स्वास्थ्य

नर्भिकमा दुवै घुँडाको सफल 'प्रतिस्थापन शल्यक्रिया'

नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन शल्यक्रिया (नी रिप्लेसमेन्ट सर्जरी) गरिएको छ।

अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो। दुवै घुँडा दुखेर अस्पताल आएकी देवकोटाको पहिलो घुँडाको शल्यक्रिया गरेको सात दिनमा अर्को घुँडाको शल्यक्रिया गरिएको हो।

प्रतिस्थापन शल्यक्रियामा संलग्न डा नेपालले बिरामीको अवस्था राम्रो रहेको र राम्रोसँग हिँड्न सक्ने भएको बताए। 

बिरामीका आफन्त कृष्ण देवकोटाले खिलकुमारीमा १० वर्षदेखि घुँडा दुख्ने समस्या रहेकोमा अहिले बढी दुख्न थालेपछि नर्भिक आएर डा. नेपालकहाँ जचाएको बताए। 'बीचमा अरू अस्पतालमा जचाउँदा अप्रेशन गर्नुपर्छ भनिएको थियो, तर खर्च बढी लाग्ने देखिएको र अप्रेशन गर्न पनि डर लाग्ने भएपछि औषधि खाएर बसिएको थियो,' देवकोटाले भने, 'अहिले बढी दुख्न थालेपछि नर्भिक आयौँ।'

नर्भिकमा डाक्टरको बोली तथा व्यवहार सबै मन परेको उल्लेख गर्दै उनले अप्रेशनका लागि अन्यत्र पनि बुझेको तर विश्वास नलागेपछि नर्भिक नै आएर अप्रेशन गरेको बताए। उनले थेरापीपछि बिरामी अहिले सामान्य तरिकाले हिँड्डुल गर्न सक्ने भएको भन्दै नर्भिक र डाक्टरको टिमलाई धन्यवाद दिए।

प्रकाशित: ९ माघ २०८१ १०:५८ बुधबार

#Norvic hospital #health