स्वास्थ्य

पाठेघर निःशुल्क परीक्षण

सर्लाही – जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन गरिएको एकदिने स्वास्थ्य शिविरमा ७० महिलाको पाठेघरमा रिङ राखिएको छ। परीक्षण गराएका मध्ये ३५ महिलाको पाठेघर शल्यक्रिया गर्नुपर्ने देखिएको छ। गोडैता नगरपालिकामा यसै साता आयोजना गरिएको स्वास्थ्य शिविरमा पाठेघरमा रिङ राखिएको हो।

निःशुल्क शिविरमा ४४५ महिलाको पाठेघर परीक्षण गरिएको गोडैता नगरपालिका कार्यालयले जनाएको छ। गोडैता नगरपालिका, जनस्वास्थ्य कार्यालय मलंगवा, बागमती सेवा समाज र आड्रा नेपालको संयुक्त आयोजनामा पाठेघर परीक्षण शिविर सञ्चालन गरिएको हो।

वेणी भोला नमुना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविरमा सिसौटिया, बकैनिया, बगदह, गोडैता, रोहुवालगायत गाउँका महिलाले पाठेघर परीक्षण गराए। पाठेघरको शल्यक्रिया पनि निःशुल्क गर्ने व्यवस्था मिलाइएको र केही दिनपछि उनीहरूलाई सुविधा सम्पन्न अस्पतालमा पठाइने गोडैता नगरपालिका स्वास्थ्य शाखा संयोजक रामेश्वर सिंहले जानकारी दिए।

प्रकाशित: २५ फाल्गुन २०७५ ०३:०३ शनिबार

स्वास्थ्य_शिविर पाठेघर परीक्षण