स्वास्थ्य

छारे रोगः किन लाग्छ, कसरी बच्ने ?

‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ। 

मस्तिष्कका नसामा आउने गडबडीका कारण शरीरमा देखिने समस्या हो– छारे रोग। मस्तिष्कको नसामा ट्युमर पलाउँदा, मस्तिष्क सुन्निँदा तथा मस्तिष्कमा रगत जम्दा दिमागमा चाहिनेभन्दा बढी विद्युतीय तरंग उत्पन्न हुन्छ। त्यही तरंगका कारण छारे रोगका लक्षण देखिन्छन्। यो रोग लागेपछि केही मिनेट या सकेन्डका लागि बेहोस हुने, काम्ने, मुखबाट फिंज काढ्ने, वान्ता हुने, मुर्छा पर्ने, लल्याकलुलुक हुने, केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन्।

पछिल्लो समय यस्ता रोगीको संख्या बढ्दै गएको न्युरोलोजिस्टहरू बताउँछन्। राजधानीस्थित वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइराला भन्छन्, ‘यो रोग पहिलेदेखि थियो, तर, पछिल्लो समय धेरै नै बढेको देखिन्छ।’ उनका अनुसार वीर अस्पतालको न्युरो मेडिसिन विभागमा दैनिक १ सय ३० जनासम्म उपचारका लागि आउँछन् जसमध्ये १० देखि १५ प्रतिशतसम्म छारे रोगी हुन्छन्। सातामा दुई पटक यो सेवा हुन्छ। 

यस्तै महराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको न्युरोलोजी विभागमा महिनामै सय जनासम्म छारे रोगी उपचारका लागि आउने गरेका छन्। विभागको तथ्यांकअनुसार कुल जनसंख्याको एक प्रतिशत मानिसलाई कुनै न कुनै प्रकारको छारे रोग लागेको हुन्छ। 

चिकित्सकका अनुसार यो रोग विभिन्न कारणले लाग्ने भए पनि पछिल्लो समय खानपानमा ख्याल नपुर्‍याउने तथा सवारी दुर्घटनामा पर्ने गरेका कारण बढेको हो। अस्पताल आउने बिरामीको स्थिति हेर्दा छारे रोग विपन्न वर्गमा बढी देखिएको छ । तर,  सम्पन्न वर्गका मानिस पनि यो रोगबाट अछूतो भने छैनन्। सबै उमेर समूहका मानिसमा यो रोग देखिएको चिकित्सक बताउँछन्। 

त्रिवि शिक्षण अस्पतालका न्युरोलोजी विभाग प्रमुख डा. राजेश कर्ण भन्छन्, ‘नेपालीहरूमा मस्तिष्कमा टेपवर्म (नाम्ले जुका) पुग्ने र दुर्घटनाका कारण हुने छारे रोग बढी देखिन्छ।’ उनका अनुसार नेपालमा छारे रोग पहिल्यैदेखि भए पनि उपचारमा आउने चलन बढेका कारण बढेको जस्तो देखिएको हो। ‘पहिले यस्ता बिरामी अस्पताल आउँदैनथे, अहिले धेरै आउँछन्,’ डा. कर्ण भन्छन्, ‘मैले मात्र सय जनाभन्दा बढी बिरामी हेर्छु।’

के हो छारे रोग ? 
चिकित्सकका अनुसार मस्तिष्कका नसामा आउने गडबडीका कारण शरीरमा देखिने समस्या हो– छारे रोग। मस्तिष्कको नसामा ट्युमर पलाउँदा, मस्तिष्क सुन्निँदा तथा मस्तिष्कमा रगत जम्दा दिमागमा चाहिनेभन्दा बढी विद्युतीय तरंग उत्पन्न हुन्छ। त्यही तरंगका कारण छारे रोगका लक्षण देखिन्छन्। यो रोग लागेपछि केही मिनेट या सकेन्डका लागि बेहोस हुने, काम्ने, मुखबाट फिंज काढ्ने, वान्ता हुने, मुर्छा पर्ने, लल्याकलुलुक हुने, केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन्। नदी, पोखरी या आगो भएका ठाउँमा यो रोगले छोप्यो भने पानीमा डुबेर एवं आगोमा जलेर बिरामीको मृत्यु हुनेजस्ता दुर्घटनासमेत निम्तिन सक्छन्। 

चिकित्सका अनुसार शरीरमा पोटासियम, क्याल्सियम, ग्लुकोजजस्ता तत्वहरूमा गडबडी आउँदा पनि छारे रोग लाग्छ। त्यसैगरी लागूऔषध तथा जाँडरक्सी खाने,  पक्षघात हुने, बढी अनिँदो बस्ने, समयमा खाना नखाने, तनाव बढी लिनेजस्ता कारणले पनि छारे रोग लाग्छ। 

मस्तिष्कमा चोटपटक लागेर रक्तश्राव भएमा पनि छारे रोग लाग्छ भने कतिपयलाई वंशाणुगत कारणले पनि यो रोग लाग्छ। शिक्षण अस्पतालका न्युरोलोजिस्ट डा. कर्णका अनुसार बच्चामा मेनेन्जाइटिस् र फेब्राइल फिवरका कारण मस्तिष्कको बनोटमा गडबडी आएर पनि छारे रोग लाग्छ। यसका लक्षण थरीथरीका हुन्छन्। कसैलाई मुर्छा पर्ने, काम्ने हुन्छ भने कसैमा छटपटिने, केही थाहा नपाउनेजस्ता लक्षण देखिन्छन्। 

यस्तो अवस्थामा गाउँघरमा मोजा/जुत्ता सुघाइँदिने गरेको पनि देखिन्छ। कतिपय पिछाडिएको समाजमा जथाभाबी जडीबुटी खुवाउने तथा धामी झाँक्री लगाउने चलन पनि छ। चिकित्सका अनुसार यी सबै गलत उपचार हुन्। न्युरोलोजिस्ट डा. कोइराला भन्छन्, ‘कामेर मुर्छा परेका बेला बिरामीलाई खुला ठाउँमा बायाँ कोल्टो पारेर सुताउनु पर्छ।’ 

खासगरी टेपवर्म(नाम्ले जुका)खानाको माध्यमबाट मस्तिष्कमा पुगेका कारण छारे रोग लाग्ने गरेको बढी पाइएको छ। ‘हामीकहाँ धेरैजसो मस्तिष्कमा जुका पसेको र चोटपटक लागेका बिरामी आउँछन्,’ डा.कर्णले भने। जन्मजात मस्तिष्क विकलांग भएर जन्मिनेहरूमा पनि छारे रोग लाग्छ। एक किसिमको छारे रोग जुन बच्चालाई लाग्यो भने केही क्षण मस्तिष्कले केही थाहा नपाउने हुन्छ। यस्तो दिनमा सयौंपटक पनि हुन सक्छ। आठ/नौ वर्षका बच्चालाई यस्तो छारे रोग लाग्यो भने पढाइ कमजोर हुँदै जान्छ। यस्तो अवस्थामा रोगको खास लक्षण देखिँदैन, बच्चाको मस्तिष्क छिन्–छिन्मा अ‍ेचत र बेहोस पनि हुँदैन। यस्तो छारे रोगलाई ‘अप्सेन्ट एपिलेप्सी’ भनिन्छ। 

काँचो सलाद, साग, धनियाँ तथा फोहोर पानीमा टेपवर्म(नाम्ले जुका) हुन्छन्। यस्ता चिज सीधै खाइयो भने यी जुकाका अन्डा हाम्रो पेटमा पुग्छन्, लार्भा बन्छन् अनि आन्द्रा प्वाल पारेर बाहिर निस्कन्छन्। बाहिर निस्केपछि रगतको माध्यमबाट शरीरका अन्य भित्री अंगहरूमा पुग्छन्। 

त्यसै क्रममा यो जुका मस्तिष्कमा पनि पुग्छ। मस्तिष्कमा बस्ने क्रममा यो जुका (टेपवर्म) केही दिन जीवितै रहन पनि सक्छ र केही समयपछि त्यहीं मर्छ। जुका मरेको मस्तिष्कको भागमा दाग बस्ने, सुन्निने गर्छ र त्यो भागमा अनावश्यक विद्युतीय तरंग आउँछ। यस्तो भएपछि जुनसुकै बेला छारे लाग्न सक्छ। टेपवर्म मस्तिष्कमा पुगेपछि कतिपयलाई पाँच/सात वर्षसम्म कुनै लक्षण नदेखिन पनि सक्छ भने कतिपयमा तुरुन्तै लक्षण देखिने चिकित्सक बताउँछन्। 

वीर अस्पतालका न्युरोलोजिस्ट डा. सुनिल कोइरालाका अनुसार फाहोर पानी पिउने, राम्रोसँग नपखालीकन काँचा सागपात तथा सलाद खाने, फाहोर होटल तथा पसलमा खाना–खाजा खाने मानिसलाई बढी टेपवर्मको समस्या बढी हुन्छ। यस्तै मममा प्रयोग गरिने काँचो धनियाँका अचार खाँदा पनि टेपवर्म शरीरमा प्रवेश गर्ने र छारे रोग लाग्ने उनी बताउँछन्। ‘घर बाहिर होटल तथा पसलमा खाने, काँचो सागपात एवं अशुद्ध पानीको प्रयोग गर्नेहरूमा यो रोगको जोखिम बढी हुन्छ,’ डा.कोइरालाले भने। 

त्रिवि शिक्षण अस्पतालका न्युरोलोजिस्ट डा. राजेश कर्णका अनुसार काठमाडौं उपत्यका एवं बाहिरी जिल्ला जहाँ खानेपानीमा दिसा मिसिएका हुन्छन् त्यस्ता ठाउँका मानिस बढी टेपवर्मका कारण छारे रोग लागेर उपचारमा आउने गरेका छन्। काठमाडौं उपत्यकामा विष्णुमती तथा वाग्मती लगायतका नदीमै मुला, गाँजर तथा साग पखालेर बेच्ने गरिन्छ। जसले मानिसमा टेपवर्म प्रवेश गरेर छारे रोगको जोखिम बढाएको डा. कर्ण बताउँछन्। यस्तै राजधानीका साना होटलहरूले पानी अभावका कारण भाँडाकुँडा एवं सागपात थोरै पानीले मात्र पखाल्ने भएका कारण टेपवर्म एवं छारे रोगको जोखिम रहेको उनको भनाइ छ। 

कहाँ हुन्छ छारे रोगको उपचार ? 
चिकित्सकका अनुसार पहिले–पहिले नेपालमा यो रोगको परीक्षण नै हुन्थेन। अहिले भने यो रोगका लागि विदेश गइरहनु पर्दैन। नेपालका केन्द्रीय अस्पतालदेखि क्षेत्रीय तहका सबै अस्पतालमा छारे रोगको परीक्षण तथा उपचार हुन्छ। न्युरोलोजी र फिजिसियन दुवैले छारे रोगको पहिचान तथा उपचार गर्न सक्छन्। छारे रोग कुन् कारणले लागेको हो त्यसको पहिचान गरी त्यहीअनुसार उपचार गर्नुपर्ने हुन्छ। जस्तो, शरीरमा पोटासियम÷क्याल्सियम गडबडीका कारण लागेको हो भने त्यसलाई सन्तुलनमा ल्याउने खालका उपचार गर्नुपर्छ भने जाँडरक्सी तथा लागूपदार्थ खाने, तनाव लिने, अनिँदो बस्नेजस्ता कारणले छारेर रोगको समस्या देखिएको हो भने यसलाई हटाउने उपचारमा लाग्नुपर्छ।

यसो गर्दा पनि भएन भने चाहिँ औषधि पनि सेवन गर्नुपर्छ। मस्तिष्क सुन्निएर, मस्तिष्कमा ट्युमर पलाएर या अन्य कारणले छारे रोगको समस्या देखिएको हो भने पहिले सिटी स्क्यान तथा एमआरआई गरेर परीक्षण गर्नुपर्छ। मस्तिष्कमा टेपवर्म पसेका कारणले छारे रोग लागेको भए कम्तीमा दुई वर्ष औषधि खानुपर्छ । यदि मस्तिष्कमा ट्युमर पलाएका कारण छारे रोग भएको हो भने शल्यक्रिया गर्नुपर्ने हुन्छ। धेरैजसो छारे रोग औषधि सेवनबाटै निको हुन्छन् भने १५ प्रतिशत रोगीलाई मात्र शल्यक्रिया गर्नुपर्ने चिकित्सक बताउँछन्। 

चिकित्सकका अनुसार यो रोग विभिन्न कारणले लाग्ने भए पनि पछिल्लो समय खानपानमा ख्याल नपुर्‍याउने तथा सवारी दुर्घटनामा पर्ने गरेका कारण बढेको हो

छारे राेगका लक्षण
–मुर्छा पर्ने
–हातखुट्टा काम्ने
–शरीर लल्याकलुलुक हुने 
–आँखा पल्टाउने 
–फिंज काढ्ने 
–जिब्रो टोक्ने
–बेहोस हुने, लड्ने 
–यी मध्ये एक/दुई लक्षण मिलेमा पनि छारे रोग भएको हुन सक्छ।  

छारे रोगबाट कसरी बच्ने ? 
–उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्र पिउने  
–टाउकोमा चोटपटक लाग्न नदिने 
–ज्वरो आउँदा समयमै उपचार गर्ने 
–काँचा साग, सलाद, फलफूल पोटास पानीले राम्रोसँग पखालेर मात्र खाने 
–ठीक समयमा सन्तुलित खाना खाने 
–अनिँदो नबस्ने 
–तनाव नलिने 

 

 

प्रकाशित: ९ भाद्र २०७५ ०२:४७ शनिबार

छारे_राेग डा._राजेश_कर्ण त्रिवि_शिक्षण_अस्पताल