स्वास्थ्य

सुरक्षित मातृत्वको लागि न्यानो झोला

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिकाले सुरक्षित मातृत्वको लागि न्यानो झोला उपलव्ध गराएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी हुन आउने आमा र शिशुको स्वास्थ्य अवस्थालाई मजबुद बनाउन न्यानो झोला र ब्ल्याङ्केट उपलव्ध गराइएको हो।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले प्रतिष्ठानका प्रशासकिय अधिकृत द्धन्द्धवहादुर शाहीलाई सुरक्षित मातृत्वको सामाग्री हस्तान्तरण गरेकी हुन्। उनका अनुसार २ सय ५० थान न्यानो झोला र २ सय ५० थान  ब्ल्याङ्केट उपलब्ध गराइएको हो। सुत्केरी हुन नजिकैको स्वास्थ्य संस्था तथा अस्पतालमा आउनको लागि प्रेरित गर्ने हेतुले यो कामको थालनी गरिएको मेयर सेजुवालले बताइन्। उनले भनिन्,“अहिले नगरपालिका क्षेत्रका ३२ प्रतिशत महिला मात्रै स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको तथ्यांकमा देखिएको छ, अब शतप्रतिशत महिला स्वास्थ्य संस्थामै सुत्केरी गराउन आउनुपर्ने अवस्थाको सिर्जना गर्दैछौँ।"

स्थानीय सरकार भएकोले मातृमृत्युदर र बालमृत्युदर शतप्रतिशत हुन नदिने अभियान नगरपालिकाले थालेको छ। "कर्णाली प्रतिष्ठान र नगरपालिकाबीचको सहकार्यमा निकै लापरबाही देखिएको पाइयो“, मेयर सेजुवालले भनिन्,“अब सुमधुर सम्वन्ध स्थापित गर्दै सुरक्षित मातृत्वका विषयमा बढि ध्यानकेन्द्रित गर्नु पर्ने बेला आएको छ।”

अहिले सम्म प्रविधि तर्फ तीन लाख र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाको यातायात खर्चको लागि ३० लाख रुपैयाँ उपलव्ध गराइसकिएको छ। "स्वास्थ्य क्षेत्र निकै संवेदनशिल छ, अहिले सुरक्षित मातृत्व केन्द्रित कार्यक्रम बनाएका छौ", मेयर सेजुवालले भनिन्,“शतप्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा हुने बातावरण बनाउँछौँ।” पहिलो गर्भ जाँच देखि सुत्केरी भएको ४२ दिन सम्म गर्नुपर्ने स्याहारका बारेमा सवैलाई जिम्मेवार बनाउँदै आमा र बच्चाको स्वास्थ्य अवस्थालाई मध्येनजर गरि स्वास्थ्य क्षेत्रका कार्यक्रम अघि बढाइएका छन्।

कर्णाली प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत द्धन्द्धबहादुर शाहीले नगरपालिकाले आमा र बच्चाको स्वास्थ्यमा गरेको चिन्ता सह्रनीय रहेको बताए। उनले भने,“आगामी दिनमा प्रतिष्ठान र नगरपालिकाबीचको समन्वयले यहाँको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्ने देखिएको छ। नगरपालिकाले स्वास्थ्य क्षेत्र प्रति देखाएको चासो र चिन्ता प्रति सम्मान गर्दै यहाँको स्वास्थ्य समृद्धि र स्वास्थ्य पर्यटनका लागि हरदम लागि पर्नेछाैं।

 

प्रकाशित: १५ पुस २०७५ १२:५६ आइतबार

जुम्ला सुरक्षित_मातृत्व