स्वास्थ्य

मधेस : अवैध अस्पतालको प्रदेश

सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की पविताकुमारी राय यादव पेट दुख्ने समस्याले हैरान थिइन्। स्थानीय स्तरमा उपचार गराउँदा बिसेक नभएपछि परिवारले उनलाई थप उपचारका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाम लग्यो। जनकपुरधामस्थित सूर्या अल्ट्रासाउन्डमा जाँच गराउँदा पित्तथैलीमा पत्थरी भएको देखिएकाले शल्यक्रिया गराउन सुझाइयो। 

यसका लागि जनकपुरधाम उपमहानगरपालिका–१४ पिडारी चोकस्थित मुस्कान अस्पताल जान अल्ट्रासाउन्डका स्टाफले सल्लाह दिएको पीडित परिवारको भनाइ छ। मुस्कान अस्पतालमा चिकित्सकले माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि बेहोस पविताको अझसम्म होस नफर्केको परिवारजनको भनाइ छ।

पविताका पिता ब्रह्मदेवका अनुसार पेट दुख्ने समस्याको उपचार गराउन ल्याइएकी छोरीले शल्यक्रियापछि आँखै खोलेकी छैनन्। सुरुमा जनकपुरधामको सूर्या अल्ट्रासाउन्डमा काम गर्ने सुशीलकुमार यादवले पित्तथैलीमा पत्थरी देखिएकाले शल्यक्रिया गर्नुपर्ने भन्दै मुस्कान अस्पताल पठाएको ब्रह्मदेवको भनाइ छ। 

उनले अस्पताल र डाक्टरहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषा, नेपाल मेडिकल काउन्सिललगायतमा उजुरी दिएका छन्। ‘अस्पतालले आफूसँग सुविधा नभएको र आफूले उपचार गर्न नसक्ने बिरामीलाई सुरुमै भर्ना नलिनुपर्नेमा सोको विपरीत निजले लापरबाहीपूर्ण तवरबाट बिरामीको उपचार गरी बिरामीलाई असहज अवस्थामा पुर्‍याइदिएकाले अन्यायमा परी यो निवेदन पेस गर्न आएको छु,’ उजुरीको व्यहोरामा उल्लेख छ।

ब्रह्मदेवले भने, ‘शल्यक्रियापश्चात पबितालाई भेन्टिलेटरमा राखियो। कुनै सुधार नआएपछि सिटिस्क्यान गराउन अस्पतालले बाहिर पठायो। र, सिटिस्क्यान गराएपछि पवितालाई स्नायुसम्बन्धी समस्या रहेको भन्दै अन्तै लगेर उपचार गराउन भन्यो। त्यसपछि माघ ६ गते जानकी हेल्थ केयरमा लगेर भेन्टिलेटरमा राखियो। तर, त्यहाँँ पनि अहिलेसम्म पविताको होस आएको छैन।’

शल्यक्रियामा संलग्न डा. ज्ञानकुमार साहले लापरबाही नगरेको र छारे रोगले च्यापेपछि पविता जटिल अवस्थामा पुगेको दाबी गरेका छन्। ‘उपचारमा कुनै लापरबाही भएको छैन। यसैबीच, मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंहले मुस्कान अस्पताल प्रालि बन्द गर्न निर्देशन दिए। शुक्रबार राति मुस्कान अस्पताल पुगेका मुख्यमन्त्री सिंहले अस्पतालका सञ्चालक सैयद अलीलाई अस्पताल बन्द गरी सरकारलाई साँचो बुझाउन निर्देशन दिएका हुन्। मुस्कान अस्पताल बन्द गरेर सञ्चालकले सरकारलाई साँचो हस्तान्तरण गरेका छन्। अस्पतालका बिरामीहरूलाई जानकी हेल्थ केयरमा सारिएको छ।

राजधानीमै अवैध अस्पतालको बिगबिगी
शुक्रबार र शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा सञ्चालित २० वटा निजी अस्पतालको अनुगमन गरे। जसमध्ये १९ वटा अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पाइयो। मुख्यमन्त्री सिंह नेतृत्वको अनुगमन टोलीले जीवनज्योति अस्पताल एन्ड रिसर्च सेन्टर, बिएन अस्पताल एन्ड रिसर्च सेन्टर, जनकपुर सीता अस्पताल, जनकपुर ग्राउबलश्रअस्पताल प्रालि, साइन मल्टिस्पेसियालिटी अस्पताल एन्ड ट्रमा सेन्टर, राम मेमोरियल अस्पताल प्रालि, समर अस्पताल, केयर मेडिकल सेन्टर, नेपाल अपोलो अस्पताल, मिथिला केयर क्लिनिक, जनकपुर मोर्डन अस्पताल एन्ड रिसर्च सेन्टर प्रालि र माँ गायत्री मेमोरियल अस्पताल प्रालि कतै पनि दर्ता नभई सञ्चालनमा रहेको अनुगमन टोलीले जनाएको छ। 

यस्तै, म्याक्स अस्पताल एन्ड रिसर्च सेन्टर प्रालि, स्वितिका हेल्थ केयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि, ओम दीर्घायु अस्पताल प्रालि, अरमान अस्पताल, नैनाँ अस्पताल र मिहिला इन्टरनेसनल अस्पताललगायत निजी अस्पतालको अनुगमन गरिएको थियो। जसमध्ये म्याक्स अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिको मात्र कागजात दुरुस्त रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए। 

मुख्यमन्त्री सिंहले अधिकांश अस्पताल दर्ता नगरी सञ्चालनमा रहेको र केही अस्पतालले दुईदेखि चार वर्षसम्म नवीकरण नगरेको भेटिएको जानकारी दिए। मधेस प्रदेशको राजधानी जनकपुरधाममा सञ्चालित थुप्रै अस्पतालमा लापरबाहीका घटना बाहिरिएका छन्। उपचारमा लापरबाहीका कारण धेरैले अकालमै ज्यान गुमाउन बाध्य भएका छन्। तर, यी अस्पतालमाथि कारबाही गर्ने निकाय सधैं चुपचाप बसे। अस्पतालको बेथिति नियन्त्रण गर्न मुख्यमन्त्रीले नै पहलकदमी लिएको मधेस प्रदेशमा यो पहिलो हो। मुख्यमन्त्रीको यो कदमले स्वास्थ्य क्षेत्रको भद्रगोल र लापरबाहीमा लगाम लाग्ने आमजनको अपेक्षा छ।

हुन त मधेस प्रदेशको राजधानी जनकपुरधामको न्युरो अस्पताल, समर, नैना, गोदाबरी, रामजानकी, सुरक्षा अस्पताललगायतमा उपचारको क्रममा बिरामीको मृत्यु र लापरबाहीका घटना बाहिरिने गरेका छन्। तर, यी घटना रकम लेनदेनमा मिलापत्र गरिए। प्रहरी प्रशासनले छानबिन गरी दोषीलाई कारबाही गर्नुको साटो मिलापत्र गराउने र दोषी उम्काउनेमा भूमिका खेल्दै आएको घटनाक्रमबाट पाइएको छ। मधेस प्रदेशको राजधानी जनकपुरधाममा बग्रेल्ती खुलेका गैरकानुनी तथा मापदण्डविपरीतका अवैध अस्पतालमा स्वास्थ्य सुरक्षाका लागि पुग्ने बिरामीहरू प्राण हरण भएका उदाहरण प्रशस्त छन्।

गतवर्ष पुस १२ गते पाठेघरको उपचार गराउन जनकपुरस्थित समर अस्पतालमा भर्ना भएकी सबैला नगरपालिका–१३ पर्साहीकी ममता कापर (३५) फर्केर घर आइनन्। छोरा रूपेशसँग मोटरसाइकलमा पाठेघरको उपचार गराउन पुगेकी ममताले पुस १३ गते अस्पतालमै प्राण त्यागिन्। चिकित्सकले शल्यक्रिया गरेर पाठेघर हटाए पीडाबाट मुक्ति पाउने सल्लाह दिएपछि उनी राजी भएकी थिइन्। 

चिन्ता लिनुपर्दैन सामान्य शल्यक्रिया गरेर पाठेघर झिकिदिन्छौं भनेपछि उनमा आँट आएको थियो। प्रसूति व्यथा लागेपछि गत वर्ष भदौ २४ गते जनकपुरधामस्थित नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमान नगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो। उनी दोस्रो पटक सुत्केरी हुँदै थिइन्।

यी घटना भइरहँदा यो अस्पताल बिनादर्ता मधेस प्रदेशको राजधानी जनकपुरधामको रमानन्द चोकमा सञ्चालित छ। अस्पतालको दर्ता, नवीकरण, अनुगमन र कारबाहीको अधिकार राख्ने मधेस प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रालय (हालको स्वास्थ्य मन्त्रालय) र मातहतको प्रदेश स्वास्थ्य निर्देशनालय सो अस्पतालबारे अनभिज्ञ थिएन। तर, कसैले कारबाही गर्ने हिम्मत गरेनन्।

यी घटना मधेस सरकारको मुख्यालय रहेको जनकपुरधामकै भए पनि अनुसन्धान तथा कारबाही हुन सकेन। यसले मधेस सरकार र राज्यलाई नै गिज्याइरह्यो। मानिसको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेकै स्वास्थ्य हो। तर, मधेस प्रदेशमा सञ्चालित निजी अस्पतालमा पटकपटक बिरामीको ज्यानसँग खेलबाड हुँदा पनि सरकार निरीह दर्शक बन्नु विडम्बना हो भन्दै रमानन्दचोकस्थित चियापसलमा भेटिएका सैलेश साहले भने, ‘सरकारले कुनै कारबाही नगरेकै कारण यहाँ गलत गर्नेहरूको मनोबल बढ्दै गएको हो। स्वास्थ्य मन्त्रालयमातहतका यी स्वास्थ्य संस्थामा सम्बन्धित मन्त्रालयबाट कारबाही नभएपछि मुख्यमन्त्री आफैं मैदानमा उत्रिनुभएको छ,’ उनले भने, ‘राम राजै त नहोला तर मुख्यमन्त्रीको अभियान सफल भए धेरै निर्दोषको ज्यान जोगिनेछ।’ 

मधेस प्रदेशमा स्वास्थ्य सेवा बेलगाम हुँदा फस्टाएको दण्डहीनताले सर्वसाधारण बिरामीको जीवनलाई मूल्यहीन बनाउँदै छ। पोलिक्लिनिक, क्लिनिक र मेडिकेयर सेन्टरले बिरामीलाई पहिलो चरणको सामान्य उपचारभन्दा भर्नासहित २४ घण्टा राखेर उपचार गर्न नपाउने कानुनी व्यवस्था छ। तर मधेस प्रदेशको राजधानी जनकपुरधाम मात्र नभई धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पोलिक्लिनिक र मेडिकेयर सेन्टरले बिरामी भर्ना गरेर उपचार, शल्यक्रिया, गर्भपतनलगायत सबै काम खुलेआम गरिरहेका छन्। नियामक निकायसँगको सेटिङमा फस्टाएको अवैध धन्दाका कारण मधेसका आमजनताको ज्यान जोखिममा पर्दै आएको छ।

प्रकाशित: २९ माघ २०८१ ०६:३७ मंगलबार

#Madesh_Province #NagarikDaily