चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले चितवनमा बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका छन् । निःशुल्क सेवा दिने उद्देश्य सहित डाक्टर केसीले भरतपुर अस्पतालमा बसेर बिरामीको स्वास्थ्य परीक्षण गरिरहेका गरिरहेका हुन् ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार डा. केसीले छ दिनदेखि बिरामीको स्वास्थ्य उपचार गरिरहेका छन् । ‘उहाँले ओपिडी र वार्डमा भर्ना भएका बिरामी हेरिरहनुभएको छ’, डा.पौडेलले भने ‘उहाँ बुधबारदेखि बिरामीको सेवामा लाग्नुभएको छ ।’
डा.केसी वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ हुन् । उनले देशका ७७ जिल्लामा पुगेर बिरामीको स्वास्थ्य उपचार गरिसकेका छन् । चितवनका बिरामीलाई सेवा दिनका लागि भरतपुर अस्पतालमा आएको डा. केसीले बताए । ‘म उपचारका गर्न विभिन्न जिल्ला गइरहेको हुन्छु । देशका सबै जिल्ला पुगिसकेको छु,’ उनले भने ‘अहिले चितवनमा सेवा दिन सकिन्छ कि भनेर आएको छु ।’ भरतपुर अस्पतालमा अझै एक साता रहने उनले बताए । यहाँबाट आफुले सिक्ने र चिकित्सकलाई सिकाउने अवसर प्राप्त समेत भएको उनले बताए ।
सत्ताइस वर्ष शिक्षण अस्पतालमा काम गरेका केसीले तीन दशकभन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेका छन् । त्यसबाहेक केसीले युद्ध ग्रस्त र भूकम्प जस्ता प्राकृतिक विपत्तिमा परेका १० वटा देश पुगेर बिरामीलाई उपचार र औषधि उपलब्ध गराएका छन् । आफ्नो ज्ञान सिप सदुपयोग गर्नका लागि विभिन्न जिल्लामा पुग्ने गरेको उनले बताए । उनले असल चिकित्सक बन्न समेत अन्य चिकित्सकलाई अनुरोध गरेका छन् ।
प्रकाशित: १५ माघ २०८१ १४:२९ मंगलबार