स्वास्थ्य

‘एयर एम्बुलेन्स’ मा सघाउन सेनासँग स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आपत्कालीन अवस्थामा नागरिकको उद्धारका लागि सेनाको एयर एम्बुलेन्सबाट उद्धारमा सघाउन सेनासँग आग्रह गरेका छन्।

प्रहरी महानिरीक्षक वसन्त कुँवर र सैन्य अधिकारीहरूसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरूसँगको बैठकमा मन्त्री पौडेलले यस विषयमा छलफल गरेका हुन्।

‘एयर एम्बुलेन्सका लागि सेनासँग कसरी सहकार्य गर्न सकिन्छ, हामी खुला छौं,’ उनले भने। पौडेलका अनुसार यस कदमले उपचार र उद्धार अभावका कारण अप्ठेरोमा परेका नागरिकहरूको जीवन जोगाउन मद्दत पुर्‍याउनेछ।

मन्त्री पौडेलले नेपाली सेनाले आपत्कालीन अवस्थाका गर्भवती र सुत्केरी सेवामा देखाएको सक्रियताका लागि प्रशंसा व्यक्त गरे। ‘तपाईंहरूको उद्धारले धेरै सुत्केरी र बच्चाको ज्यान जोगिएको छ,’ उनले भने। सेनाले तराई क्षेत्रमा सर्पदंश उपचारमा पनि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे।

सुरक्षा निकायका अस्पतालहरूसँग सहकार्य गरी जनशक्ति अभाव भएका स्थानहरूमा सेवा विस्तार गर्न मन्त्रालय तयार रहेको पौडेलले बताए। उनले भने, ‘तपाईंहरूले सर्पदंशका धेरै बिरामीहरूको उपचार गरिरहनुभएको छ। हाम्रो सहकार्यबाट आवश्यक व्यवस्थापन गर्न सकिन्छ, हामी तयार छौं।’

पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप कम गर्न सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरूसँग सहकार्यको प्रस्ताव गरेका छन्। ‘सङ्घीय अस्पतालहरूमा सिफ्ट थपेर र अतिरिक्त समयमा काम गरेर चाप व्यवस्थापन भइरहेको छ। अब सरकारी अस्पतालहरूको चाप सुरक्षा निकायका अस्पतालमा रेफर गर्नसक्ने व्यवस्था गर्न साथ दिनुहोस्,’ मन्त्री पौडेलले भने।

मन्त्री पौडेलले सुरक्षा निकायका अस्पतालहरूमा आम नागरिकका लागि खुला नभएका सेवासमेत सरकारी दररेटमा उपलब्ध गराउन सकिने सम्भावनाबारे सुझाव मागे। साथै, स्वास्थ्य बीमा कार्यक्रमलाई सुरक्षा निकायका अस्पतालमा प्रभावकारी बनाउन आवश्यक उपायबारे छलफलको लागि पनि आग्रह गरे।

गत साता मन्त्री पौडेलले सुरक्षा निकायका अस्पतालहरूसँग सहकार्य गरी सरकारी अस्पतालको चाप व्यवस्थापन गर्न कार्यदल गठन गरेका थिए। यस कार्यदलको नेतृत्व अतिरिक्त सचिव डा. टंक बारकोटीले गरेका छन्।

बैठकमा सेनाका उच्च अधिकारी र प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायतका अन्य प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: ९ माघ २०८१ १६:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App