स्वास्थ्य

गलत खानपानले बढायो आन्द्राको क्यान्सर

तीन महिनाअघि वीर अस्पतालको ग्यास्ट्रोलोजी विभागमा एक २३ वर्षीया युवती उपत्यकाबाहिरबाट उपचारका लागि आइपुगिन्। उनमा दिसाबाट रगत देखिने र तौल घट्ने समस्या थियो। यो समस्या देखिएपछि अनेक अस्पताल चहार्दै उनी वीर आइपुगेकी हुन्। चिकित्सकले कोलनोस्कोपी गरे। कोलनोस्कोपीमा ठूलो आन्द्राको क्यान्सर भएको पत्ता लाग्यो। उनको थप जाँच गर्दा क्यान्सर अन्यत्र फैलिएको थिएन। चिकित्सकले ठूलो आन्द्राको शल्यक्रिया गरी पलाएको क्यासरको ट्युमर निकाले। त्यसपछि उनलाई निको भयो।

तर यति सानै उमेरमा उनमा यस्तो समस्या देखेर उनको रोग पत्ता लगाउने इन्टरस्कोपी तथा ग्यास्ट्रोइन्ट्रोलोजिस्ट इन्टरभेन्सनल इन्डस्कोपिक डा. विवेक पुर्वे चकित भए। उनमा भएको यो रोग अक्सर ५० वर्ष नाघेका मानिसमा देखिने रोग हो। वीर अस्पतालमा उनी मात्र होइन, उनको जस्तै कम उमेरमा आन्द्राको क्यान्सर भएर पुग्ने धेरै बिरामी छन्।

दोलखाकी १८ वर्षीया सरिता जिरेलको पनि बेलाबखत पेट फुलेर दुख्थ्यो। यो क्रम नियमित चल्न थाल्यो। उनले सुरुमा दोलखाकै जिरी अस्पतालमा देखाइन्। अस्पतालले केही भएको छैन भनेर पठायो। त्यसपछि उनी आफन्तको सहयोगमा अल्का अस्पताल ललितपुर पुगिन्। अल्का अस्पतालमा कोलनोस्कोपी गर्दा उनको ठूलो आन्द्रामा क्यान्सर भएको पत्ता लाग्यो। लगत्तै उनको आन्द्राको शल्यक्रिया गरियो। अहिले उनको स्वास्थ्य ठीक छ। जिरेलले आफूले धेरैजसो चाउचाउ, मम र चाउमिन खाने गरेको बताइन्। यी दुई प्रतिनिधि पात्र मात्र होइनन्, कम उमेरमै आन्द्राको क्यान्सर भएर आउनेको संख्या अस्पतालमा उल्लेख्य छ। वीर अस्पताल ग्यास्ट्रोलोजी विभागका अनुसार विभागमा मासिक दुई सय ५० वटा कोलनोस्कोपी हुने गरेका छन्। कोलनोस्कोपी गरिएकामध्ये औसत ४ देखि ५ प्रतिशत आन्द्राको क्यान्सर भेटिएको छ। आन्द्राको क्यान्सरमध्ये १ प्रतिशत कम उमेरकै मात्र रहेको डा. पुर्वेले बताए।

नेपाल क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ३० प्रतिशत आन्द्राको क्यान्सरका बिरामी हुन्छन्। कम उमेरमा उल्लेख्य मात्रामा आन्द्राको क्यान्सरका बिरामी आएको देखेपछि उपचारमा संलग्न चिकित्सकका लागि चासोको विषय बनेको छ। वीर अस्पतालका इन्टरस्कोपी विशेषज्ञ डा. पुर्वे भन्छन्, ‘५० वर्षमुनिका धेरै बिरामी देख्दा किन यस्तो भयो भन्ने खोजीको विषय बनेको छ,’ उनले भने। यो क्यान्सरको प्रकृति प्रायः ५० वर्षपछि मात्र देखिन्छ।

युरोप र अमेरिकामा चर्चित मानिएको यो रोग नेपालमा बढ्दै जानु र कम उमेरमै देखिनुले यो रोगको जोखिम बढिरहेको चिकित्सकको ठम्याइ छ। ‘पहिला अमेरिका र युरोपको रोग भनेर चिनिन्थ्यो, अहिले हामीकहाँ पनि बढिरहेको छ,’ नेपाल क्यान्सर अस्पतालका क्यान्सर रोग सर्जन डा. कपेन्द्र अमात्यले भने। युुरोप तथा अमेरिकामा रातो मासु बढी खाने भएकाले यो रोग लाग्थ्यो। नेपालमा दैनिक जीवनमा रातो मासु र प्रशोधित खाना खाने चलन कम भएकाले यो रोग उल्लेख्य थिएन। ‘यो कम उमेरमै देखिनु आश्चर्यको विषय हो,’ डा. पुर्वेले भने।

चिकित्सकका अनुसार आन्द्राको क्यान्सरभित्र ठूलो आन्द्रा, सानो आन्द्रा र मलद्वार पर्छन्। नेपालमा यीमध्ये ठूलो आन्द्राको क्यान्सर र मलद्वारको क्यान्सर बढी देखिन्छ। हाल यो क्यान्सर नेपालमा पाँचौं स्थानमा पर्छ। नेपालमा यो क्यान्सर किन बढ्यो र कम उमेरमै किन देखियो भन्ने विषयमा खास अध्ययन भएको छैन। नेपालमा पछिल्लो समय बढ्दो बर्गर, मासुलगायत खाना बढी खानु, नुनिलो खाना खानु, पश्चिमेली खाना खाने चलन र सुर्तीजन्य पदार्थको सेवन यो क्यान्सरको कारण हुन सक्ने चिकित्सकको अनुमान छ। यो क्यान्सरको वंशाणुगत रूपमा जिन शरीरमा रहेको हुन्छ र यो जिनलाई उत्पे्ररित गर्ने खाना तथा जीवनशैलीले क्यान्सरको रूप लिन्छ। परिवारका सदस्यमा पहिल्यै भइसकेका, सुर्तीजन्य पदार्थको सेवन गर्ने, रातो मासुको बढी सेवन गर्ने, नुनिलो खाने कुराको बढी प्रयोग र फाइबर कम भएका खानेकुराको बढी सेवन गर्नेहरूमा यो आन्द्राको क्यान्सर हुन्छ।

नेपालमा समेत यो क्यान्सर बढ्दै जानाले सबैको चासोको विषय बनेको चिकित्सक बताउँछन्। ‘नेपालमा युरोपमा जस्तो दैनिक रातो मासु खाने चलन छैन, नेपालमा कसरी भयो भन्ने कुरा चासोको विषय हो,’ डा. अमात्यले भने। पहिला अमेरिका तथा युरोपमा बढी देखिएको मलद्वार र आन्द्राको क्यान्सर पछिल्लो समय नेपालमा बढिरहेको विशेषज्ञले औंल्याएका छन्। निश्चित उमेर पुगेपछि मात्र हुने यो क्यान्सर कम उमेरमै देखिएको उपचारमा आउने बिरामीको स्थितिले देखाएको छ।

युरोपमा झनै बढ्यो
बेलायतमा हालै गरेको अनुसन्धानअनुसार कम उमेरकै मानिसमा आन्द्राको क्यान्सर देखिने गरेको पाइएको छ। पहिला ७० वर्षमाथिका मानिसमा हुने यो क्यान्सर पछिल्लो समय ५० वर्षमुनिको उमेर समूहमा पनि उल्लेख्य संख्यामा देखिएको छ।
त्यसमा पनि २० देखि २९ वर्षभित्रका युवामा यो क्यान्सर देखिएको अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरू किन यस्तो भइरहेको छ भन्ने विषयमा प्रस्ट छैनन्। तर बढी तौल र कम गुणस्तरका खाना यसका कारण हुनसक्ने उनीहरूको अनुमान छ।
विस्तारै युवा उमेरमै देखिएको आन्द्राको क्यान्सरबाट बच्न चिकित्सकले ४५ वर्षपहिले नै जाँच गर्न सुझाएका छन्। एमसी विश्वविद्यालय अफ मेडिकल सेन्टरले परिवारमा क्यान्सरको इतिहासको आधारमा जाँच गर्न सुझाएको छ। ल्यान्सेन्टमा भएको अर्को अध्ययनले ग्यास्ट्रोलोजी र हेपाटोलोजी उच्च आय भएका देश युके, अस्टे«लिया, क्यानडा र न्युजिल्यान्डमा यो क्यान्सर युवामा बढिरहेको जनाएको छ।

यो क्यान्सरको जोखिममा को को ?
–परिवारका सदस्य आमाबुबा वा हजुरबा हजुरआमा वा अन्य कसैलाई आन्द्राको क्यान्सर भइसकेको भए उनीहरू सबैभन्दा बढी जोखिममा हुन्छन्। त्यसैगरी दैनिक धेरै रातो मासु खाने, सुर्तीजन्य पदार्थ तथा रक्सी सेवन गर्ने, नुनिलो पदार्थ बढी खाने र प्रशोधित खाना बढी खानेहरू बढी जोखिममा छन्। त्यसमा पनि जसको परिवारमा पहिला नै आन्द्राको क्यान्सर भएको इतिहास छ। उनीहरूमा कम उमेरमै यो क्यान्सर हुने सम्भावना रहन्छ। जसले गलत जीवनशैली अपनाएका हुन्छन्, उनीहरूको निश्चित उमेर पुगेपछि आन्द्राको क्यान्सर देखिने सम्भावना बढी हुन्छ।

कसरी बच्ने ?
– परिवारका हजुरबुबा, आमा तथा कुनै अन्य सदस्यलाई पहिल्यै यो क्यान्सर भइसकेको छ भने उनीहरूले वर्षमा एक पटक कोलनोस्कोपी (आन्द्राको जाँच) गराउने
– नियमित दिसा जाँच गराउने
– दिसामा रगत देखिने, पेट दुख्ने समस्या छ भने चिकित्सककहाँ जाने
– प्रशोधित खाना सकेसम्म नखाने
– रातो मासु बढी नखाने
–चुरोट, खैनी, जाँडरक्सीजस्ता कुरा नखाने
–फाइबरयुक्त खानेकुरा नियमित भोजनमा समावेश गर्ने
–कहिले पखाला र कहिले कडा दिसा आए चिकित्सककहाँ पुगिहाल्ने
–आफ्नो जिनमा एच वान पिसिसी र एफएपीको परिक्षण गराउने
–परिवारमा कसैलाई आन्द्राको क्यान्सर नभए पनि पाँच वर्षमा एक पटक कोलनोस्कोपी गराउने
–वर्षमा एक पटक कम्तीमा स्वास्थ्य जाँच गराउने

उपचार कहाँ र कसरी ?
–कुनै पनि आन्द्राको क्यान्सरको उपचारका लागि पहिलो कुरा त समयमै रोग पत्ता लगाउने प्रविधि र दक्ष जनशक्ति हुनुपर्छ। पछिल्लो समय नेपालमा प्रविधिका साथै जनशक्ति पनि वृद्धि हुँदै गएको छ। पहिला पेट चिरेरै गरिने यो सर्जरीमा अहिले कोलनोस्कोपीमै अर्को विधि इएमआर (भित्र ट्युमर काट्ने औजार) पठाएर क्यान्सरको ट्युमर फालिन्छ। हाल यो उपचार विधि राजधानीका वीर, टिचिङ, धुलिखेल अस्पताल, नेपाल क्यान्सर अस्पताललगायत अन्य निजी अस्पतालमा उपलब्ध छ। यो उपचार उपत्यकाबाहिर भने नभएको चिकित्सक बताउँछन्।

आन्द्राको क्यान्सर फैलिएर अन्य भागमा पुगेको अवस्थामा किमोथेरापी तथा रेडियोथेरापी दिनेजस्ता उपचार पद्धति छन्। ट्युमर सानो अन्यत्र नफैलिएको अवस्थामा छ भने इन्डोस्कोपिकबाटै निकालिन्छ। आन्द्राको क्यान्सरको उपचार बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर, नेपाल क्यान्सर अस्पताल, टिचिङ र वीर अस्पतालमा हुन्छ। चिकित्सकका अनुसार जनचेतनाको अभावमा धेरैजसो बिरामी क्यान्सर फैलिसकेको अवस्थामा मात्र आइपुग्छन्। जतिबेला रोग चिकित्सकको उपचारको पहुँचबाहिर पुगिसकेको हुन्छ।

लक्षणहरू

मलद्वार क्यान्सर
–दिसाको मोटाइ सानो भएर निस्कने
–दिसाबाट रगत आउने
–दिसा गर्न गाह्रो हुने
–रगतको धारा देखिने
ठूलो आन्द्राको क्यान्सर
–दिसाको आनीबानीमा परिवर्तन
– पेट दुख्ने
– दिसाबाट रगत आउने
– दिसा कहिले पातलो कहिले कडा हुने

प्रकाशित: ११ जेष्ठ २०७६ ०२:१४ शनिबार

खानपान आन्द्रा क्यान्सर