स्वास्थ्य

सडकमै चालकको स्वास्थ्य परीक्षण

पृथ्वी राजमार्गअन्तर्गत मलेखुखण्डमा सवारी चालकको स्वास्थ्य परीक्षण गरिँदै। तस्बिर: सरिता /नागरिक

धादिङ - बसमा यात्रु बोकेर भैरहवाबाट काठमाडौं जाँदै गरेका चालक लोकबहादुर पाण्डेलाई धादिङको फुर्खेखोलामा अचानक ट्राफिक प्रहरीले रोके। उनी झस्किए र बसबाट बाहिर निक्लिए। ट्राफिक प्रहरीले उनलाई नजिकै रहेको स्वास्थ्य शिविरमा लगे र स्वास्थ्य परीक्षण गराए।

‘आज सडकमै स्वास्थ्य परीक्षण गरियो,’ बस चालक पाण्डेले भने, ‘धेरै भएको थियो, शरीर डाक्टरलाई देखाउन पाएको थिइनँ, आज देखाइयो, बेला–बेलामा यस्तो अभियान आउनुपर्छ।’ पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौं र अन्य जिल्ला जाने सवारीसाधनका चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ। दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय (धादिङ) र सामुदायिक आँखा केन्द्र (धादिङ)को संयुक्त आयोजनामा मलेखुस्थित फुर्केखोलामा गाडी चालकका आँखा र रक्तचाप परीक्षण गरिएको हो। बिहानैदेखि गाडी चलाउन व्यस्त रहने चालकले आफ्नो स्वास्थ्यमा ध्यान दिन नपाउने हुँदा कतिपय अवस्थामा अस्वस्थताका कारण पनि सवारी दुर्घटना हुने भएकाले स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने यस्तो अभियान चलाएकामा सवारी चालकहरू खुसी भएका छन्। बिहानदेखि बेलुकासम्म नै गाडी चलाउनुपर्ने भएकाले स्वास्थ्य जाँच गर्न नभ्याएको बस चालक शेरबहादुर आलेले बताए। ‘१२ वर्ष भयो, गाडी चलाउन थालेको तर स्वास्थ्य जाँच गराउन भ्याएको थिइनँ,’ उनले भने, ‘यात्रुहरूलाई कसरी सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउने र आफ्नो काम गर्ने भन्नेमा मात्र ध्यान जान्छ, स्वास्थ्य जाँच गराउन समय नै हुँदैन। यस्तो अवस्थामा यो अभियान साह्रै राम्रो लाग्यो।’ काठमाडौं–बुटवल बस चलाउने चलाउने पाण्डे दैनिकजसो सयौं यात्रुको जीवन चालकको हातमा हुने भएकाले आफूहरूको स्वास्थ्य ठीक हुनुपर्ने बताउँछन्। गाडी चलाइरहँदा चालकको स्वास्थ्य गडबडी भएमा दुर्घटना हुनसक्ने भएकाले ट्राफिक प्रहरीले थालेको यो स्वास्थ्य परीक्षण अभियान महत्वपूर्ण भएको उनले बताए।

बिहानैदेखि गाडी चलाउन व्यस्त रहने भएकाले चालकले आफ्नो स्वास्थ्यमा ध्यान दिन नपाउने हुँदा कतिपय अवस्थामा अस्वस्थताका कारण पनि दुर्घटना हुने भएकाले स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

एक सय २४ चालकको स्वास्थ्य जाँच गरिएको ट्राफिक प्रहरी कार्यालय (गजुरी)ले जानकारी दिएको छ। स्वास्थ्य परीक्षण गरिएका धेरैजसो चालकमा आँखाको दृष्टि, रक्तचाप तथा दाँत र गिँजामा समेत समस्या देखिएको स्वास्थ्य जाँचमा संलग्न डा. रामसिंह तामाङले बताए। खैनी, सूर्ति, गुट्खा ज्यादा खाने भएकाले धेरैजसो चालकका दाँत र गिँजामा समस्या देखिएको बताउँदै यस विषयमा सचेत भई उपचार गराउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन्। साथै समयमा खाना नखाने कारण पनि चालकको स्वास्थ्यमा विभिन्न समस्या देखिएको स्वास्थ्यकर्मीको भनाइ छ।
लामो दूरीमा चल्ने रात्रिबसका चालक बिहानीपख निदाउने समस्याले पनि दुर्घटना निम्तिने गरेको गजुरीस्थित ट्राफिक प्रहरी निरीक्षक हेमराज घिमिरे बताउँछन्। ‘लामो दूरीमा सञ्चालन हुने बस, ट्रक लामो समयसम्म चलाउनुपर्ने हुन्छ,’ उनले भने, ‘सुरक्षित यात्राका लागि चालकको स्वास्थ्य अवस्था के छ भनेर बुझ्न यो अभियान सञ्चालन गरिएको हो।’ उक्त अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले अहिले देशैभर यो अभियान सञ्चालन गरिरहेको छ। यसले सवारी चालकलाई आफ्नो स्वास्थ्यप्रति सजग गराई अस्वस्थताका कारण हुने दुर्घटना कम गराउन मद्दत पुग्ने भएकाले यसरी सडकमै स्वास्थ्य परीक्षणको शिविर सञ्चालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित: ८ माघ २०७५ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App