स्वास्थ्य

वीरमा बिरामीको संख्या दोब्बर

काठमाडौं – पछिल्लो समय वीर अस्पतालमा आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ। अस्पतालले जनाए अनुसार गत वर्ष यही समयमा एक दिनमा एघार÷बाह्र सयमा बिरामी आउँथे भने यो वर्ष सो आँकडा दोब्बरले बढेको छ। अस्पतालको बहिरंग विभागमा हाल दैनिक २२ सय बिरामीले उपचार सेवा लिइरहेका छन्। ‘पहिला आइतबार पनि हजार/बाह्र सय जति मात्र बिरामी आउँथे, यो वर्ष बिरामीको संख्या बढेको छ,’ टिकट काउन्टरकी कर्मचारी शर्मिला केसीले बताइन्।

वीर अस्पतालका छाला रोग, युरोलोजी, चेस्ट क्लिनिक, ग्यास्ट्रोलोजी र न्युरोलोजी र मेडिसिन विभागमा बिरामीको बढी चाप बढेको छ। ‘युरोलोजी विभागमा पाँच बजेसम्म बिरामी जाच्न भ्याइनभ्याई छ,’ अस्पताल कर्मचारी भगवती थपलियाले भनिन्।

अस्पतालमा यो वर्षदेखि बिरामीको चाप ह्वात्तै बढेको हो। अस्पतालको भौतिक संरचना सुधार हुनु, अतिरिक्त उपचार सेवा बढ्नु, ल्याव परीक्षण तथा अन्य रोग निदान प्रक्रियाका उपकरणहरु बढ्नु, धुर्मुस–सुन्तली फाउन्डेशनले अस्पताल सफाइ अभियान चलाउनु, अस्पतालको संरचनागत सुधार हुनु, विशेषज्ञ सेवा संचालन हुनु जस्ता कारणले अस्पतालमा बिरामीको संख्या बढेको अस्पताल कर्मचारीहरु बताउँछन्।

अस्पतालले गत आर्थिक वर्ष १ अर्बको उपकरण खरिद गरेको थियो भने अस्पतालको शौचालय तथा ढल मर्मत, नगद काउन्टरको विस्तार, विद्युत्तीय टिकट काउन्टरको व्यवस्था, ज्येष्ठ नागरिक सेवाको विस्तार, अस्पतालको आफ्नै फार्मेसीलगायतका सुधारका काम गरेको थियो । सस्तोमा गुणस्तरीय उपचार पाइने कारण पनि वीरमा बिरामीको आकर्षण बढेको कर्मचारीहरु बताउँछन्। वीर अस्पतालको संरचना, उपकरण र सेवालाई विस्तार गर्दै गएपछि बिरामीको चाप बढेको उनीहरु बताउँछन्।

अस्पताल निर्देशक भूपेन्द्र बस्नेतका अनुसार चार वर्षको अवधिमा बिरामीको संख्या दोब्बर भएको छ। वर्ष ०७१ मा २ लाख ८७ हजार बिरामी वीरमा आएका थिए भने ०७३ बिरामीको संख्या ३ लाख १० हजार पुगेको थियो। ०७४ मा ३ लाख ८५ हजारले सेवा लिएका थिए ०७५ मा हालसम्म ४ लाख बिरामीले सेवा लिइसकेका छन्। अस्पतालमा सेवा, सुविधा विस्तार गरिएको र सस्तो तथा गुणस्तरीय सेवा दिइएकाले बिरामी बढेको निर्देशक बस्नेतको दाबी छ।

प्रकाशित: २८ श्रावण २०७५ ०३:२१ सोमबार

#वीर अस्पताल #बिरामी