स्वास्थ्य

रजनोवृत्तिको नालीबेली

डिम्बाशयका क्रियाकलापमा कमी आएर प्रजनन् उमेरको अन्त्यताका स्थायीरूपमा महिनावारी बन्द हुने परिस्थितिलाई रजनोवृत्ति भनिन्छ । यो क्रममा लगातार कम्तीमा १२ महिनासम्म महिनावारी हुँदैन । नेपालमा सामान्यतया ४० वर्ष देखि ५५ वर्ष (औसतमा ५० वर्ष) सम्ममा नेपाली महिलाको महिनावारी सुक्ने गरेको छ । महिलाको उमेर घर्केपछि डिम्बाशयमा डिम्ब निख्रिनाले तथा टाउकोभित्रको हाइपोथालामस, पिट्युटरी ग्रन्थीदेखि पाठेघरको भित्री तहको आ–आफ्नो काममा शिथिलता आउनाले महिनावारी सुक्छ । तर, महिनावारी सुरु हँुदाको उमेर वा पछिल्लोपटक गर्भवती भएकोसँग रजनोवृत्ति सम्बन्धित छैन ।

त्यसैगरी गर्भको संख्या, स्तनपानको अवधि, पिल्स चक्कीको सेवन, सामाजिक तथा आर्थिक अवस्था, जाति, उचाइ, तौलसँग पनि यसको सम्बन्ध छैन । तर पनि पातलो ज्यान भएकी, कडा खालको कुपोषण भएकी तथा धूमपान गर्ने महिलामा चाँडै रजनोवृत्ति हुनसक्छ । 

४० वर्षमुनिका महिलामा महिनावारी सुक्नुलाई चाँडै रजनोवृत्ति, ५५ वर्षपछि महिनावारी सुक्नुलाई ढिलो रजनोवृत्ति भनिन्छ । पाठेघरमा मासु पलाएमा, मधुमेह, कतिपय डिम्बाशयको ट्युमरमा ढिलो रजनोवृत्ति हुन्छ भने पाठेघर निकाल्ने वा अन्य शल्यक्रियाका क्रममा दुवै डिम्बाशय निकालेमा वा विकीरणका कारणले कृत्रिम रूपमा रजनोवृत्ति निम्तिन्छ ।

विश्वमा अन्यत्र जस्तै नेपाली महिलाको औसत आयुको वृद्धिसँगै रजनोवृत्तिपछि पनि एक तिहाई जीवन बाँकी हुने हुँदा यस अवधिमा लामो समयसम्म इस्ट्रोजेन हर्मोनको अभावमा विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । इस्ट्रोजेन हर्मोनको अभावमा पाठेघरलाई भर दिने मांसपेशी तथा बाक्लो तन्तु पनि खुकुलो हुन गई आङ खस्ने लगायत पिसाब थैली झोलिने, पिसाब राम्ररी ननिख्रने समस्या उत्पन्न हुन बेर लाग्दैन ।

रजनोवृत्तिपछि डिम्बाशय सुक्छ, चाउरिन्छ । पाठेघर, डिम्बवाहिनी नली, योनीद्वार साँगुरिन्छ । यी अङ्गका लचकपना घट्छ । यसको बाह्य सतह पातलिन्छ । डोडेरलेन नामक ब्याक्टेरियाको अभावमा योनीद्वारको क्षारियपना बढ्न गई स्त्री जनेन्द्रियको संक्रमणको खतरा बढ्छ । स्तनमा बोसोको मात्रा घट्न गई आकार सानो हुन्छ । यसकारण स्तन झोलिने हुन्छ । रजनोवृत्ति भएकी महिलाको छाला चाउरिने, चाँडै असर पुग्ने, संक्रमण हुने हुनसक्छ ।

रजनोवृत्तिपछि हड्डी कमजोर हुने, हड्डी त्यत्तिकै भाँचिने, हृदयाघात हुने, मुटुका रक्तनलीको समस्या हुने, मस्तिष्काघात हुने सम्भावना बढ्छ । सामान्यतया हड्डीको निर्माण तथा क्षय महिलाको उमेर, इन्डोक्राइन क्रियाकलाप, पोषण तथा वंशाणुगतमा भर पर्ने भए पनि रजनोवृत्तिपछिको प्रतिवर्ष ३ देखि ५ प्रतिशत हड्डीको मात्रा घट्छ । इस्ट्रोजेनको अभावमा रजनोवृत्तिपछि कोलेस्टेरोलको मात्रा तथा हानिकारक लिपोप्रोटिन बढ्ने, फाइदाजनक लिपोप्रोटिन घट्ने, रक्तनलीको भित्ताको बाक्लोपना बढ्ने, कडा हुने, रक्तनलीभित्रै रगत जम्ने समग्रमा मुटुसम्बन्धी समस्या बढ्न सक्छ ।

रजनोवृत्ति अगाडि महिनावारी गडबडी हुने वा महिनावारी एक्कासि बन्द हुनसक्छ । यस क्रममा बग्ने रगतको मात्रा कम हुँदै जाने वा अधिक मात्रामा रगत बग्ने वा धेरै समयको फरकमा महिनावारी (अनियमित) हुनसक्छ ।  

रजनोवृत्ति लगत्तै कतिपय महिलालाई बेलुकी गर्मी महसुस हुने, पसिना आउने, निन्द्रा लाग्न गाह्रो हुने, मुटुको ढुकढुकी बढ्ने, नाडी छिटो चल्ने हुनसक्छ भने यौनसम्पर्कका क्रममा बढ्ता पीडा हुने हुनसक्छ । यस्तो महिलामा हाँस्दा, खोक्दा वा गह्रुँगो भारी उठाउँदा पिसाब छुट्ने तथा पिसाब पोल्ने, पटक–पटक पिसाब लाग्ने हुनसक्छ । यसका साथै चिन्ता हुने, टाउको दुख्ने, निद्रा नलाग्ने, चिडचिडाहट हुने, उदास हुने हुनसक्छ ।

रजनोवृत्ति भएकी महिलाको रगत जाँचमा इस्ट्राडिओलको मात्रा २० पिको ग्राम प्रतिमिलि भन्दा कम, फोलिकुलर स्टिमुलेटिङ हर्मोन तथा ल्युटेनाइजिङ हर्मोनको मात्रा ४० मिलि इन्टरनेसनल युनिटभन्दा बढी हुनसक्छ । 

बढी उमेर, एसियन तथा गोरा जाति, इस्ट्रोजेनको अभाव, कम शारीरिक तौल, चाँडै रजनोवृत्ति, खानामा क्याल्सियम भिटामिन ‘डी’को कमी, क्याफिन तथा धूमपान बढी सेवन गर्ने रजनोवृत्ति भएकी महिलामा मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्याको जोखिम बढी हुन्छ भने हेपारिन वा कोर्टीकोस्टेरोइड सेवन, थाइरोइड समस्या, पाचन गडबडी भएकीमा हड्डी कमजोर हुन्छ ।

रजनोवृत्ति उमेर पुग्न लागेका तथा भैसकेकी महिलालाई पोसिलो खानाका साथै थप क्याल्सियम, नियमित व्यायामलगायत भिटामिन ‘डी’, बाइफोस्फेट, फ्लोराइड, क्याल्सिटोनिन, थप हर्मोनको जरुरत पर्न सक्छ । यसका साथै यदि उक्त महिलामा उच्च रक्तचाप, धूमपान, उच्च कोलेस्टेरोल, मधुमेह छ भने थप उपचारको जरुरत पर्छ ।

प्रकाशित: २ असार २०७५ १०:३० शनिबार

रजनोवृत्तिको नालीबेली नागरिक परिवार