स्वास्थ्य

बिहानी हिँडाइको जोखिम

काठमाडौं उपत्यकाको अौसत प्रदुषण तह (मंसिर २६ गते)

स्वास्थ्यका लागि हिँड्नु पहिलो रोजाइ बन्ने गरेको छ । शरीर फिट राख्न दिनमा न्यूनतम आधा घण्टा हिँड्न चिकित्सकहरुले नै सुझाउने गरेका छन् । प्रायको रोजाइ बिहानी हिँडाइ नै हुने गरेको देखिन्छ । तर उपत्यकाको हकमा बिहानको हिँडाइ घातक हुनसक्छ । अझ चिसो मौसममा प्रदूषित सहरमा हिँड्नु रोग घटाउने भन्दा बढाउने मेलो बन्न सक्छ ।

काठमाडौं उपत्यकामा जाडो मौसममा मर्निङवाक गर्नु जोखिम हुने चिकित्सकहरु नै बताउँछन् । अझ दमका रोगीका लागि चिसो मौसमको बिहानी हिँडाइ जोखिमपूर्ण हुने वीर अस्पताल मेडिसिन विभागका उपप्राध्यापक फिजिसियन डा. भवेश थापा बताउँछन् ।

उपत्यकामा कहिले पूर्व त कहिले पश्चिमबाट हावा वहने भएकाले उपत्यकाको कुन क्षेत्र मर्निङवाकका लागि उपयुक्त हुन्छ भन्न कठिन भएको उनको तर्क छ ।

राष्ट्रिय मापदण्ड अनुसार ४० माइक्रोग्राम प्रतिघनमिटर धुलो तोकिए पनि जाडो मौसममा उपत्यकामा चार गुणासम्म धुलो बढ्ने बताउँछन् डा. धिमाल । यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी हो ।

‘चिसोको कारणले दम रोगीमा फोक्सोको स्वासनली खुम्चिएर दम बढ्ने सम्भावना हुने भएकाले दमलगायतका रोग भएका व्यक्तिले चिसोमा मर्निङवाक नगरेकै राम्रो,’ डा.थापाले भने, ‘बिहानीको विकल्प दिउँसो हुनसक्छ ।’

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल जाडो मौसममा उपत्यकामा बढी धुलो धुवाँ हुने बताउँछन् । जाडो मौसममा उपत्यकामा बिहान र बेलुका बढी धुलो धुवाँ हुने उनले बताए । ‘जाडो मौसममा चिसोका कारणले धुलोका कण जमिनमा झर्छन्,’ डा. धिमालले भने, ‘त्यसैले यो मौसममा बिहान– बेलुकी शारीरिक कसरतका लागि नहिँड्नु नै राम्रो ।’

धिमालका अनुसार चिसो मौसममा घाम लागेपछि दिउँसो र मध्य रातमा उपत्यकामा प्रदूषण कम हुने जानकारी दिए ।
काठमाडौं, ललितपुर र भक्तपुरमध्ये काठमाडौंमा प्रदूषणको बढी जोखिम देखिन्छ । यहाँ बढी मात्रामा धुलो धुवाँ पाइएको डा.मेघनाथले बताए ।

राष्ट्रिय मापदण्ड अनुसार ४० माइक्रोग्राम प्रतिघनमिटर धुलो तोकिए पनि जाडो मौसममा उपत्यकामा चार गुणासम्म धुलो बढ्ने बताउँछन् डा. धिमाल । यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा बढी हो ।

एक्कासि नदौडिने
डा. थापा दैनिक कम्तीमा ३० मिनेट हिँड्नु स्वास्थ्यका लागि राम्रो हुने बताउँछन् । स्वस्थ व्यक्ति जुन समयमा पनि हिँड्न सक्ने भए पनि जाडो मौसम र धुलोबाट बच्नुपर्ने उनले जानकारी दिए ।

वीर अस्पतालका डा. अर्जुन बुढाथोकी पनि डा. थापाको तर्कमा सहमत देखिन्छन् । दैनिक आधा घण्टा र हप्तामा एक सय ५० मिनेट फटाफट हिँड्नु स्वास्थ्यका लागि लाभदायक हुने उनले सुझाव दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन मर्निङवाकले स्वस्थ रहन मद्दत गर्ने बताउँछन् । तर मर्निङवाक गर्दा धुलो धुवाँबाट बच्दै तरिका पु¥याएर गर्नुपर्ने उनको सुझाव छ ।

डा. थापाका अनुसार पसिनाबाट शरीरका दूषित पदार्थ बाहिर निस्कन्छन् । सामान्यतयाः शरीरबाट देखिने नदेखिने गरी डेढ दुई लिटर पसिना निस्कने डा. थापाले जानकारी दिए ।

पसिनाको माध्यमबाट शरीरमा भएका दूषित पदार्थ बाहिर निस्कने भएकाले पसिना आउनु राम्रो हुने चिकित्सक बताउँछन् ।

डा. बुढाथोकी कसैको शरीरबाट धेरै पसिना आउने र कसको कम पसिना आउने भएकाले हिँड्दा पसिना आउनै पर्छ भन्ने जरुरी नहुने बताउँछन् ।

मर्निङवाक गर्दा सुरुमै एक्कासि दौडिन नहुने डा. थापाको सुझाव छ । बिहानै एक्कासि दौडिँदा मांसपेशी फाट्नेलगायतका समस्या हुन्छन् । त्यसैले सुरुमा बिस्तारै दौडिएर दौड बढाउँदै लैजानुपर्ने उनको सुझाव छ ।
खालिपेटमा दौडिन नहुने सुझाउँछन्, चिकित्सक । व्यायाम गर्दा शरीरमा ग्लुकोजको मात्रा घट्ने भएकाले रिंगटा लाग्ने, चक्कर लाग्ने जोखिम हुनाले हल्का खाजा खाएर दौडिनुपर्ने डा. थापाको सुझाव छ ।

बिहान हृदयाघातको जोखिम
सामान्यतयाः बिहान प्रदूषण कम हुने भएकाले बिहानको समयमा मर्निङवाक गर्नु राम्रो हुने मान्यता छ । बिहानको समयमा अक्सिजनको मात्रा बढी हुनुका साथै सवारीसाधन लगायतको धुलो धुवाँको चाप पनि कम हुन्छ । गर्मी वा पानी पर्ने सिजनमा मर्निङवाक उपयुक्त हुन्छ ।

राति प्रदूषण थेग्रिएर रहने सम्भावना भएकाले अत्यधिक प्रदूषण हुने ठाउँमा बिहानको साटो बेलुकीको समयमा हिँड्न सकिने चिकित्सकको तर्क छ ।

जाडो मौसममा हृदयाघातको जोखिम, बाथ रोगीलाई असरजस्ता समस्या हुने भएकाले दिन तातेर घाम लागेपछि हिँड्नु पर्ने डा. पुनको सुझाव छ । जाडो सिजनमा बिहान धुलो स्थिर हुने भएकाले धुलो–धुवाँ नहुने क्षेत्रमा हिँड्न डा. पुनको सुझाव छ । दूषित हावाले फोक्सोमा असर गर्ने भएकाले मर्निङवाक गर्दा मुटु तथा फोक्सोका बिरामीले विशेष ध्यान दिनुपर्ने पुनले बताए ।

डा. बुढाथोकीका अनुसार बिहानको समयमा शरीरमा हर्मन बढी उत्पादन हुने हुनाले प्रेसर बढ्छ । सामान्यतयाः बिहान ४  देखि ६ बजेसम्म हर्मन बढ्छ । ६ देखि हर्मन घटेर १० बजेसम्ममा सामान्य अवस्थामा आउँछ । यही कारण जाडो मौसममा बिहानको समयमा मर्निङवाक गर्दा हृदयाघातको जोखिम हुने डा.बुढाथोकीको तर्क छ । मर्निङवाक गर्दा छाति दुख्यो, रिंगटा लाग्यो भने तत्काल रोकिएर स्वास्थ्य संस्थामा जानुपर्ने उनको सुझाव छ ।

हृदयाघात र मस्तिष्कघात कम
स्वस्थ वातावरणमा दैनिक मर्निङवाक गर्नु राम्रो हो । तौल घटाउन, शरीरको कोलस्टोर घटाउन, ब्लडप्रेसर सन्तुलित राख्न, सुगर नियन्त्रणका लागि पनि मर्निङवाक महत्वपूर्ण रहेको चिकित्सक बताउँछन् ।

विशेषगरी खराब बोसो घटाएर शरीरको तौल सन्तुलित राख्न हिँडाइ महŒवपूर्ण हुने चिकित्सक बताउँछन् । हप्तामा कम्तीमा पाँच दिन आधा घण्टा हिँड्नाले करिब एक महिनामा एक पाउण्ड तौल घट्ने डा. थापा बताउँछन् । तौल घट्नाले इन्सुलिन हर्मनको मात्रा बढ्छ, जसले सुगर नियन्त्रण हुन्छ ।

डा. बुढाथोकीका अनुसार मुटुमा तीनवटा मुख्य नसा हुन्छन् । मर्निङवाक गर्नाले मुटुका मसिना नसा खुल्छन् र मुख्य नसा बन्द भएको खण्डमा पनि अन्य मसिना नसाले रक्तसञ्चार गर्छन् र हृदयाघातको जोखिम कम हुन्छ ।  

मर्निङवाक गर्दा खुट्टाको नसा सुन्निने जोखिम पनि कम हुने बताउँछन्, चिकित्सक । डा. थापा भन्छन्, ‘मर्निङवाक गर्दा शरीरमा राम्रो रक्तसञ्चार हुने भएकाले खुट्टाको नसामा रगत जम्न दिँदैन र खुट्टाको नसा सुन्निने जोखिम कम हुन्छ ।’
कसरी हिँड्ने ?

बिहान सबेरै उठेर व्यायाम गर्नु राम्रो मानिन्छ । सुरुमा बिस्तारै हिँडेर शरीर तात्दै गएपछि छिटो–छिटो हिँड्नुपर्ने चिकित्सकको सुझाव छ । हिँड्दा कपडा पनि हलुका र मौसमअनुकूल सजिलो हुने लगाउनु राम्रो । हिँड्दा बाउला भएका कपडा लगाउन उपयुक्त हुने चिकित्सकको सुझाव छ ।

कानमा एयरफोन लगाएर मर्निङवाक गर्दा कानमा असर पर्ने भएकाले एयरफोन सुन्नु राम्रो मानिँदैन । मर्निङवाक गर्दा गफ नगरेकै राम्रो मानिन्छ । रेडियो पनि नसुन्नु नै राम्रो मानिन्छ ।

एकान्तमा हिँड्न नहुने चिकित्सकको सुझाव छ । एकान्तमा हिँड्दा रक्तचाप बढ्ने वा कुनै दुर्घटना भएको खण्डमा उद्धार नहुने जोखिम हुन्छ। शुक्रवार साप्ताहिकबाट

 

प्रकाशित: २७ मंसिर २०७५ ०८:०८ बिहीबार

मर्निङ_वाक स्वास्थ्य प्रदुषण