स्वास्थ्य

कपिलवस्तुमा विकराल बन्दै हात्तीपाइले र कुष्ठरोग

कपिलवस्तुमा वर्षौँदेखि हात्तीपाईले र कुष्ठरोग उन्मूलनका लागि अभियान सञ्चालन गरिए पनि यी रोगहरू अझै जटिल रूपमा देखा परिरहेको छ।

तौलिहवामा आयोजित जिल्ला परियोजना सल्लाहकार बैठकमा यी रोगहरूको रोकथाम र उन्मूलनका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको औँल्याइएको छ।

कालिका सामाजिक विकास केन्द्रले फेरमेड फाउन्डेशन नेपालको सहयोगमा सञ्चालन गरेको परियोजनाको समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्यले लामो समयदेखि चलिरहेका अभियान प्रभावकारी नभएको बताएका छन्। उनले औषधि वितरण भए पनि धेरैले सेवन नगर्दा रोग नियन्त्रणमा चुनौती आएको जनाए।

गत आर्थिक वर्ष २०८०/०८१ मा १८८ जना कुष्ठरोगी फेला परेका थिए भने चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्र ७५ नयाँ कुष्ठरोगी पहिचान भएका छन्। क्षयरोग तथा कुष्ठरोग अधिकृत माहोम्द इरफानका अनुसार कुष्ठरोगीको संख्या घटाउने लक्ष्य भए पनि वर्तमान दर २.७ प्रतिशतभन्दा माथि छ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा पछि परेको कारण रोग नियन्त्रणमा समस्या भएको बताए। "तीनै तहका सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउन र अभियानमा सघाउन आवश्यक छ," उनले भने।

बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले औषधि सेवनमा नागरिकको कम सहभागिता मुख्य समस्या भएको बताए। "औषधि दुई वर्षसम्म नियमित सेवन गर्दा हात्तीपाईले रोग लाग्दैन। सबैले इमानदारीपूर्वक औषधि सेवन गर्नुपर्छ," उनले जोड दिए।

शिवराज नगरपालिकाका मेयर अजय थापाले अभियानलाई पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै समन्वयात्मक प्रयासमा जोड दिए।

परियोजना संयोजक शशीलाल कर्णले २०१९ देखि २०२४ सम्म हात्तीपाईले, कुष्ठरोग, र उष्ण प्रदेशीय रोग नियन्त्रणमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिएको जानकारी दिए। परियोजनाअन्तर्गत १६ स्वयम्सहायता समूह गठन गरिएको छ, जसमा ३०४ सदस्य आबद्ध छन्।

स्वास्थ्य सेवा विस्तारका लागि १२ बर्थिङ सेन्टर, ६ प्रयोगशालामा सहयोग गरिएको र खोज–अनुगमन कार्यमा स्वास्थ्य कार्यालयसँग समन्वय गरिएको छ।

बुद्धभूमि नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै मेयर श्रेष्ठले महिला स्वास्थ्य स्वयम्सेविकालाई प्रोत्साहनस्वरूप न्यूनतम भत्ता दिनुपर्नेमा जोड दिए।

जिल्ला समन्वय समिति, गैसस महासंघ, र स्थानीय सरोकारवालाहरूले हात्तीपाईले र कुष्ठरोग नियन्त्रणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

कपिलवस्तुमा हात्तीपाईले र कुष्ठरोग उन्मूलनका लागि सबै तहका सरकार, सरोकारवाला, र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको बैठकमा सहभागीहरूले निष्कर्ष निकालेका छन्।

यसले स्वास्थ्य क्षेत्रमा सुधार गर्न र रोगको दीर्घकालीन समाधान खोज्न थप सक्रियता अपेक्षित देखिएको छ।

प्रकाशित: ११ पुस २०८१ २०:१२ बिहीबार