स्वास्थ्य

घट्दै एचआइभी संक्रमण

विश्वव्यापी स्वास्थ्य समस्याका रूमपा रहेको एचआइभी/एड्सका कारण हुने मृत्यु र संक्रमण फैलने दर नोपलमा पनि घट्दै गएको पाइएको छ। ३०आैं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार विश्व एड्स दिवस मूल समारोह समितिले सञ्चारकर्मी माझ यस्तो तथ्य सार्वजनिक गरेको हो।

एक दशक अघिसम्म नेपाल तथा विश्वका विभिन्न देशमा बढिरहेको एचआइभी संक्रमण दर पछिल्लो समय घट्दै गएको समितिको दाबी छ।

सन् २०१७ को तथ्यांकअनुसार सन् २०१० को तुलनामा नेपालमा एचआइभी संक्रमण ६१ प्रतिशत घटेको छ भने बच्चाहरूमा यसको दर ६३ प्रतिशत कम भएको छ। यसैगरी सात वर्षमा एड्सका कारण हुने मृत्युदर २३ प्रतिशत घटेको छ।

सन् २०१७ को तथ्यांकअनुसार सन् २०१० को तुलनामा नेपालमा एचआइभी संक्रमण ६१ प्रतिशत घटेको छ भने बच्चाहरूमा यसको दर ६३ प्रतिशत कम भएको छ। यसैगरी सात वर्षमा एड्सका कारण हुने मृत्युदर २३ प्रतिशत घटेको छ।

सन् २०१७ सम्ममा नेपालमा एचआइभी संक्रमितको कूल संख्यामध्ये ५३ प्रतिशत बिरामी मात्र एन्टी रेट्रो भाइरस(एआरभी)औषधि सेवन गरिहेका छन्। नेपालमा एचआइभीको जोखिममा पर्ने समूहमा संक्रमणको जोखिम ५ प्रतिशत छ भने सामान्य जनमा १ प्रतिशत भन्दा कम छ।

विश्वभर एचआइभी संक्रमण तथा मृत्युदर पनि घटेको तथ्यांकले देखाएको छ। सन् २०१७ को अन्त्यसम्म विश्वभर ३ करोड ६९ लाख जनामा एचआइभी संक्रमण भएको अनुमान छ। विश्वमा यसको संक्रमण १६ प्रतिशत घटेको छ भने बच्चाहरूमा हुने संक्रमण दर पनि ३५ प्रतिशत कम भएको छ। यस्तै एचआइभी÷एड्सका कारण हुने मृत्यु ५१ प्रतिशत घटेको छ। सन् २०१७ भित्रमा विश्वभरका २ करोड १७ लाख मानिस मात्र एआरभी (एचआइभीविरुद्धको औषधि) उपचारमा छन्।

एक दशकदेखि निरन्तर जारी एचआइभी तथा एड्स नियन्त्रण कार्यक्रमका कारण नेपालसहित विश्वभर एचआइभी संक्रमण र एड्सबाट हुने मृत्यु घटेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक तारानाथ पोखरेलले जानकारी दिए।

उनका अनुसार रोजगारीका लागि भारत तथा अन्य विभिन्न देशमा जानेहरू, देशभित्रै पनि आफ्नो छाडेर विभिन्न ठाउँमा काम गर्न जानेहरू तथा समलिंगी र तेस्रो लिंगी नेपाली अझै एचआइभी संक्रमणको जोखिमममा छन्। यसैकारण यो समूहलाई लक्ष्य गरेर एचआइभी/एड्सविरुद्ध अभियान सञ्चालन गर्ने केन्द्रको तयारी छ।

‘आउँदो सन् २०२० सम्ममा एचआइभी संक्रमण दरलाई अझ घटाउँदै लाने लक्ष्य छ,’ पोखरेलले भने, ‘यसको रोकथाम, हेरचाह र उपचार व्यवस्था मिलाउने तयारीमा जुटिरहेका छौं।’

नेपालमा ३१ हजार २० जना एचआइभी संक्रमित भएको अनुमान छ। तीमध्ये १९ हजार २० पुरुष र १२ हजार महिला रहेको अनुमान गरिएको छ। हालसमम नेपालमा २१ हजार १ सय ४८ जनामा एचआइभी संक्रमण प्रमाणित भएको छ। जसमध्ये १६ हजार ४ सय २८ जनाले एआरभी लिइरहेका छन्।

नेपालमा ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कका कारण भएको पाइएको छ। नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा रहेका समूहभित्र सुईद्वारा लागूऔषध लिने, पुरुष समलिंगी, तेस्रो लिंगी, वैदेशिक रोजगारीमा जानेहरू तथा यौनकर्मीका ग्राहक पर्छन्।

विश्वको चुनौती बनिरहेको एचआइभी÷एड्सलाई न्यूनीकरण गर्न दिगो विकास लक्ष्य, एचआइभी÷एड्सविरुद्ध विभिन्न अभियान सञ्चालन भइरहेका छन्। यसै क्रममा यस वर्ष (आज) ‘एचआइभीको जाँच गरौं, आफ्नो अवस्था थाहा पाऔैं’ मूल नाराका साथ विश्वभर ३०आंै विश्व एड्स दिवस मनाइँदैछ।

जसअन्तर्गत नब्बे–नब्बे–नब्बे (तीन क्षेत्रमा एचआइभी संक्रमित ९० प्रतिशत झार्ने लक्ष्य)कार्यक्रम अघि सारिएको छ। उक्त कार्यक्रमअन्तर्गत आगामी दुई वर्षभित्र ९० प्रतिशत एचआइभी संक्रमितले आफ्नो अवस्था थाहा पाउने, ९० प्रतिशत संक्रमितलाई औषधि उपचारको पहुँचमा पु-याउने र ९० प्रतिशत संक्रमितको शरीरमा एचआइभी भाइरस घटाउने। यो लक्ष्यमा नेपालसहित विश्वका मुलुकले प्रतिबद्धता जनाइसकेका छन्।

विश्व एड्स दिवसका अवसरमा आयोजकहरूले एचआइभी संक्रमण र यसका कारण हुने मृत्यु दर घटाउन सबैको सहयोग आवश्यक हुने उल्लेख गरेका छन्। अझै पनि समाजमा एचआइभी संक्रमित र एड्स रोगीलाई हुने भेदभाव र घृणा गर्ने चलन चुनौतीका रूपमा रहेको जनाइएको छ। यसलाई घटाउन सके सन् २०३० को अन्त्यसम्ममा एड्सको महामारीलाई अन्त्य गर्न सकिने दाबी गरिएको छ।

आज ३०औं विश्व एड्स दिवस मनाइँदै
आज विश्व एड्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा देशका विभिन्न कार्यक्रम आयोजना गरिने राष्ट्रिय यौन रोग तथा एचआइभी एड्स नियन्त्रण केन्द्रले जनाएको छ।

नेपाल सरकारसहितको विश्व एड्स दिवस मूल समारोह समितिको आयोजनामा विभिन्न कार्यक्रम गर्ने केन्द्रले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

केन्द्रका अनुसार दिवसका अवसरमा काठमाडौंका विभिन्न स्थानमा एचआइभी परिक्षणका स्टलहरू राखिनेछन्। नयाँ बसपार्क, पुरानो बसपार्क, लखनखेल बसपार्क, भक्तपुरको सूर्य विनायक र त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज)  मा स्टल रहनेछन्। ती स्टलमा पुगेर जो कोहीले निःशुल्क एचआइभी परीक्षण गर्न पाउने आयोजकले जनाएको छ। दिवसकै अवसरमा राष्ट्रिय स्वास्थ्य तथा तालिम केन्द्रमा रक्तदान कार्यक्रम हुँदैछ। बुटवलमा पनि कन्सर्ट कार्यक्रम राखिने बताइएको छ।

प्रकाशित: १५ मंसिर २०७५ ०२:३३ शनिबार

विश्व_एड्स_दिवस एचआइभी