नौ वर्षअघि नयाँ बानेश्वरकी ५४ वर्षीया सुमित्रा गौतमको स्थिति अर्कै थियो– शरीरभरि रोग, मनभरि नकारात्मक सोच। उनी शारीरिक र मानसिक रूपमा जीर्ण बन्दै गइरहेकी थिइन्। त्यसकारण उनलाई आफ्नो जीवन खास लाग्न छाडेको थियो। साथीभाइमार्फत पथिक फाउन्डेसनमा गएर उनले ध्यानको कक्षा लिन थालिन् र सिकेका कुरालाई दैनिक अभ्यासमा उतार्दै लगिन्। अहिले पनि दैनिक बिहानबेलुकी दुईपटक आधा घण्टा उनी ध्यान गर्छिन्। ध्यानको निरन्तर साधनापछि आफूमा निखरता आएको उनले सुनाइन्। ‘अहिले खुसी छु, ध्यान नसिकेको भए म बिरामी नै हुन्थेँ,’ उनले भनिन्। ध्यानले उत्पादन गर्ने सकारात्मक ऊर्जाले रोग र शोकबाट मुक्त भएको उनको अनुभव छ। गौतमको घरमा पाँच जनाको परिवार छ। सबै परिवारले हरेक दिन आफ्नो अनुकूल समयअनुसार ध्यान गर्छन्।
नवलपरासी घर भई काठमाडौँको बाफल बस्ने ४४ वर्षीय धर्मराज पोखरेलको खास व्यवसाय ढुवानी सेवा हो। यो काममा दैनिक तनाव झेल्नुपर्छ। तनावका कारण उनको दैनिकी कष्टकर थियो। उनले नौ वर्षअघि फाउन्डेसनमै गएर ध्यान सिके। त्यसयता उनले दैनिक ध्यानसाधना गरिरहेका छन्। ध्यानशक्तिले दैनिक काम गर्न ऊर्जा मिलेको उनले सुनाए। ‘ढुवानीको काम गर्दा तनाव हुन्थ्यो, अहिले ध्यान गर्न थालेपछि जस्तोसुकै अप्ठेरो आए पनि सामना गर्ने क्षमता बढेको छ,’ उनले भने।
स्याङ्जाका ५२ वर्षीय मुक्ति पाण्डे विगत १० वर्षअघि विपश्यना ध्यानमा जोडिएका हुन्। अहिले पनि उनी दैनिक ध्यान गर्छन्। ध्यानले मनको शुद्धीकरण गर्ने भएकाले मनमा शान्ति र आनन्द आउने गरेको उनले सुनाए। ध्यानकै कारण निजी काम र पेसागत काम गर्न सहज भएको उनले सुनाए। कुनै सम्प्रदाय र जातिले मात्र प्रवेश पाउने नभई सबैका लागि निःशुल्क केन्द्र भएकाले आफू विपश्यना पुगेको उनी बताउँछन्।
यी तीन पात्रबाहेक राजधानीमा रहेका विभिन्न ध्यान केन्द्रबाट लाखौंले ध्यान विधि सिकिसकेका छन्। ध्यान सिकेपछि प्राचीन समयमा जस्तो गुरुआश्रममै बस्नुपर्ने या भिक्षुहरूजस्तो विहारमै नबसी आफ्नै घरपरिवारमा रहेर दैनिक जीवनमा ध्यान गर्नेहरूको संख्या बर्सेनि बढिरहेको ध्यानका साधक तथा गुरुहरू सुनाउँछन्। ओशो तपोवनका स्वामी आनन्द अरुणले ध्यान साधना गरेको अहिले ६५ वर्ष भइसकेको छ। उनले १० वर्ष भारतमा रहेर ध्यान गरे। ५५ वर्षयता नेपालको तपोवनमा रहेर उनी ध्यान गरिरहेका छन्। उनले प्राप्त गरेको साधनाको ज्ञान ओशो आश्रममार्फत नेपाल र विदेशमा पुगेर ध्यानको दीक्षा नै दिइसकेको उनी बताउँछन्। यो हिसाबले नेपालसहित एक लाख ५० हजारले दीक्षा लिइसकेको र दीक्षा नलिएको संख्या थपिएको उनी बताउँछन्। ‘आश्रममा सिकेर गएका घरपरिवारमै फर्केर ध्यान साधनामा आनन्दमय जीवन बिताइरहेका छन्,’ उनले भने।
विपश्यना ध्यान केन्द्र सन् १९८४ मा स्थापना भएको हो। यो अवधिमा ५२ हजार दुई सय जनाले ध्यान सिकेको केन्द्रको दाबी छ। केन्द्रले नेपालमा विभिन्न १९ वटा उपकेन्द्रमार्फत ध्यान कार्यक्रम सञ्चालन गरिरहेको केन्द्रका आचार्य रूपज्योति (पूर्णप्रसाद ढकाल) बताउँछन्। उनले ३७ वर्षपहिले विपश्यनामै पुगेर ध्यान सिकेको थिए। त्यसपछिको समय उनले त्यही केन्द्रमै ध्यानगुरुका रूपमा सेवा गरेर बिताए।
पथिक फाउन्डेसन २० वर्षयता ध्यान प्रशिक्षणमा सरिक छ। सोही फाउन्डेसनमै ध्यान प्रशिक्षणमा तल्लीन छन् आचार्य स्वामी सतनाम। पेसाले इन्जिनियर भए पनि मनमा केही कुरा अपुग रहेको अनुभूतिले आफू ध्यानमा जोडिएको उनी सुनाउँछन्। २० वर्षअघि ओशो तपोवनमार्फत उनले ध्यानको दीक्षा लिएका थिए। विगत ११ वर्षदेखि ध्यान सिकाउने आचार्यका रूपमा उनी सेवारत छन्। फाउन्डेसनमार्फत हालसम्म १० हजार बढीले ध्यान सिकिसकेका छन्।
के हो ध्यान?
ध्यानका बारेमा विभिन्न अर्थ लगाउने गरिएको पाइन्छ। कोही मन शान्तिका नाममा, कोही भगवान् प्राप्तिका नाममा या अनेक नाममा ध्यान गर्न गरेको बताउँछन्। विभिन्न विधि या क्रियामार्फत मनको शुद्धीकरण गर्ने विधि ध्यान नै रहेको साधकहरू बताउँछन्। ‘ध्यान भनेको अतीत र भविष्यबाट मुक्त वर्तमान होसपूर्वक रहने विधि हो,’ स्वामी अरूणले भने। ध्यान मनभन्दा माथि जाने प्रक्रिया रहेको पथिक फाउन्डेसनका आचार्य स्वामी सतनाम बताउँछन्। ‘ध्यान भनेको छनोटविहीन सजगता अपनाउने अवस्था हो, जुन अवस्थामा वरिपरि रहेका घटनाप्रति सजग हुँदै, सास कसरी चलिरहेको छ भनेर सजग हुने वा होसको अवस्थामा रहने हो,’ उनले भने।
ध्यानका सयौं विधि रहेको स्वामी आनन्द अरूण बताउँछन्। शिवले एक सय १२ वटा ध्यान विधि, बुद्धले विपश्यना र ओशोले ६ सय वटा ध्यान विधि निर्माण गरेको उनी बताउँछन्। उनका अनुसार पूर्वीय सभ्यतामा हजारौं वर्षपहिले नै ध्यानको अभ्यास थियो। सबैभन्दा पहिला भगवान् शिवजीले ध्यानको विधि पत्ता लगाएका थिए। त्यसपछि २५ सय वर्षअघि नै बुद्धले विपश्यना ध्यानको विकास गरेका थिए।
ध्यानमा थप विधिका प्रतिपादकमा गोरख बाबा र पतञ्जलीले विकास गरे। त्यसपछि अध्यात्म गुरु ओशोले ध्यानको थप विकास गरेको स्वामी अरूण बताउँछन्। पाश्चात्य सभ्यतामा सुकरात र पाइथा गोरसले ध्यानको अभ्यास गरेको देखिन्छ।
विश्व ध्यान दिवसको घोषणा
संयुक्त राष्ट्रसंघले हालै २१ डिसेम्बर अर्थात् आजको दिनलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको छ। सोहीअनुसार विश्वभरि एकै समय ध्यान दिवस मनाउँदैछन्। पूर्वीय सभ्यतामा विकसित ध्यानको पहिचान र उपयोग विश्वभरि हुनु भनेको विश्व नै शान्तिको मार्गतिर उत्प्रेरित हुने स्वामी अरूण बताउँछन्। उनी भन्छन्, ‘संयुक्त राष्ट्रसंघको कदमले म अत्यन्त खुसी छु।’ वर्षौंदेखि आफूले ध्यान दिवस मनाउने प्रस्ताव नेपाल तह र अन्तराष्ट्रिय तहमा उठाइरहेको र ढिलै भए पनि सम्बोधन हुनु थप गौरवको विषय बनेको उनले बताए। स्वामी अरूणको अनुसार १० वर्ष पहिलादेखि ध्यान दिवस हुनुपर्छ भनेर नेपालका लिखित तथा अन्तवार्ताका क्रममा उठाएको प्रसंग स्मरण गरे। अमेरिकामा सञ्चालित ओशो ध्यान केन्द्रहरूमा त्यहाँ सरकारी प्रतिनिधिहरू सहभागी हुने क्रममा यो प्रस्ताव राखेको उनले सुनाए। गत वर्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटेरेस लुम्बिनी पुगेका थिए। सोही क्रममा तत्कालीन गृहमन्त्री श्रेष्ठले गुटेरेस समक्ष ध्यान दिवसको प्रस्ताव राखेका थिए।
ओशो केन्द्र सञ्चालन भइसकेका अमेरिकाका केही राज्यमा पहिला नै ध्यान दिवस मनाउन सुरु भइसकेको स्वामी अरूणले बताए। उनी भन्छन्, ‘भर्जिनिया र अन्य केही राज्यमा ध्यान दिवस मनाउन सुरु भइसकेको छ। स्कुलहरूमा ध्यान कक्षा सञ्चालन हुन थालेको छ,’ उनले भने। प्रथम विश्व ध्यान दिवस नेपालमा पनि विभिन्न कायक्रमसहित मनाउन लागिएको छ। राजधानीको खुला मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ध्यान कार्यक्रम हुने भएको छ।
अशान्ति र द्वन्द्वको औषधि ध्यान
विभिन्न माध्यमबाट विभिन्न धार्मिक सम्प्रदायले समेत पछिल्लोसमय ध्यान समावेश गर्ने गरेको आचार्य सतनाम बताउँछन्। स्कन, गोरख समुदाय, कृष्णा प्रणामी र अन्य धार्मिक सम्प्रदायले ध्यान समावेश गरेको देखिन्छ। ठुलो जनस्तरमा ध्यान विस्तार गर्नमा आधुनिक रूपमा विस्तार भएका अध्यात्मक केन्द्रहरू ओशो आश्रम, ओशो धारा, आर्ट अफ लिभिङ, विपश्यना, पथिक फाउन्डेसन, स्वामी विकासानन्द ध्यान केन्द्रलगायतको ठुलो योगदान रहेको देखिन्छ।
पछिल्लो समयमा नेपाल तथा विकसित मुलुकमा समेत बढ्दो तनाव, द्वन्द्व, हिंसा र अन्य मानसिक समस्या रहेको अवस्थामा ध्यानको आवश्यकता बढेर गएको ध्यान गुरुहरू बताउँछन। ‘अमेरिकामा गोली हानी सामूहिक हत्याका घटनाहरू बर्सेनि बढेको देखिन्छ, यसको कारण तनाव नै हो,’ स्वामी अरूणले भने। विकसित देशका ५० प्रतिशत मानिसलाई निन्द्रा नलाग्ने समस्याले रक्सी या स्लिपिङ ट्याब्लेटको सहारा लिनुपरेको स्थिति रहेको स्वामी अरूणले औंल्याए। पछिल्लो समय डर, चिन्ता, डिप्रेसन र नकारात्मक सोच आउने, निद्रा नपर्ने समस्या नेपालसहित विश्वभरि छ। यस्ता समस्या समाधानका लागि ध्यानले मन शान्त र सजक राख्ने र शान्त मानिस आफ्नो निजी र पेसागत जीवनमा समेत आनन्दित हुने अरूण बताउँछन्।
वैज्ञानिक विश्लेषणसहित समग्र मानिसको हितमा ध्यानलाई प्रयोग गर्न सक्ने हो भने यसलाई शान्त र आरोग्य समाज अनि विश्वका लागि अचुक औषधि बन्ने सतनाम बताउँछन्। विभिन्न धार्मिक सम्प्रदायमा विभाजित हुँदा ध्यानबारे भ्रमपूर्ण बुझाइ कायम रहेको उनको विश्लेषण छ। समग्र मानव जातिको हितमा ध्यानसाधना विस्तार हुने हो भने यसको वैज्ञानिक विश्लेषण हुनु आवश्यक रहेको उनले बताए। ‘मानवको सबैभन्दा ठुलो पुँजी नै ध्यान हो। प्रसन्नता, आनन्द प्राप्तिका लागि ध्यान सशक्त माध्यम हो,’ उनले भने। सुरुमा कुनै ध्यान केन्द्रको निर्देशनमा ध्यान सिक्ने र त्यसपछि घरघरमा जनजनमा उपयोग गर्न सकिने गुरुहरू बताउँछन्।
मानसिक स्वास्थ्यका लागि ध्यान
मानसिक स्वास्थ्य सुधारका लागि पनि मानिसहरू ध्यानमा आउने गरेको विपश्यना ध्यान केन्द्रका ध्यान गुरु रूपज्योति बताउँछन्। ध्यान कक्षा सिक्न पुगेकामध्ये करिब ८ प्रतिशत कुनै न कुनै मानसिक समस्याबाट ग्रसित हुन्छन्। मानसिक समस्या लिएर आउनेमा धेरै जसो युवा उमेरका हुन्छन्। उनीहरूमा चिन्ता र डरको रोग बढी देखिन्छ। ध्यानले मानसिक स्वास्थ्यमा लाभ पुर्याउने गरेको अनुसन्धानबाट देखिएपछि विश्व ध्यान दिवसको औचित्य रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। नेपालमा पछिल्लो समय मानसिक रोगको उपचार गर्ने स्वास्थ्य संस्थाले समेत ध्यान विधि विरामीलाई अभ्यास गराउने गरेको देखिन्छ। मानसिक रोगको उपचारका क्रममा योग तथा ध्यान शिक्षक मानसिक स्वास्थ्य केन्द्रहरूमा राख्न थालिएको मानसिक रोग अस्पताल पाटनका निर्देशक डा. अनन्त अधिकारी बताउँछन्। ‘मनोविद्हरूले बिरामीलाई ध्यान विधिको प्रयोग गराएर पनि आनन्दको अभ्यास गराउने गर्छन्,’ उनले भने। कतिपय मानसिक समस्याको उपचार ध्यानबाटै सम्भव हुने गरेको देखिएको उनले बताए।
स्वामी सतनामका अनुसार विभिन्न भावानात्मक समस्या भएका मानिसहरूमा मानसिक रोग उत्पन्न हुन्छ। जस्तो कि डर, चिन्ता, असुरक्षा जस्ता भावना भएका व्यक्तिमा कार्टिसोल हर्मोन मस्तिष्कमा उत्पन्न हुन्छ। ‘यो हर्मोन बढ्दै गएमा मानिसलाई अनिश्चित बनाइराख्छ। जब हामी ध्यान प्रणायाम गर्न थाल्छौं। त्यो कार्टिसोल हर्मोन उत्पादन हुन कम हुँदै जान्छ। अनावश्यक रूपमा प्रताडिन गर्न छाड्छौं। वर्तमान जीवनमा जिउन सिक्छौं। वर्तमान समयको सही सदुपयो गर्न थाल्छौं। यसले मनमा खुसियाली छाउन थाल्छ। जसले गर्दा हामी वर्तमानमै उत्पादकत्वमा सहभागी हुन थाल्छौं,’ उनी भन्छन्।
प्रकाशित: ६ पुस २०८१ ०६:५२ शनिबार