स्वास्थ्य

मौलायो भ्रूण हत्या

लहान– लहान नगरपालिका–३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव परेको छ। खेतमा फालिएको नवजात शिशुको(छोरा) शव स्थानीयको सूचनाको आधारमा प्रहरीले फेला पारेको हो।
शनिबार दिउँसो करिब १८ हप्ताको नवजात शिशुको शव फेला परेको लहान प्रहरी प्रमुख डिएपी राजेश थापाले बताए। ‘अनैतिक सम्बन्ध’ बाट गर्भधारण भएको वा लिंग पहिचान गरेर भ्रूण हत्या गरी फालिएको अझै प्रस्ट नभएको उनले बताए।

प्रहरीले घटनामा संलग्न रहेको शंकामा एक जना युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए। ती युवतीलाई अस्पतालमै प्रहरी निगरानीमा नियन्त्रणमा राखिएको छ। घटना अनुसन्धानका लागि आवश्यक स्वास्थ्य जाँच गराउनुपर्ने भएर उनलाई अस्पतालमै राखिएको थापाले बताए।

भ्रूण हत्या गरिएको ठाउँबारे प्रहरीले केही खुलाउन चाहेन। सुरुमा एक जना महिलालाई (युवती) नियन्त्रणमा लिएकोबारे पनि लहान प्रहरीले खुलाउन चाहेको थिएन।

भ्रूण हत्याको घटना यहाँ नौलो भने होइन। फागुन ७ गते बिहान लहान नगरपालिका–७ मारवाडी सेवा समिति नजिकको नहरमा सालनालसहित फालिएको छोरी शिशुको मृत शरीर कुकुरले नहरमाथि ल्याएर छोडेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव परीक्षण गरायो। तर, उक्त भ्रूण हत्यामा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन सकेको छैन।

प्रहरीले यी गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा यस भेगमा गैरकानुनी गर्भपतन (भ्रूण हत्या) मौलाउँदै गएको स्थानीय  बताउँछन्। लहान प्रहरीले अस्पतालमा चौबीस घन्टे ड्युटीमा प्रहरी खटाएको छ। जसले अस्पताल र यस क्षेत्रको गतिविधि निगरानी गर्दै आएका छन्। सादा पोशाकधारी (घुमुवा) प्रहरी पनि यस भेगको गैरकानुनी गतिविधि निगरानी गर्न खटाइएको छ।

पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रासाउण्ड सेन्टर (भिडियो एक्सर) र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ। निजी क्लिनिकका डाक्टर र उनका सहयोगी क्लिनिक आसपासको क्षेत्रमा घर भाडा लिएर भ्रूण हत्या गराउन संलग्न भएको पाइएको छ।

छोराको आकांक्षासहित गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भ्रूण हत्या गराउँछन्। कतिपय अनैतिक सम्बन्धबाट गर्भधारण गरेपछि गर्भपतन गराउँछन्। लहानको अस्पताल चोक, गणेश चोक, नयाँ बजार, सहिद चोकको तरकारी बजार आसपासका स्थानमा अवैध गर्भपतन गराउने स्वास्थ्यकर्मीहरू सक्रिय गरेको स्थानीय  बताउँछन्। कानुन मिचेर सञ्चालनमा रहेका स्वास्थ्य संस्था, औषधि पसल पछिल्लो समय अवैध गर्भपतन गराउने अखडा बनेको स्वास्थ्यकर्मीकै भनाइ छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाऊ अभियान’ को घोषणा गरेका बेला लहान, मिर्चैया, गोलबजार, सिरहालगायतका सहर र गाउँघरमा सञ्चालित स्वास्थ्य संस्था, औषधि पसलमा लिंग पहिचान गरी भ्रूण हत्या फस्टाएको हो। गैरकानुनीधन्दा सञ्चालन गर्दै आएका स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षित रूपमा चर्को शुल्क लिएर गर्भपतनको व्यापार फस्टाएको लहानका निरज यादवले बताए।

लिंग पहिचान गर्न सिरहाको मिर्चैयाको नाम प्रदेश २ मै नामी छ। यहाँ दुईदेखि तीन हजारमा छोराछोरी छुट्याउने गरिएको एक स्थानीयले बताए। इलाका प्रहरी कार्यालय मिर्चैया वरपर रहेको क्लिनिकमा अवैध रूपमा लिंग पहिचान हुँदै आएको छ। एक स्वास्थ्यकर्मीले नागरिकसँग भने ‘मिर्चैयामा अदक्ष स्वास्थ्यकर्मीले(रेडियोलोजी नपढेका डाक्टर)वर्षौंदेखि अनुभवको भरमा रेडियोलोजिष्टको काम गर्दै आएका छन्। लिंग पहिचान गर्न मिर्चैयामा पर्सादेखि सप्तरी जिल्लासम्मका गर्भवती महिला आउने गरेको एक स्थानीयले बताए। लिंग पहिचान गरिदिए पनि डाक्टरले रिपोर्ट भने दिने गरेका छैनन्।

शुल्कको रसिद र लिंग पहिचानको रिपोर्ट नदिए पनि लिंग पहिचान गराउन पछिल्लो समय मिर्चैयामा भीड लाग्ने गरेको छ। गर्भपतन भने अदक्ष स्वास्थ्यकर्मी र तालिम नै नलिएका सहयोगीले गर्छन्। क्लिनिक आसपासमा गोप्य स्थानमा औषधि सेवन र अप्रेसनसमेत गरी असुरक्षित गर्भपतन हुँदै आएको छ।

१२ हप्तासम्मको गर्भपतन गर्भवती महिलाको इच्छाअनुसार सरकारी स्वास्थ्य संस्था र सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाले निःशुल्क गर्छन्। सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउनेको संख्या न्यून छ। आर्थिक अवस्था कमजोर भएका गर्भवती मात्र अस्पतालमा गर्भपतन  गराउन आउँछन्। अन्य गर्भपतन अवैध रूपमै हुने गरेको स्वास्थ्यकर्मी बताउँछन्।

प्रकाशित: २२ वैशाख २०७६ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App