स्वास्थ्य

विपन्न एकल महिलालाई कटारीले निःशुल्क बिमा गरिदिने

कटारी नगरपालिकाको भवन। तस्बिरः नागरिक

उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। विपन्न परिवारका एकल महिलाहरूको स्वास्थ्य उपचारमा सहज बनाउने उद्देश्यले नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिन भएको हो।

जसका लागि नगरपालिकाले चालु आर्थिक वर्षदेखि नै कार्यक्रम सञ्चालन गर्न लागेको छ। नगरभित्रका विपन्न एकल महिलाको पहिचान गरी उनीहरूलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय भएको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। विपन्न एकल महिलाको स्वास्थ्य उपचार सहज र सरल बनाउने उद्देश्यले निःशुल्क विमा कार्यक्रम ल्याएको उनले बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाका अनुसार नगरपालिकाभित्र १ हजार १ सय ७० जना एकल महिला लाभग्राही छन्। जसमध्ये अति विपन्न एकल महिलाको सङ्ख्या तीन सय रहेको छ। उनीहरूलाई स्वास्थ्य बिमाको माध्यमबाट उपचारमा पहुँच पुर्याउनका लागि नगरकार्यपालिकाको बैठकबाटै यस्तो निर्णय गरिएको निरौलाले बताए।

कार्यपालिका बैठकले विपन्न एकल महिलाहरूको वार्षिक १ लाखसम्मको निःशुल्क बिमा गर्ने निर्णय गरेको छ। बिमा गरेपछि हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा वार्षिक १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार सेवा पाउने नगरपालिकाले जनाएको छ। निरौलाका अनुसार यो कार्यक्रमका लागि नगरपालिकाले तत्काल १० लाख बजेट छुट्याएको छ।

नगर उपप्रमुख गीता खड्काले नगरकार्यपालिका बैठकको यो निर्णयले विपन्न एकल महिलालाई स्वास्थ्य उपचार सेवामा पहुँच पुग्ने बताइन्। गरिबीकै कारण उपचार नपाएर ज्यान गुमाउन नपरोस् भनेर यस्तो निर्णय गरेको उनले बताइन्। स्वास्थ्य बिमा कार्यक्रमले उक्त समस्याबाट छुटकारा पाउने उद्देश्य पनि नगरपालिकाले लिएको उनको भनाइ छ।

‘यो निर्णयले विपन्न एकल महिलालाई निकै राम्रो सहयोग गर्ने नगरपालिकाको विश्वास छ,’ उपमेयर खड्काले भनिन्, ‘यो पहिलो कार्यक्रम सफल भएपछि आगामी दिनमा अन्य यस्तै जनमैत्री कार्यक्रमहरू पनि विस्तार गर्दै जानेछौँ।’ 

नगरपालिकाको एकल महिलामैत्री कार्यक्रम गर्ने दौरानमा यो योजना अघि सारिएको उनले बताइन्। यो कार्यक्रमले विपन्न वर्गका महिलाहरूलाई स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नुका साथै उनीहरूको स्वास्थ्य अवस्थामा सुधार आउने विश्वास उनको छ।

प्रकाशित: १० माघ २०८१ १०:४४ बिहीबार

#Health insurance