स्वास्थ्य

फिस्टुला भएको २२ वर्षपछि उपचारमा

काठमाडौं - धादिङ भुनभुनेकी ४० वर्षीया उजेली गुरुङ बुधबार काठमाडौं मोडेल अस्पतालको शड्ढयामा रुँदै थिइन्। २२ वर्ष पुरानो फिस्टुलाको उपचार निको नहुने थाहापाए पछि उनी रोएकी थिइन्। उनी उपचारको लागि शनिबार अस्पताल भर्ना भएकी थिइन्।

चिकित्सकका अनुसार सुत्केरी व्यथा लामो भएमा, ढिला अस्पताल पुगेमा, शल्यक्रियाबाट प्रसूति हुने क्रममा फिस्टुलाको समस्या आउन सक्छ। पाठेघरको नजिक रहेका अंगहरु दिसा, पिसाबका थैली काटिँदा, थिचिँदा यी अंगमा प्वाल परेर पिसाब या दिसा नरोकिने अवस्था हो फिस्टुला रोग। चिकित्सकले फिस्टुलाको अवस्थाबारे जाँच गरेपछि उनको शल्यक्रिया स्थगित गरेको बताएका छन्। बुधबार जाँच्न बोलाउँदै उनलाई अस्पतालले डिस्चार्ज गरेको छ। डिस्चार्ज हुँदा उजेलीका आँसु थामिएनन्। गुरुङका अनुसार २२ वर्षअघि उजेलीलाई चार÷पाँच दिनको सुत्केरी व्यथा लाग्यो। व्यथा लागेको केही दिनपछि मात्र उनलाई धादिङ अस्पताल पुर्‍याए। धादिङ अस्पतालले उनलाई प्रसूति गृह रेफर गर्‍यो। प्रसूति गृहले शल्यक्रिया गरी मृतक शिशु निकाल्यो।

शल्यक्रियाको केही दिनमा उनको डिस्चार्ज भयो। घरमा पुग्दा पिसाब नरोकिएको थाहा भयो। अस्पतालबाटै पति भागेपछि उनको हेरचाह दिदीले गरिन्। तीन महिनापछि दिदी भिनाजुले नै उपचारका लागि पुनः प्रसूति गृह ल्याए। प्रसूति गृहले उपचार गर्न नसक्ने बताएपछि उनलाई पाटन अस्पताल रेफर गरे। पाटन अस्पतालमा शल्यक्रिया भयो तर पिसाब झर्ने समस्या रोकिएन। अस्पतालले उजेलीलाई तीन महिनापछि पुनः आउनु भन्दै पठायो। खर्च अभावको कारण अस्पतालले बोलाएको बेला आउन सकिनन्। बच्चा जन्मिनुअघि नै पतिले छोडेर बेपत्ता भइसकेका थिए। पछि पोखराबाट दोस्रो विवाह गरेर गाउँ आए।

यो अवधिमा उनलाई पिसाबको समस्याले सताइरह्यो। रोगको दुखाइ एकातिर अर्कोतिर पतिले दोस्रो विवाह गरेपछि उनका पीडा झनै चर्किंदै गयो। माइतीमा पनि पिताले दोस्रो विवाह गरेका थिए। साथ दिने भरपर्दो आधार थिएन। उनले घरको थोरै जग्गामा खेती गरेर दुई छाक जुटाउँथिन्। पतिले दोस्रो विवाह गरेपछि त्यो पनि खोसियो। ‘भएको जग्गा पनि बैंकबाट क्रण निकालेर बेचेछ, अहिले झुप्रो घरबाहेक केही छैन,’ उनले रुँदै भनिन्। जग्गा पनि नभएपछि छाक टार्न रक्सी बनाएर बिक्री गर्न थालिन्। रक्सी बनाउने अन्न किन्न नसकेपछि अरुले दिएको रक्सीकै छोक्राको रक्सी बनाउन थालिन्। ‘हुनेहरुले रक्सी बनाएर छोडेको छोक्रा मागेर रक्सी बनाउँछु,’ गुरुङले बताइन्।

केही दिनअघि आफन्तले काठमाडौं मोडेल अस्पतालमा फिस्टुलाको निःशुल्क उपचार हुने सुनेपछि उनी अस्पताल आइपुगेकी हुन्। चिकित्सकले भिडियो एक्सरे तथा अन्य जाँचमार्फत पिसाबथैली र नलीको अवस्था हेरेपछि अहिले शल्यक्रियाबाट सफल नहुने निधो गरेका हुन्। चिकित्सकले अर्को उपचारको लागि थप एक महिना पर्खिन उजेलीलाई सुझाएका छन्। चिकित्सकको कुरा सुनेपछि उनको आँखामा आँसु थामिएको छैन।

२२ वर्षभरि पिसाब चुहिएकै कारण उनी रात बस्ने गरी कहीँ गइनन्। पिसाब समाल्ने उपाय उनलाई थाहा थिएन। ‘जहाँ गए पनि पिसाब चुहिरन्थ्यो। दिनहुँ लगाएको लुगा धुनुपथ्र्यो,’ उजेलीले भनिन्। झुपडीमा बाख्रा पाल्नु, रक्सी बनाउनु र दुई छाक खानुभन्दा अरु केही सोच्नै सकिनन्। शनिबार अस्पताल भर्ना हुँदा उनको मनमा नयाँ सपना पलाएको थियो। ‘अब गरीखान सक्दिन, बरु पशुपतिमा बस्नु र काल पर्खिनु राम्रो होला,’ उनले भनिन्।

उनको उपचारमा संलग्न चिकित्सक रेखा पौडेलका अनुसार उनलाई अरुलाई हुनेभन्दा जटिल फिस्टुला भएकोछ। परीक्षणको क्रममा उनको पिसाबको नली नभेटिएको र पिसाब थैली आधाभन्दा बढी झरेको पाइएको छ। यही कारण उनको योनीमार्गबाट पिसाब चुहिरहेने समस्या छ। यसको दुई वैकल्पिक उपचार सम्भव छ। एउटा पिसाबको कृत्रिम नली पेटमा जोडेर बाहिर निकाल्ने र अर्को पिसाबको बाटो दिसातिर जोड्नु। अस्पतालका फिस्टुला सर्जन डा. गणेश दंगाल भन्छन्, ‘यी दुवै शल्यक्रिया जटिल छन्। यो उपचारको विषयमा नयाँ प्रविधी खोजिरहेका छौं।’

दंगालका अनुसार लामो प्रसूति व्याथाको कारण पिसाबको नली बच्चाको भागले थिचिएर टुक्रिने, पिसाबको थैली थिचिएर धेरै प्वाल पर्ने र दिसाको थैलीमा प्वाल पर्छ। यस्ता समस्या आउँदा फिस्टुला जटिल बन्न पुग्छ। अस्पतालमा जटिल फिस्टुलाका अन्य बिरामी पनि सम्पर्कमा रहेका छन्। अस्पतालले प्रति वर्ष ८० देखि ८५ जनाको फिस्टुलाको निःशुल्क उपचार गर्दै आइरहेको छ। सन् २०१२ देखि अमेरिकास्थित फिस्टुला फाउन्डेसनको सहयोगमा अस्पतालमा शल्यक्रिया सुरु भएको थियो। हालसम्म ३ सय जनाको फिस्टुला उपचार भइसकेको छ।

प्रकाशित: १४ चैत्र २०७५ ०४:०० बिहीबार

काठमाडौं_मोडेल_अस्पताल फिस्टुला उपचार