स्वास्थ्य

नेपालमा प्रतिदिन एकजनामा एचआईभी

सन्दर्भ: विश्व एड्स दिवस

<br>

नेपालमा हरेक दिन एकजना मानिसमा एचआईभी संक्रमण हुने गरेको तथ्यांक छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु काठमाडौंले यस वर्षको ३७औं विश्व एड्स दिवसका अवसरमा विश्व र नेपालमा एचआईभी र एड्सको अवस्थाका बारेमा सार्वजनिक तथ्यांकअनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान छ।

सन् २०२३ मा ४५७ व्यक्तिमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ, जुन सन् २००० को तुलनामा ९१ प्रतिशतले घटेको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु काठमाडौंका निर्देशक डा. सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआईभी संक्रमण ९१ प्रतिशतले घटेको छ।

सन् २०१० यता विश्वमा एचआइभी संक्रमण ३९ प्रतिशतले घटेको छ। यसैगरी एड्सबाट मृत्युवरण गर्नेको संख्या आधाले घटेको छ। सन् २०२३ को अन्त्यसम्म एसिया प्रशान्त क्षेत्रमा ६७ लाख व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान छ।

एचआइभी संक्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक रहेको छ। यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेको केन्द्रले राखेको तथ्यांकमा उल्लेख छ।

नेपालमा पनि सन् २०३० सम्ममा एड्स महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ः९५ः९५ र एचआइभीको जाँच र उपचारको रणनीतिमा आधारित भएर एचआइभी तथा एड्ससम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्। ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ नाराका साथ आइतबार देशभर ३७औं विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइएको थियो। नेपालमा एचआईभी तथा यौन रोग रोकथाम र प्रतिक्रियाका लागि २०४९ सालमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द स्थापना भएको थियो।

सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिक अन्त्य गर्ने परिकल्पना गरिएको छ। नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, एचआईभी संक्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणाममा सुधार ल्याउने, एचआईभी संक्रमित तथा मुख्य समूहमा एचआईभी सम्बन्धित असमानतामा कमी ल्याउने सरकारको योजना छ।

सन् २०२६ सम्मका उद्देश्यहरूमा अनुमानित एचआईभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, एचआईभी संक्रमण पुष्टि भएका ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने, एआरटी सेवा लिइरहेका एचआईभी संक्रमितमध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गर्ने (सन् २०१० का आधारमा), आमाबाट बच्चामा एचआईभी संक्रमण उन्मूलन गर्ने सन् २०२६ का उद्देश्य रहेका छन्।

प्रकाशित: १७ मंसिर २०८१ ०७:४३ सोमबार

# World AIDS Day # HIV in one person every day in Nepal