मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक, निजी तथा पोलिक्लिनिक गरी १९ वटा अस्पतालको अनुगमन गरेका छन्।
बिहीबार साँझ अनुगमनका क्रममा अवैध र अनधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्। सेवा सञ्चालन अनुमति लिएका तीन निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिए।
प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार प्रादेशिक अस्पतालमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएपछि मुख्यमन्त्री सिंहले खाना खुवाउने क्यान्टिन नै परिवर्तन गर्न प्रादेशिक अस्पतालका प्रमुखलाई निर्देशन दिएका छन्। प्रादेशिक अस्पतालका आकस्मिक कक्षका लागि निर्धारित जनशक्ति पूर्णतामा परिचालन गर्न र अन्तरङ्ग कक्षमा लेखिएका एम्बुलेन्स चालकका नाम मेटाउन पनि निर्देशन दिए।
मुख्यमन्त्री सिंहले अस्पताल अनुगमन गरिरहेको हल्ला फैलिएपछि मलंगवा बजारका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालक तथा कर्मचारी फरार भएका थिए। 'चार–पाँच बाहेक सबै निजी स्वास्थ्य संस्थामा ताल्चा लागेको पाइयो, तीमध्ये तीन वटासँग मात्र नवीकरण नभएका सेवा सञ्चालन अनुमति पत्र फेला परे,' स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले भने।
अनुगमनका क्रममा जयश्री ओम हेल्थ केयर प्रालि, श्री तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र श्री बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गराउन निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए। उनका अनुसार मलंगवास्थित मैक्स हस्पिटल, श्री मिथिला डेन्टल क्लिनिक, श्री दिनकर अस्पताल, श्री रामावतार पेन पारालाइसीस सेन्टर, श्री क्ल्याण हेल्थ केयर, श्री शीतल डेन्टल केयर प्रालि, श्री चन्द्रकला पोलिक्लिनिक, श्री इन्डो नेपाल आँखा अस्पताल, श्री कान्तिपुर डेन्टल एवं एक्सरे क्लिनिक, श्री प्रेमा हेल्थ क्लिनिक, श्री सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, श्री गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, श्री सिद्धिदाता हेल्थ केयर प्रालि र श्री देवश्री पोलिक्लिनिक प्रालिलाई बन्द गर्न निर्देशन दिइएको छ।
बिहीबारको अनुगमनसँगै मुख्यमन्त्री सिंहले जनकपुरधाम, महोत्तरीको बर्दिवास, सर्लाहीको हरिवन, रौतहटका चन्द्रपुर र गरुडा, पर्साको वीरगन्जसहितका ठाउँमा ११४ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन्। सो क्रममा ७३ वटा निजी स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिइएको छ। २३ वटालाई नवीकरण गर्न निर्देशन दिइएको छ भने १५ वटा अस्पताल सञ्चालन वैध रहेको पाइएको छ।
प्रकाशित: १ चैत्र २०८१ ०६:४१ शुक्रबार