झापा गाउँपालिका–५ पन्थापाडाकी ७० वर्षीया खिरमन गणेश तीन दशकदेखि हात्तीपाइले रोगबाट पीडित हुन्। उनको घुँडामुनिको भाग सुन्निएको छ। दुईदिने स्वयं हेरचाह तालिम लिएपछि उनको दैनिकी केही सहज बनेको छ।
सहारा नेपालद्वारा सञ्चालित ‘विश्वास’ परियोजनाले उनलाई स्वयं हेरचाह तालिम दिएपछि उनी आफ्नो स्वास्थ्यको स्याहार आफैँ गर्न सक्ने भएकी हुन्। “२५–३० वर्ष भयो रोग लागेको”, लुगा धुने ठूलो बाटामा दुवै खुट्टा डुबाएर सरसफाइ गर्न बसेकी उनले भनिन्, “बिरामी खुट्टा कसरी सफा गर्ने थाहा भयो।”
उनीजस्तै हात्तीपाइलेपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या हुन्छ। स्वयं हेरचार तालिम लिएपछि आफ्नो दैनिकी केही सहज भएको उनको अनुभव छ। आफूलाई शौचालय आउजाउ गर्न असहज भएको बताएपछि उनलाई ‘ट्वाइलेट चियर’ प्रदान गरिएको छ।
उक्त गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने हात्तीपाइलेले सुन्निएको ठाउँको उचित सरसफाइ हुनुपर्ने बताउँछन्। “रोग प्रभावित अङ्गलाई थप बिग्रिन नदिन उचित सरसफाइ हुनुपर्छ”, उनले भने, “हात्तीपाइले रोगीलाई वर्षमा एक–दुई पटक धेरै ज्वरो आउँछ, त्यसलाई यसले रोक्न मद्दत गर्छ।”
तालिमसँगै हात्तीपाइले र कुष्ठरोगीका मागको आधारमा सहायक सामग्री प्रदान गर्ने गरिएको करुणा फाउण्डेशनका कार्यक्रम अधिकृत अङ्कित पाठकले जानकारी दिए। “हात्तीपाइले रोगीलाई दुई दिने स्वयं हेरचाह तालिम दिने गरिएको छ”, उनले भने, “मागअनुसार सहायक सामग्री पनि दिन्छौँ।”
अधिकृत पाठकका अनुसार करुणा फाण्डेशनमार्फत सन् २०२२ देखि हालसम्म तीन सय ८७ जनालाई स्वयं हेरचाह तालिम, एक सय २३ जनालाई आयआर्जन तालिम, एक सय ५५ जनालाई सहायक सामग्री, ४८ जनालाई उपचारमा सहयोग र १६ जनालाई रु १२ हजारका दरले व्यवसायका लागि बीउपूँजी प्रदान गरिएको छ।
सहारा नेपालको विश्वास परियोजनाका कार्यक्रम संयोजक पवन राईले परियोजनाअन्तर्गत झापाका १० वटा पालिकामा १० प्रकारका उष्णप्रदेशीय रोग कुष्ठरोग, हात्तीपाइले, जुका, डेङ्गी र चिकनगुनिया, कलाजार, सर्पदंश, रेबिज, लुतो, फित्तेजुका र खस्रेको क्षेत्रमा काम गर्दै आएको जानकारी दिए।
“मुलुकबाट यी रोग निवारणका लागि सरकारले तय गरेको लक्ष्यमा पुग्न सहयोगी काम गरिरहेका छौँ”, उनले भने, “स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य भइरहेको छ।” परियोजनामार्फत सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने प्रयास जारी रहेको उनको विश्वास छ।
विपन्न समुदायमा यी रोग बढी मात्रामा देखिएको कार्यक्रम संयोजक राईले सरकारले उनीहरूको स्वास्थ्य बीमा गर्नुपर्नेमा जोड दिए। “सरकारले हात्तीपाइले र कुष्ठरोगीको स्वास्थ्य बीमा गरे राम्रो हुने थियो”, धनसम्पत्ति नहुँदा उपचार नगरी रोग पालेर बस्न बाध्य भएको बताउँदै उनले भने, “हात्तीपाइले र कुष्ठरोगका कारण अङ्गभङग भएकालाई सरकारले अपाङ्गताको परिचयपत्र दिइएको छैन, उनीहरुलाई पनि परिचय पत्र दिनुपर्छ।”
विश्वास परियोजनाअन्तर्गत ३६ जना कुष्ठ तथा हात्तीपाइले रोगीलाई आयआर्जन तालिम, ३९ जनालाई सहायक सामग्री, १९ जनालाई उपचारमा सहयोग, चार सय २७ जना स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गरिएको छ। त्यस्तै, पाँच सय ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि, सात जना स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन तालिम, छ जना स्वास्थ्यकर्मीलाई प्रयोगशालाको तालिम, दमकमा ‘एनटीडी रेफरल सेन्टर’ स्थापना, छ जना नर्सिङ कर्मचारीलाई ‘एसबीएन’ तालिमको व्यवस्था गरेको छ।
परियोजना सुरु भएपछि झापा गाउँपालिकामा कुष्ठरोगीको सङ्ख्या घटेको छ। पाँच वर्ष १९ जना कुष्ठरोगी फेला परेकामा सो सङ्ख्या घटेर चारमा झरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले जानकारी दिए। उक्त गाउँपालिका जिल्लामा सबैभन्दा धेरै हात्तीपाइले प्रभावित क्षेत्र हो। यहाँ एक सय ६९ जना हात्तीपाइलेका नयाँ बिरामी फेलापरेका छन्। यो पालिकाको पनि सबैभन्दा बढी हात्तीपाइले रोग प्रभावित स्थान पन्थापाडा हो। यहाँ हाल २५ जना हात्तीपाइले बिरामी भेटिएका छन्।
झापामा नयाँ तथा पुराना गरी हाल दुई हजार तीन सय तीन जना हात्तीपाइलेका बिरामी छन्। तीमध्ये ‘लिम्फोडि’मा भएका आठ सय ४७, ‘हाइड्रोसिल’का एक हजार तीन सय ५६ र दुवै भएका ७१ जना छन्। रासस
प्रकाशित: १२ मंसिर २०८१ ०९:३१ बुधबार