स्वास्थ्य

सूर्य टोबाकोलाई कारबाहीकाे तयारी, सूर्तिजन्य पदार्थको कर पनि बढ्ने

काठमाडौं- स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ। 

राजधानीमा शनिबार आयोजित “जनस्वास्थ्य प्रवद्र्धनः सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन” विषयक अन्तरक्रियामा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सूर्य टोबाकोले ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक रंगीन चित्र छाप्न तथा अंकित गर्न अटेर गरेकाले कारबाही प्रक्रिया शुरु गर्न लागिएको बताइन।

सरकारले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, -यापर्सपेटी तथा पार्सलमा ९० प्रतिशत चेतनामूलक सन्देश चित्र अङ्कित गर्नुपर्ने वाध्यकारी कानुन कार्यान्वयनमा ल्याएको चार वर्ष बित्दा पनि सूर्य नेपालले कार्यान्वयनमा अटेरी गर्दै आएको छ। 

मन्त्रालयले उक्त नियम सूर्य टोबाकोलाई पटकपटक जानकारी गराउँदा पनि नियम पालन नगरेकाले मन्त्रालयले एक साताभित्र कारबाही गर्न तयारी गरेको हो। 

राज्यमन्त्री अर्यालले कानुन सबैका लागि बराबर हुने बताउँदै भनिन, “अरु कम्पनीले कानुन पालना गर्न हुने सूर्यले नगर्ने के कारण हो, चार वर्ष बित्दा पनि किन कानुन पालना भएन, कसले संरक्षण गरेको छ, एक साताभित्र कारणसहित कारबाही प्रक्रियामा ल्याउछौँ।” 

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ लाई कार्यान्वयन गर्न २०७२ जेठ १ देखि निर्देशिका बनाई कार्यान्वयनमा ल्याएको हो। 

स्वास्थ्य राज्यमन्त्री अर्यालले सूर्तिजन्य पदार्थको करमा पनि वृद्धि गर्न तयारी थालेको जानकारी दिइन। उनले मन्त्रालयले त्यसका लागि चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने प्रस्ताव तयार पारेको र छिटै अर्थ मन्त्रालयमा पठाइने बताइन। 

सरकारले हाल चुरोट तथा सूर्तीजन्य पदार्थमा २८ प्रतिशत मात्र कर लगाउदैँ आएको छ जुन दक्षिण एशियामै सबैभन्दा कम हो। ‘दक्षिण एसियाभरिमै नेपालमा सूर्तीजन्य पदार्थको कर निकै कम लगाइएको छ, किन त्यस्तो ? हामीले कर किन नबढाउने भनेर ७० प्रतिशत कर लगाउने प्रस्ताव अर्थ मन्त्रालयमा जान्छ,’ उनले भनिन।

प्रकाशित: १५ वैशाख २०७५ १६:४५ शनिबार

सूर्य टोबाकोलाई कारबाहीकाे तयारी सूर्तिजन्य पदार्थको कर बढ्ने