१) मुक्तक
तिमी देख्दैनौ कि मेरो कथाभित्रको व्यथा,
तिमी भेट्दैनौ कि मेरो कथाभित्रको व्यथा।
साँच्चै पत्थरको दिल भएर हो कि क्या हो,
तिमी लेख्दैनौ कि मेरो कथाभित्रको व्यथा।
२) मुक्तक
मान्छे हौ मान्छे जस्तै गरेर यस धरतीमा बाचौं न साथी,
दुनियाँ रङ्गमञ्च हो सुन्दर अभिनयसँगै नाचौं न साथी।
कलियुग हो कलियुग आयु छोटिंदै गएको छ यसको,
केही गरी नै अमर हुँदैन जतिसुकै माया गाँसौ न साथी।
३) मुक्तक
बाटोमा मैले देखेको तिमीलाई नै पो हो कि,
यात्रामा मैले भेटेको तिमीलाई नै पो हो कि।
दोधार दोधारमै रुमलिन्छन मेरा अनुमानहरू,
मेरो भाग्यमा लेखेको तिमीलाई नै पो हो कि।
४) मुक्तक
धेरै निरंकुश नबन्नुस् न हौ यार पद पाउँदाखेरि,
अति नै खुसी नहुनु न यार एउटै खुसी आउँदाखेरि।
जिन्दगीमा गर्नुपर्ने धेरै कुरा आइरहन्छन्,
सबै गरे नभन्नु न यार केही समस्या पार लाउँदाखेरि।
५) मुक्तक
आफ्नो देशलाई मुटुमा बसाएर हेर,
छातीभित्र देशको माया सजाएर हेर।
आफ्नो श्रम र सीपमा धार लगाउँदै,
नेपाललाई विकसित बनाएर हेर।
प्रकाशित: १० पुस २०८१ १०:४३ बुधबार