सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका मुस्लिम समुदायको बाहुल्यता भएको स्थानमा पर्छ । यहाँका महिला पहिला पहिला गर्भवती हुँदा नगन्यले मात्र स्वास्थ्य चेकजाँच गर्थे । बच्चा जन्माउन बर्थिङ् पनि जादैन्थे । अब भने अवस्था बदलिएको छ । मुस्लिम महिला नियमित रुपमा स्वास्थ्य चेकजाँच गर्नुका साथै बच्चा जन्माउन अनिवार्य बर्थिङ् सेन्टरमै जाने गरेका छन् ।
जसले गर्दा यहाँका महिलाको स्वास्थ्य केन्द्रमा चाप बढेसँगै भोक्राहा नरसिंह गाउँपालिका कार्यालयले स्वास्थ्य सेवामा सुधार गर्न २५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री थपेको छ । गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा सामग्री थप गरेको हो । थपिएका सामग्रीमा ग्रामीण भिडियो एक्स–रे, स्वचालित भिडियो एक्स–रे (आओयु एसजी), डेलिभरी बेड, मेडिसिन ट्रलीलगायत रहेका छन् ।
स्वास्थ्य शाखा प्रमुख हिरालाल साहका अनुसार थपिएका सामग्री दुईवटा स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह र ६ वटा आधारभूत स्वास्थ्य केन्द्रमा प्रयोग गरिने छन् । गर्भवती महिलाका लागि लक्षित गरी प्रत्येक हप्ता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने योजना रहेको साहले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले स्वास्थ्य सामग्री थपिएसँगै स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती समाधान गर्न सहज हुने जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले स्वास्थ्य सेवामा दीर्घकालीन सुधारका लागि अब बिस्तारै सहज हुँदै जाने बताए । उनका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाले आगामी दिनमा डिजिटल स्वास्थ्य प्रणाली, स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, र विशेष स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका क्षेत्रमा दुईवटा स्वास्थ्य चौकी र छ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रका रहेका छन् । यीमध्ये वडा नं. १, ५ र ८ मा वडा कार्यालयमा स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ । वडा नं. ३ मा स्वास्थ्य केन्द्र मन्दिरको भवनमा रहेको छ । वडा नं. ४ र ६ को पनि भाडामा सञ्चालनमा रहेको छ । पुरानै स्वास्थ्य केन्द्र रहेको स्थान वडा नं. २ र ७ रहे पनि अरु स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह गर्न समस्या हुने गरेकाले गर्दा गाउँपालिकाले स्वास्थ्य संस्थाको भवन निर्माणमा योजना ल्याउनुपर्ने जनाएको छ ।
प्रकाशित: २६ पुस २०८१ १७:४० शुक्रबार