स्वास्थ्य

बिशेषज्ञ टोलीलाई इलाम जान राेक्याे गृहले

इलाम प्रस्थान गर्नुअघि बिशेषज्ञ टिमसँग बिपीका उपकुलपति डा.रौनियार। तस्बिर : नागरिक

धरान - गत बुधबारदेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसीको उपचार गर्न इलाम जादै गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ टोलीलाई मंगलबार बिच बाटोबाट फर्काइएको छ। बिशेषज्ञ टोली फर्किए पनि जुनियर रेसिडेन्ट डाक्टरहरुको अर्को टोली भने इलाम पुगेको छ।

डा.केसीको स्वास्थ्य स्थिति बिग्रदै गएपछि बिपी प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बिशेषज्ञ डाक्टरहरुको टोली इलाम पठाएको थियो। तर, प्रतिष्ठानबाट बिशेषज्ञ टोली हिडेको केही बेरमा नै प्रतिष्ठान फिर्ता बोलाइएको थियो। इलाम प्रस्थान गरिसकेको टिम फर्किनुको कारणबारे प्रतिष्ठानका कसैले पनि बताउन चाहदैनन्। टोली फर्किनुको कारण कसैले नबोले पनि गृह मन्त्रालयको निर्देशनमा फर्किएको स्रोतले जनाएको छ। स्रोतका अनुसार अहिलेसम्म डा.केसीको आन्दोलनप्रति इलामबासी पनि विभाजित छन्। एक युवाले केसीको विपरीत माग राखेर अनसन बसिरहेका छन् भने आइतबार उनको पक्षमा र्यालीसमेत निस्किएको थियो।

विगतको आन्दोलनमा जस्तो समर्थन पाउन नसकेका डा.केसीको पक्षमा बिपी प्रतिष्ठानका डाक्टरहरु गएर आन्दोलन चर्काउन लागेको भन्ने बुझाइ भएर गृहको निर्देशनमा बिशेषज्ञ टोलीलाई फर्काइएको स्रोतले जनायो। ‘बिशेषज्ञ टोली सबै तयारी गरेर हिडिसकेको थियो, तर फर्किनु पर्यो,’स्रोतले भन्यो,‘उपचारको वहानामा डा.केसीको आन्दोलनलाई चर्काउन धरानबाट डाक्टरहरुको टोली जादै गरेको भन्ने रिपोटिङ भएछ, त्यही दबाबमा परेर बिशेषज्ञ टोली फर्कियो।’ स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय बिपी प्रतिष्ठानबाट बिशेषज्ञ टोली पठाउन सकरात्मक भएपनि गृह मन्त्रालय कठोर बनेको थियो। गृहकै निर्देशनमा इलाम अस्पतालमा कसैलाई पनि प्रवेश गर्न नदिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको स्रोतले जनायो।

प्रतिष्ठानका उपकुलपति डा.राजकुमार रौनियार भने केसीको उपचारको लागि चिकित्सक टोली तयारी अवस्थामा मात्र राखिएको बताउँछन्। ‘हाम्रो टोली आवश्यक सबै सामाग्रीरुसहित तयार अवस्थामा छ, आइसियु पनि एउटा खाली राखिएको छ, निर्देशन आएपछि हाम्रो टोली हिडिहाल्छ,’उपकुलपति डा.रौनियारले भने,‘जाने भन्ने निर्देशन भएको छैन।’ प्रतिष्ठानका कसैले पनि बिशेषज्ञ टोली बिच बाटोबाट फर्किएको स्वीकार नगरेपनि इलाम अस्पतालमा इन्टर्न गरिरहेका एक विद्यार्थीले भने उक्त टोली बीच बाटोबाट फर्किएको पुष्टि गरे। ‘डाक्टरहरुको टोली इलाम आउदै थियो, बीचबाटै फर्किएको सुन्यौ। माथिबाट दबाब पर्यो रे,’इन्र्टन प्रतिक रोयले भने। उनका अनुसार इलाम अस्पतालमा सुरक्षाकर्मीको बाक्लो भिड छ। सशस्त्र र डिएसपीका अधिकारीहरु पनि अस्पतालमा भएको उनले बताए।

बिपी प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहको नेतत्वमा ६ जनाको टोली दिउँसो इलाम हिडेका थिए। टोलीमा मुटू रोग विशेषज्ञ डा.प्रशान्त साह, जेनरल फिजिसियन डा.अजय यादव, एनेस्थेसियोलोजी डा.सविन भण्डारी, ल्याब पर्सन जितेन्द्र यादव र आइसियु नर्स निर्मला बस्नेत पनि थिइन्। तर, टोली बिचैमा फर्किनु पर्यो। डा.केसीको यसअघिको आन्दोलनहरुमा बिपी प्रतिष्ठानस्थित जेआर डाक्टरहरुले समर्थनमा आन्दोलन गर्ने गरेका थिए।

जेआर टोली पुग्यो इलाम जादै
बिशेषज्ञ टोली फर्किए पनि बिपी प्रतिठानस्तिथ जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको टोली भने इलाम पुगेको छ। जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.कविराज पौडेलको नेतृत्वमा ४ जनाको टोली इलाम पुगेको हो। यो समाचार तयार पार्दासम्म उनीहरु इलाम अस्पतालमा भने पुगेका छैनन्। डा. केसीको उपचार हाल इलाम अस्पतलामा भइरहेको छ।

टोलीमा जेआर डा.पौडेलसँगै डा.देनप्रसाद आचार्य, डा.राजिव न्यौपाने र डा.अरुण सापकोटा छन्। ‘अर्को टोली आउदैछ भन्ने सुनेको हो, फेरि फर्कियो भन्ने पनि सुन्यौ। हाम्रो टोली अलग्गै हो। इलाम टेक्यौ तर अस्पताल पुगेको छैनौ,’डा.पौडेलले भने,‘हाम्रो संस्थाको तर्फबाट सरलाई समर्थन जनाउन र स्वास्थ्य स्थिति बुझ्न इलाम आएको हो।’

प्रकाशित: २ माघ २०७५ ०३:३५ बुधबार

डा.गोविन्द_केसी उपचार बिपी_कोइराला_स्वास्थ्य_विज्ञान_प्रतिष्ठान