स्वास्थ्य

अक्युपञ्चर उपचार मोह

लक्ष्मणओझा
चाबहिलका रवि सापकोटा (२७) दुई वर्षदेखि नसा च्यापिने र ढाड दुख्ने समस्याले हैरान थिए। उपचार गर्न विभिन्न अस्पताल धाउँदा पनि उनको रोग सञ्चो भएको थिएन। ‘उपचारका लागि थुप्रै अस्पताल धाएँ। आठ–दस हजार रूपैयाँ खर्च भयो। तर, रोग सञ्चो भएन,’ उनले सुनाए, ‘यसले म निरास थिएँ।’ लगत्तै उनले अक्युपञ्चर पद्धतिबाट उपचार थाले। त्यसयता नसा च्यापिने र ढाड दुख्ने समस्या नदेखिएको उनी बताउँछन्।

‘१५ दिनको उपचार कोर्स गरेपछि अहिले नसा च्यापिने र ढाड दुख्ने समस्याको निदान भएको छ,’ उनले भने। अक्युपञ्चरमा उपचार गराउने अर्का पात्र हुन्, म्याग्दीका झलकबहादुर भुजेल (४९)। घुँडा दुख्ने समस्या देखिएपछि उनी पनि अहिले अक्युपञ्चर पद्धतिबाट उपचार गराइरहेका छन्। ‘अक्युपञ्चर उपचार पद्धति राम्रो छ भन्ने सुनेपछि उपचारका लागि आएको हुँ,’गोंगबुस्थित आयुष हेल्थ केयर सेन्टरमा उपचार गराइरहेका उनले भने।

रवि र झलकबहादुर प्रतिनिधि पात्रमात्र हुन्। पछिल्लो समय अक्युपञ्चर पद्धतिबाट उपचार गराउने बिरामी बढेका छन्। आयुष हेल्थ केयर सेन्टरकी सञ्चालक तथा अक्युपञ्चरिस्ट अनुशा नेपाल पछिल्लो समय उपचार गर्न आउने बिरामीको चाप बढेको बताउँछिन्। ‘पहिले मुस्किलले दैनिक ४–५ बिरामी आउँथे। अहिले दैनिक ३०–३५ बिरामी आउँछन्,’ झन्डै दुई वर्षदेखि हेल्थ केयर सेन्टर सञ्चालन गरिरहेकी उनले भनिन्।

उपचार पद्धति प्रभावकारी भएपछि बिरामीको चाप बढेको उनको भनाइ छ। ‘यो पद्धतिबाट उपचार गराउँदा साइड इफेक्ट पनि हुँदैन र उपचार खर्च पनि कम लाग्छ,’ उनले भनिन्, ‘त्यसैले उपचार गर्न आउने बिरामी बढेका हुन्।’ उपचार गर्न आउनेमध्ये दुखाईसम्बन्धी र नसा च्यापिएका बिरामी बढी रहेको उनी बताउँछिन्। नेपाल अक्युपञ्चर मोक्जिबिसन तथा अक्युप्रेसर संघका महासचिव सुवास ढकाल अक्युपञ्चर पद्धतिमा बिरामीलाई औषधि नखुवाई उपचार गरिने भएकाले प्रभावकारी भएको बताउँछन्। ‘यो पद्धतिमा शरीरका विभिन्न अक्युपञ्चर प्वाइन्टमा निडल घोपेर उपचार गरिन्छ,’ उनले भने, ‘त्यसैले यस पद्धतिमा साइड इफेक्ट छैन।’
अक्युपञ्चरमा बिरामीको आकर्षण बढेपछि पछिल्लो समय राजधानीमा अक्कुपञ्चर पद्धतिबाट उपचार गराउने स्वास्थ्य संस्था खुल्ने क्रम बढेको छ। ‘पछिल्लो समय विभिन्न स्वास्थ्य संस्थामा अक्युपञ्चर पद्धतिबाट उपचार गराउन थालिएको छ,’ उनले भने।

ढकालका अनुसार काठमाडौं उपत्यकाका सरकारी र निजी गरी ३०–५० स्वास्थ्य संस्थामा यो पद्धतिबाट उपचार हुने गरेको छ। सरकारी स्वास्थ्य संस्थामध्ये वीर अस्पताल, काठमाडौं महानगरपालिका अन्तर्गतको जनस्वास्थ्य विभाग लगायतमा यो पद्धतिबाट उपचार हुने गरेको छ।

उपचार पद्धति
अक्युपञ्चर एक चिकित्सीय प्रक्रिया हो, जसमा शरीरका अक्युपञ्चर प्वाइन्टमा निडल (सुई) घोपेर उपचार गरिन्छ। अक्युपञ्चरिस्टको भनाइमा निडल घोप्दा शरीरको अक्युपञ्चर प्वाइन्ट सक्रिय हुन्छ। यसबाट शरीरभित्रका विकार तत्व बाहिर आउने अक्युपञ्चरिस्ट बताउँछन्। उनीहरूका अनुसार अक्युपञ्चरले शरीरको ऊर्जालाई सन्तुलित राख्नुका साथै टाउको दुख्ने, रुघाखोकी, ज्वरोलगायत रोग लाग्न नदिन सघाउ पु¥याउँछ।

कुन–कुन रोगको उपचार ?
ढकालका अनुसार विश्व स्वास्थ्य संगठनले अक्युपञ्चर उपचार पद्धतिबाट करिब दुई सय रोगको निदान गर्न सकिने बताएको छ। तीमध्ये हड्डी खिइएको, नसा च्यापिएको, प्यारालाइसिस (पक्षघात), मुख बांगिने, बाथ, क्यान्सर, पित्तसम्बन्धी समस्या, टाउको, पेट, अनुहार, गर्दन, काँध, घुँडा, जोर्नी तथा कम्मर दुख्ने समस्या, अनिद्रा, पिनास, माइग्रेनलगायत रोग प्रमुख छन्। तर, नेपालमा हड्डी खिइएको, नसा च्यापिएको, बाथ, प्यारालाइसिस, गर्दन, काँध, घुँडा, जोर्नी तथा कम्मर दुख्ने समस्याका बिरामी यो पद्धतिबाट उपचार गराउन आउने गरेको उनी बताउँछन्। ‘यीमध्ये दुखाईसम्बन्धी र नसा च्यापिएको रोगको उपचार प्रभावकारी हुन्छ,’ उनले भने।

‘अक्युपञ्चरमा साइड इफेक्ट छैन’
अनुशा नेपाल, अक्युपञ्चरिस्ट
चीनबाट सुरु भएको यो उपचार पद्धति भरपर्दाे छ। अरु उपचार पद्धतिमा साइड इफेक्ट हुन्छ। तर, यसमा साइड इफेक्ट छैन। त्यसैकारण पछिल्लो समय यो अक्युपञ्चर पद्धतिबाट उपचार गराउने बिरामी बढेका हुन्।
मैले सञ्चालन गरेको हेल्थ केयर सेन्टरमा दैनिक ३०–३५ बिरामी उपचारका लागि आउने गरेका छन्। तीमध्ये अधिकांश दुखाईसम्बन्धी र नसा च्यापिएका छन्। यी रोगको उपचारको प्रभावकारिता पनि राम्रो छ। उपचारबाट बिरामी पनि सन्तुष्ठ छन्। अर्काे कुरा, यो उपचार पद्धतिबाट अप्रेसन गर्नुपर्ने अवस्थामा रहेको नसा च्यापिएको बिरामीको बिनाअप्रेसन उपचार भइरहेको छ।

प्रकाशित: ११ जेष्ठ २०७६ ०३:१० शनिबार

अक्युपञ्चर उपचार मोह