स्वास्थ्य

केसीलाई जुम्लाबाट माला लगाएर विदाई गरियो

जुम्लाबाट विदाई हुँदै डा.केसी

जुम्लावासीले अनशनरत डा. गोविन्द केसीलाई माला लगाएर विदाई गरेका छन्। अनशनको बीसौं दिन सरकारले जुम्लामा बल प्रयोग गरेर डा. केसीलाई उठाउन खोजेपछि प्रतिरोधका बाबजुद उनी काठमाडौ आउन सहमत भएका हुन्।

जुम्लामा कर्फ्यु घोषणा गरेर सरकारले सर्वसाधारण र केसीका समर्थकहरुलाई निष्क्रिय पार्न खोजेपछि डा. केसीले गुन्डागर्दी गर्नुपर्दैन, अस्पताल तोडफोड गर्नुपर्दैन बरु म काठमाडौ जान्छु भनेका थिए।

‘यसरी गुन्डागर्दी गर्नुपर्दैन, अस्पताल तोडफोड गर्नुपर्दैन। यस्तो नरसंहार देख्नुभन्दा बरु म काठमाडौं जान्छु।’ डा. केसीलाई उद्धृत गर्दै उनका सहयोगी डा. विशाल दाहालले भने।

डा. केसी अनशनमा बसेको ठाउँमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वातावरण निकै तनावपूर्ण रहेको थियो।

डा. गोविन्द केसीलाई काठमाडौ नपठाउने भन्दै समर्थकले सुरक्षाकर्मीको प्रतिकार गरेका थिए। तर सुरक्षाकर्मीले लाठीचार्ज गरेर बीस जना घाइते बनाएपछि जुम्लाको माहोल तनावपूर्ण रहेको थियो। 

प्रकाशित: ३ श्रावण २०७५ ०९:४५ बिहीबार

केसीलाई जुम्लाबाट माला लगाएर विदाई गरियो