स्वास्थ्य

युवाहरू मुटुरोगको उच्च जोखिममाः डा.अनिल (भिडियाे)

डा.ओम मूर्ति अनिल

काठमाडौं – मुटु रोग विषेशज्ञ डा.ओम मूर्ति अनिलले नेपालको शहरी क्षेत्रमा मुटु रोगीको संख्या वृद्धि भइरहेको बताएका छन्।

नागरिकसँग कुरा गर्दै अनिलले पछिल्लो सयम मानिसमा जुन गतीले मुटुरोगको जोखिम बढिरहेको छ त्यसले भविष्यमा ठूलो असर गर्ने बताए। उच्च रक्तचाप, कोलिष्ट्रोल, धुम्रपान, मदिराको सेवन, मानसिक तनाव, वातावरणीय प्रदुषण र मोटोपनले यसको जोखिम बढिरहेको अनिलको भनाई छ।

पछिल्लो समय युवाहरू मुटुरोगको उच्च जोखिममा रहेको भन्दै डा.अनिलले भने,“आजका युवाहरू विशेष गरेर अस्वस्थ जीवन, धुम्रपान, मद्यपान तथा मोटोपनको शीकार भइरहेका छन्। यसले मुटुरोगको जोखिम निम्त्याएको छ।” सन् २०१४ मा गरिएको एउटा अनुसन्धानमा ९९ प्रतिशत युवाहरूमा कुनै न कुनै मुटुरोगको कारण देखिएको उनले बताए।

१७ देखि ४० वर्ष उमेर समूहका युवाहरूमा मुटुरोगको जोखिम ज्यादै रहेकाले यसको रोकथामका लागि समयमै सचेत बन्नुपर्ने उनको भनाई थियो। अनिलले भने, “मुटुरोग आश्चर्यमान्नु पर्ने विषय होइन तर यसलाई आफैंले आत्मासात गर्दै अहिले देखिनै जीवनशैलीलाई  नियन्त्रणमा राख्न जरुरी छ।”

मुटुरोगबाट बच्न समय समयमा अस्पतालमा गइ जाँच गर्न र धुम्रपान, मद्यपान, उच्च रक्तचाप, कोलिस्ट्रोलबाट टाढा बस्न डा.अनिलले सुझाव दिए। चिकित्सकहरूको सल्लाहअनुसार औषधि खाने, दैनिक २० मिनेट व्ययाम गर्ने, शरिरको तौललाई नियन्त्रणमा राख्ने, घर बाहिर र बजारमा प्याक गरेका खानेकुरा कम खाएमा मुटुरोगको जोखिमबाट बच्न सकिने उनको भनाई थियो।

प्रकाशित: २० वैशाख २०७५ ०९:४६ बिहीबार

युवाहरू मुटुरोगको जोखिममाः डा.अनिल भिडियाे