र संक्रमित रगत कुनै पनि बिरामीलाई चढाएमा यो रोग सर्छ।

यस्ता बिरामी अस्पतालमा कत्तिको आइरहेका छन् ?
नियमित २२ सयजना आइरहेका छन्। उनीहरू नियमित औषधि सेवन गर्ने बिरामीमा पर्छन्।

समाजमा एचआइभी सक्रमितलाई हेयको दृष्टिले हेरिन्छ, वास्तविकता के हो ?
यो सही हो। तर पहिलाको तुलनामा केही सुधार भएको छ। तैपनि एचआइभी संक्रमण भन्नेबित्तिकै समाजले नराम्रो  रोगको रूपमा लिने भय बिरामीमा देखिन्छ र समाजले अहिले पनि हेयको दृष्टिले हेर्छ। त्यही कारण संक्रमितहरू समाजले थाहा पाउने र घृणा गर्ने भयले स्थानीय स्वास्थ्य संस्थाभन्दा फरक ठाउँमा उपचारमा पुग्छन् र औषधि सेवन गर्छन्। तर एचआइभी भएकालाई घृणा गर्नुको सट्टा समयमै उपचारमा पुग्ने र पु¥याउने काम गरेमा एच आइभीको असर घटाउन सकिन्छ।

–संक्रमित व्यक्ति नै यस रोगको स्रोत हो। एचआइभी संक्रमित मान्छेसँत विनाकन्डम यौन सम्पर्क राख्नु नै यो रोग लाग्नु हो।

–एचआइभी ह्युमन इमुनोडेफिसेन्सी नामक भाइरसले हुने रोग हो। शरीरमा प्रवेश गरेपछि यसले रोगसित लड्ने क्षमता नष्ट गर्दै जान्छ।

–हालसम्म नेपालमा एड्ससंक्रमित ३२ हजार सात सय ४७ जना पत्ता लागे पनि २१ हजार एक सय ४८ जना मात्र सम्पर्कमा छन्।

–दुब्लाउँदै जाने, पखाला लाग्ने, लामो समयसम्म ज्वरो आउने, क्षयरोगका लक्षण देखिने, मेनिन्जाइटिस देखिने, मुखमा सेतो दाग आउनेजस्ता लक्षण हुन्छन्।

देशभर एचआइभी संक्रमितको संख्या कति छ ?
हालसम्म नेपालमा एड्ससंक्रमित ३२ हजार सात सय ४७ जना पत्ता लागे पनि २१ हजार एक सय ४८ जना मात्र सम्पर्कमा छन्। तीमध्ये सबैभन्दा बढी संख्या यौनकर्मीका ग्राहकमा छ। यौनकर्मीमा एक हजार ६ सय ६५ जनामा एचआइभी संक्रमण भइसकेको छ भने १० हजार सात सय ८३ जना यौनकर्मीका ग्राहकमा एचआइभी भइसकेको तथ्यांक छ। त्यसै गरी वैदेशिक रोगजारमा जानेमा तीन हजार तीन सय ६२ जनामा एचआइभी संक्रमण भएको तथ्यांक छ। त्यसै गरी वैदेशिक रोजगारीमा जानेहरूका पतिपत्नीमा दुई हजार दुई सय ७२ जनामा संक्रमण भएको पाइएको छ।
 
नियमित औषधि सेवन नगर्ने एचआइभी संक्रमित कहाँ छन् ?
कतिपयलाई थाहा नै छैन। ३२ हजार सात सय ४७ मध्ये २१ हजारले मात्र एआरटी औषधि खाइरहेका छन्। अरू कहाँ गए थाहा छैन। यो संख्या लक्षित जनसंख्यामा परीक्षण गर्दा पत्ता लागेको हो। सम्पूर्ण जनतामा जाँच्नसक्ने अवस्था छैन। सर्वसाधरणमा यसको संक्रमण भएको हुन सक्छ।

एचआइभी र एड्समा के फरक छ ?
शरीरमा ह्युम इमुनोडिफिसेन्सी भाइरस प्रवेश गरिसकेको अवस्था हो। यो अवधि सुरु भएको आठ÷दश वर्षसम्म बिरामीमा खास लक्षण देखिँदैन। अर्थात् बिरामी अन्य स्वस्थ व्यक्ति जस्तै सामान्य देखिन्छ। शरीरमा एचआइभी भाइरस संक्रमणका कारण शरीरको रोगसित लड्ने क्षमता कमजोर भइसकेको अवस्था हो। यो अवस्थामा शरीरमा खोकी, क्षयरोग, क्रोनिक घाउहरू निस्कनेजस्ता अवसरवादी रोग लागिसकेको अवस्था हुन्छ।

एचआइभी संक्रमण भएको व्यक्तिलाई कति समयपछि एड्स हुन्छ ?
एचआइभी संक्रमण भएको सातदेखि १० वर्षमा अवसरवादी अन्य रोग देखा पर्दै जान्छन्। त्यो भनेको एड्सको अवस्था हो।

एचआइभीको स्रोत के हो  ?
संक्रमित व्यक्ति नै यस रोगको स्रोत हो। एचआइभी संक्रमित मान्छेसँत विनाकन्डम यौन सम्पर्क राख्नु नै यो रोग लाग्नु हो।

जोखिमयुक्त गतिविधिमा संलग्न व्यक्तिलाई कति समयमा एचआइभी संक्रमण भएको थाहा हुन्छ ?
जसले संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्बन्ध राखेका छन् या सुई साटासाट गरेर लागुपदार्थ सेवन गरेका छन्, उनीहरूमा यो सर्छ। तर असुरक्षित यौन सम्पर्क गरेको तीन महिनापछि मात्र थाहा हुन्छ। यसका लागि जोखिममा रहेका व्यक्तिले रगत परीक्षण गरेमा थाहा भइहाल्छ।

उपचारको अवस्था कस्तो छ ?
नेपालमा पछिल्लो समय उपचारको अवस्था राम्रो छ। अहिले सबै एचआइभी संक्रमितका लागि सरकारले एआरटी औषधि उपलब्ध गराइरहेको छ। एआरटी औषधिको नियमित सेवन गरेर संक्रमित धेरै वर्ष बाँचिरहेका छन्। एचआइभी संक्रमित आमाहरूले पनि सुरक्षित बच्चा जन्मा जन्माएर डाक्टर, इन्जिनियर बनाइसकेका छन्।

एआरटीको पनि रेसिस्टेन्स बढेको छ भनिन्छ नि ?
केही संक्रमितमा यस्तो भएको छ। जसरी अरू एन्टिवायोटिक पूरा डोज नखाएर छोड्दा एन्टिवायोटिक रेसिस्टेन्स भएको छ। त्यसैगरी संक्रमितले एआरटी पूरा समय नखाने, खाँदाखाँदै बीचैमा छोड्छन्, उनीहरूमा यस्तो समस्या देखिन्छ। समयमै नखानेहरूमा यो रेसिस्टेन्स हुन्छ।  

एचआइभी संक्रमितको समयमै उपचार नभए के हुन्छ ?
समयमै उपचार भए एआरटी औषधि सेवन समयमै सुरु हुन्छ र शरीरमा एचआइभीको भाइरस बढ्न पाउँदैन। जति ढिला ग¥यो, उति भाइरस बढ्दै जान्छ। उनीहरूको शरीरमा प्रतिरक्षा क्षमता कमजोर हुन्छ। उनीहरूमा क्षयरोग तथा अन्य अवसरवादी रोग हुन्छन्। ढिला गरी एआरटी खाएपछि बिगे्रका अंग सामान्य अवस्थामा आउन सक्दैनन्।

आफूलाई एचआइभी लाग्दै छ भन्ने कुरा समयमै कसरी थाहा पाउने ?
एचआइभी लाग्दै छ भन्ने कुरा सुरुमै थाहा पाउन गाह्रो छ। एचआइभी लाग्ने कारण असुरक्षित यौन सम्पर्क नै हो। आफूलाई एचआइभी हुनसक्छ भनेर समयमै परीक्षण गर्नु नै बेलैमा थाहा पाउने मुख्य उपाय हो।

त्यसो भए सुरुमा लक्षण देखिँदैन ?
एचआइभी संक्रमित धेरैमा तीन/चार सातासम्म भाइरल फिभर देखिन सक्छ। भाइरल फिभर आएर अस्पताल पुग्यो भने भाइरल ज्वरो सिटामोल दिएर या एन्टिवायोटिक दिएर पठाउने गरिन्छ। त्यही अवस्थामा एचआइभी लागेको भन्नसकिन्न। त्यसकारण जो मानिस जोखिममा छ, त्यसले परीक्षण नै गर्नुपर्छ।

एचआइभी संक्रमितले एआरटी औषधि कति समय खानुपर्छ ?

जति औषधि सिफारिस गरिएको छ, ती सबै औषधि खानुपर्छ। र, सो औषधि मधुमेहको जस्तै जीवनभर खानुपर्छ।  

एड्सका लक्षण के के हुन् ?
दुब्लाउँदै जाने, पखाला लाग्ने, लामो समयसम्म ज्वरो आउने, क्षयरोगका लक्षण देखिने, मेनिन्जाइटिस देखिने, मुखमा सेतो दाग आउनेजस्ता लक्षण हुन्छन्।

प्रकाशित: २८ भाद्र २०७६ ०२:१५ शनिबार

एचआइभी औषधि एड्स