स्वास्थ्य

श्वासका बिरामीलाई जाडोमा जोखिम

श्वास–प्रश्वास तथा फोक्सोसम्बन्धी रोगीका लागि जाडो मौसम अत्यन्तै कष्टकर मानिन्छ। यस्ता रोगीले यो मौसममा कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्ने ? नेपालमा श्वास–प्रश्वास एवं फोक्सोसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ? प्रस्तुत छ– नागरिककर्मी पवित्रा सुनारले काठमाडौंस्थित वीर अस्पतालको चेस्ट क्लिनिकका प्रमुख डा.अशेष ढुंगानासँग गरेको कुराकानीः

यो सेवामा लाग्नुभएको कति वर्ष भयो ?
मैले एमबिबिएस सेकेको सन् २००७ मा हो। त्यसपछि अध्ययन गर्दै फोक्सो तथा श्वास–प्रश्वाससम्बन्धी रोगको उपचारमा पनि संलग्न भएँ। विशेषज्ञकै रूपमा काम गरेको चाहिँ सात वर्ष भयो।

वीर अस्पतालमा छुट्टै चेस्ट क्लिनिक कहिलेदेखि खुलेको हो ?
दुई वर्षभन्दा बढी भयो।

चेस्ट क्लिनिकमा कुन्–कुन् रोगका उपचार हुन्छन् ?
यहाँ सामान्य रुघाखोकीदेखि श्वास–प्रश्वास तथा फोक्सो रोगसम्म उपचार हुन्छन्। दम, एलर्जी, क्षयरोग तथा फोक्सोको क्यान्सरको समेत यहाँ परीक्षण र उपचार यहाँ हुन्छन्।

युवा उमेरमै फोक्सोको क्यान्सर हुनाको मुख्य कारण धूमपान हो। साथै वायु प्रदूषण, पेसागत कारण हुने प्रदूषण तथा रासायनिक सम्पर्कका कारणले पनि युवाहरूमा क्यान्सर भइरहेको देखिन्छ। पेसा प्रदूषणयुक्त छ र त्यसमाथि धूमपान पनि गर्ने बानी छ भने त्यस्ता व्यक्तिहरूलाई फोक्साको क्यान्सर छिटो हुने जोखिम बढी हुन्छ।  

यो चेस्ट क्लिनिक छुट्टै विभागको रूपमा खोल्नाको कारण ?
वीर अस्पताल विभिन्न रोग उपचार गर्ने केन्द्रीय अस्पताल हो। अन्तर्राष्ट्रिय स्तरमा फोक्सोसम्बन्धी रोगको विशेषज्ञ उपचार हुन थालेको सय वर्षभन्दा बढी भइसकेको थियो। तर वीर अस्पतालमा यो सेवा छुट्टै थिएन। उपत्यकाभित्र र बारिहबाट रेफर भएर आएका बिरामीको उपचार यहाँ हुन्छ। कसैलाई फोक्सोसम्बन्धी रोग लागेको शंका लागेमा तुरुन्त उपचार गर्न पाऊन् भन्ने उद्देश्यले यो क्लिनिक खुलेको हो। उपचारका लागि महिनौं भौतारिनु पर्दैन।

यो क्लिनिकमा दैनिक कति बिरामी आउँछन् ?
हप्तामा तीन दिन यो क्लिनिक खुल्छ। एक दिनमा सय जनाभन्दा बढी बिरामीको उपचार गरिन्छ। यस हिसाबले महिनामा १२ सय जनाभन्दा बढीले यहाँबाट सेवा पाउँछन्।

श्वास–प्रश्वाससम्बन्धी रोगको अवस्था कस्तो छ ?
नेपालमा श्वास–प्रश्वासका बिरामी पहिल्यैदेखि थिए। पछिल्लो समय झन् बढ्दो सहरीकरण तथा विकास निर्माणका कारण धुलो, धुवाँ र प्रदूषण बढेको छ। जसका कारण फोक्सोका रोगीहरू पनि ह्वात्तै बढेका छन्।  

देशमा शिक्षा र जनचेतना बढेपछि धूमपान प्रयोगकर्ता त घटेका होलान् ? यसले श्वास–प्रश्वाससम्बन्धी रोग पनि घटेको छ कि ?
शिक्षाले धूमपान प्रयोगकर्ता घटेको हुनुपर्छ। तर अहिले पनि गाउँमा संस्कृति र सहरमा फेसनका नाममा धूमपान गर्नेहरू छन्। धूमपानजत्तिकै फोक्सोका लागि दाउरा बाल्दा निस्कने धुवाँ हानिकारक छ। गाउँमा अहिले पनि दाउरा र गोबर गुइँठाबाट खाना पकाइन्छ। यसको धुवाँ हानिकारक त छ नै, गाउँघरका चुला पनि सुरक्षित छैनन्। सहरमा वायु प्रदूषण बढ्दो छ। जसका कारण दिनप्रतिदिन श्वास–प्रश्वाससम्बन्धी रोगहरू बढिरहेका छन्।

वायु प्रदूषणले फोक्सोलाई कसरी बिगार्छ ?
वायु प्रदूषणमा हुने धुलो र धुवाँका कण श्वास–प्रश्वासको माध्यमबाट फोक्सोमा पुग्छ। यसले श्वास नली तथा फोक्सोका भित्ताहरूमा धुवाँ र धुलो जम्मा हुन्छन् जसबाट संक्रमण सुरु हुन्छ। प्रदूषण नै छातिसम्बन्धी रोग हुनाको मुख्य कारक तŒव हो। नेपालमा वायु प्रदूषणका कारण दम, आस्मा, ब्रोङकाइटिसजस्ता रोगहरू बढिरहेका छन्। साथै कम उमेरमै फोक्सोको क्यान्सर हुने क्रम पनि बढेको छ।

विशेष गरी गर्भवती, बालबालिका, वृद्धवृद्धा, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू वायु प्रदूषणले गर्ने असरको उच्च जोखिममा हुन्छन्। यस समूहका मानिसहरू हरेक दिन श्वास–प्रश्वासका रोगहरू लिएर आउने गर्छन्। पहिलेदेखि श्वास–प्रश्वासका रोग भएकालाई प्रदूषणले छिटो असर गर्छ।

आस्मा, सिओपिडी र ब्रोङकाइटिस् कस्ता रोग हुन् ?
यी सबै दम रोगका प्रकारहरू हुन्। लामो समय धूमपान गरेका कारण वृद्ध अवस्थामा छातिमा हुने दीर्घरोग हो। जसमा फोक्सोको श्वास फेर्ने नली साँघुरो हुने, खोकी लागिरहने, जाडो मौसममा दमले बढी सताउने, पटक–पटक निमोनिया हुने समस्या हुन्छ।  आस्मा एलर्जीका कारण हुने रोग हो। यो कम उमेरका महिलालाई बढी हुन्छ। पटक–पटक छातिमा घ्यार–घ्यार हुने, लामो समयसम्म रुघाखोकी लागिरहने हुन्छ। साथै यो समस्या भएकाहरूलाई छालाको एलर्जी पनि हृुन्छ। छालामा पटक–पटक डाबर आउने, चिलाउनेजस्ता समस्या हुन्छन्।

प्रदूषणले क्षयरोग हुन्छ कि हुँदैन ?
प्रदूषणले सबै खालका संक्रमण हुने संभावना बढाउँछ। धूमपान र वायु प्रदूषणले छातिमा हुने सबै खालका संक्रमण बढाउँछन्। साथै वायु प्रदूषणले क्षयरोग सर्ने संभावना पनि बढाउँछ। धूमपानले पनि बढाउँछ, वायु प्रदूषणले पनि बढाउँछ। जाडोमा घरभित्रै बस्ने तथा एकै ठाउँमा गुटुमुटु परेर बस्ने र न्यानोका लागि आगो ताप्ने चलन छ। यो गलत हो। यसले क्षयरोगी या अन्य संक्रमणका रोगी छन् भने सर्ने संभवाना बढी हुन्छ।

अर्को कुरा, जाडोमा वायु प्रदूषणको मात्रा बढ्छ। हावामा धुलोका कण मिसिएका हुन्छन्। हावा चिसो हुन्छ। चिसो भएपछि प्रदूषित हुन्छ। हावा प्रदूषित छ भने उडेर बाहिर जाँदैन। चिसो हावा जमिनको नजिकै बस्छ। यसकारण जाडोमा बाहिर हिंडडुल गर्दा वायु प्रदूषणको असर हुन्छ। घरभित्र पनि नजिकै धेरै जना बस्ने गर्दा एक–अर्कामा रुघाखोकी तथा क्षयरोग सर्न सक्छ। घर बाहिर भीडमा हिंड्दा पनि वायु प्रदूषणले श्वास–प्रश्वासको रोगहरू बढाउँछन्।

ब्रोङकाइटिस,आस्मा,सिओपिडी सबै जाडो मौसममा एकैपटक बढ्ने हुन् ?
सिओपिडीका रोगीहरूमा एक्कासि दम बढ्ने हुन्छ। यो जाडो र वायू प्रदुषणकै कारणले बढ्छ। पहिल्यै दम रोग भएका तथा वृद्ध  उमेरकाहरूलाई जाडोमा रोग बल्झिने खतरा बढी हुन्छ।

जाडोमा दीर्घरोगी र वृद्धवृद्धा कसरी बच्ने त ?
मुख्य कुरा, चिसोबाट बच्नु प-यो। न्यानो लुगा लगाउने, चिसो हावाको सम्पर्कमा नजाने। दमका रोगीले नियमित औषधि सेवन गर्ने। धेरैले अलि–अलि निको हुनेबित्तिकै बीचमै औषधि छाड्ने गर्छन्। यसरी बीचमै औषधि छाड्नु हुँदैन। वायु प्रदूषणमा बाहिर जाँदा मास्कको प्रयोग गर्ने, भीडभाडमा नजाने। तातोका लागि धुवाँ आउने इन्धन प्रयोग नगर्ने।

धूमपान नगर्ने तर प्रदूषण झेलिरहनुपर्नेलाई के सुझाव दिनुहुन्छ ?   
प्रदूषणको असर पनि धूमपानकै हाराहारीमा हुन्छ। यसबाट हामी आफैं बच्ने उपाय खासै प्रभावकारी छैन। यसका लागि सरकारले नै प्रदूषण हटाउने नीति र कार्यक्रम ल्याउन जरुरी छ। धुवाँ फाल्ने गाडीलाई हटाउनु प¥यो। सडकलगायत विकास निर्माणबाट निस्कने धुलोहरू नियन्त्रण गर्नुप-यो।  

दमका रोगी काठमाडौं उपत्यकाभित्र बढी छन् कि बाहिर ?
दुवै ठाउँमा छन्। राजधानीभित्रका बिरामी सीधै चेस्ट क्लिनिकमा आउँछन्। बाहिर जिल्लाका चाहिँ रेफर भएर आउँछन्। यो सरकारी अस्पताल भएकाले देशभरका बिरामी रेफर भएर यहीं आउँछन्। पूर्वदेखि पश्चिमसम्म सबै जिल्लाका बिरामी यहाँ आउने गरेका छन्। काठमाडौं भित्रका बिरामी पनि उल्लेखनीय संख्यामा आउँछन्।

काठमाडौं उपत्यकामा कम उमेरमै दम हुनेहरू छन् भन्ने सुनिन्छ नि ? यथार्थ के हो ?
काठमाडौं उपत्यकाभित्र युवा उमेरमै सिओपिडी दम, आस्मा, निमोनिया भएकाहरू छन्। यस्ता बिरामीमध्ये आधा त युवा उमेरकै छन्। युवा उमेरमै क्षयरोग भएकाहरू पनि उत्तिकै छन्। ती ४० वर्षभित्रका छन्। ३५/४० वर्षमै फोक्सोको क्यान्सर भएकाहरू पनि छन्।

युवा उमेरमै फोक्सोको क्यान्सर हुने कारण ?
मुख्य कारण धूमपान हो। सँगसँगै वायु प्रदूषण, पेसागत कारण हुने प्रदूषण तथा रासायनिक सम्पर्कका कारणले पनि युवाहरूमा क्यान्सर भइरहेको देखिन्छ। पेसा प्रदूषणयुक्त छ र त्यसमाथि धूमपान पनि गर्ने बानी छ भने त्यस्ता व्यक्तिहरूलाई फोक्साको क्यान्सर छिटो हुने जोखिम बढी हुन्छ। जस्तो, सिमेन्ट कारखानाबाट निस्कने प्रदूषण, विभिन्न रसायनका कारण फोक्सोको क्यान्सर हुन्छ। केहीलाई वंशाणुगत कारणले पनि फोक्सोको क्यान्सर हुन्छ।

क्षयरोग कुन उमेर समूहमा बढी छ ?  
१५ देखि ५५ वर्षसम्मका व्यक्तिहरूमा क्षयरोग बढी देखिन्छ। यो उमेर समूह उत्पादनशील जनशक्तिमा पर्छ। यो उमेरमा क्षयरोग हुनेको संख्या बढी हुनाले समग्र अर्थतन्त्रमै असर पुगिरहेको छ।

सिओपिडीका लक्षणहरू के–के हुन् ?
सिओपिडी वृद्ध उमेरका मानिसलाई हुन्छ। लामो समयसम्म खोकी लागिरहने, खुट्टा सुन्निने, औंला र जिब्रो नीलो हुँदै जाने, तौल घट्दै जाने, घ्यार–घ्यार हुने, टाउको दुख्ने सिओपिडी दमका लक्षण हुन्। सुरुमा उकालो चढ्दा मात्र हुने स्याँ–स्याँ विस्तारै बसिरहेका बेला पनि हुन थाल्छ।

आस्माका लक्षणहरू के–के हुन् ?
लामो समय खोकी तथा रुघाखोकी लागिरहने, दम बढेर स्वाँ–स्वाँ हुने, छातिबाट घ्यार–घ्यार आवाज आउने, छाति दुख्नेजस्ता यसका लक्षण हुन्।

क्षयरोगका लक्षणहरू के–के हुन् ?
क्षयरोग भएका बिरामीलाई साँझपख ज्वरो आउने, खकारमा रगत देखिने, खाना नरुच्ने, तौल घट्दै जाने, लामो समय ज्वरो आउने हुन्छ।

ब्रोङकाइटिसका लक्षणहरू के–के हुन् ?
बिहान सेतो खकार आउने, लामो समयसम्म खोकी लागिरहने, स्याँ–स्याँ बढ्दै जाने, छातिको बीचमा दुख्ने हुन्छ।

फोक्सोको क्यान्सरका लक्षण के–के हुन् ?
खकारमा रगत देखिने, तौल घट्ने, लामो समय खोकी लाग्ने, छाति दुख्ने हुन्छ।

फोक्सोलाई स्वस्थ राख्न के गर्नुपर्छ ?  
खानामा फलफूलको मात्रा बढाउने, नियमित व्यायाम बढाउने, जगिङ गर्ने या हिंड्ने। प्राणायाम पनि गर्न सकिन्छ। वायु प्रदूषणबाटबच्ने, धूमपान नगर्ने, सन्तुलित भोजन गर्ने। प्रदूषित वातवरणमा काम गर्नुहुन्छ भने भरपर्दो मास्कको प्रयोग गर्ने।

फोक्सोसम्बन्धी रोग लागिसकेकाले लामो समय फोक्सो बचाउने उपाय के छ  ?
नियमित व्यायाम गर्ने, सन्तुलित भोजन गर्ने, आफूलाई भएको समस्याबारे  चिकित्सकसँग सल्लाह लिने। चिकित्सकको सल्लाहमा मात्र औषधिको प्रयोग गर्ने। दमका बिरामीमा चिकित्सकले सिफारिस गरेका इनहेलर (श्वास–प्रश्वास रोगको औषधि) बीचैमा छाड्ने प्रवृत्ति देखिन्छ। यस्तो गर्नु हुँदैन। जस्तो, सिओपिडी भएका बिरामीले जीवनभर इनहेलर प्रयोग गर्नुपर्छ। साथै चिसोबाट बच्ने, विभिन्न इन्फुलुएन्जाविरुद्धको खोप लगाएर संक्रमणबाट बच्ने, श्वास–प्रश्वाससम्बन्धी व्यायाम तथा योग गर्ने। धूमपान नगर्ने।

नेपालमा फोक्सोसम्बन्धी रोग उपचारको अवस्था कस्तो छ ?
पछिल्लो समय नेपालमै फोक्सोसम्बन्धी रोगको आधुनिक उपचार सम्भव भएको छ। यसको उपचारकै लागि विदेश गइहाल्नुपर्ने स्थिति छैन। कोही आत्मसन्तुष्टिका लाग पनि जान्छन्। पछिल्लो समय नेपालमा श्वास–प्रश्वास सम्बन्धी रोगका विशेषज्ञ डाक्टर पनि बनिसकेका छन् र उनीहरू उपचारमा सक्रिय छन्। अहिले यस रोगका १२ भन्दा बढी विशेषज्ञ डाक्टरले विभिन्न अस्पतालमा सेवा दिइरहेका छन्।

वीर अस्पतालमा हालै यो रोग पहिचानका लागि आवश्यक आधुनिक उपकरणहरू प्रयोगमा छन्। श्वास–प्रश्वाससम्बन्धी ९० प्रतिशत रोग वीर अस्पतालमै पत्ता लाग्छ। फोक्सोसम्बन्धी धेरैजसो उपचार वीरसहित अन्य अस्पतालमा पनि छन् । भक्तपुर क्यान्सर अस्पताल, नेपाल क्यान्सर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा फोक्सोको क्यान्सर उपचार हुन्छ।

सुरुकै अवस्थामा पत्ता लागेका फोक्सोको क्यान्सर वीर अस्पतालमै अपरेसन हुन्छ। फोक्सोेको क्यान्सरको न्युटेसन परीक्षण पनि नेपालमै हुन्छ। धेरै बिरामी यहाँको उपचार लिएर निको भएका छन्। तर ढिला गरी आएका बिरामी जस्तो कि चौथो तहको फोक्सोको क्यान्सर भने निको पार्न सकिंदैन। तर फोक्सोको क्यान्सरको उपचार यहाँ र भारतका खासै फरक छैन।

प्रकाशित: २२ मंसिर २०७५ ०२:४५ शनिबार

श्वास–प्रश्वास फोक्सो रोग