स्वास्थ्य

आँखा शिविरबाट पाँचथरमा ५ सय बढीले पाए सेवा

पाँचथरको याङवरक गाउँपालिकास्थित थर्पु बजारमा सञ्चालित शल्यकृया सहितको दुईदिने निःशुल्क आँखा शिविरमा ५ सय ९ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन्।याङवरक गाउँपालिका,नेपाल नेत्रज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेसन काठमाडौंको संयुक्त आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरमार्फत ४६ जनाको आँखाको शल्यकृया गरिएको छ। 

नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आइर्वकर काजीमान थेबेका अनुसार शल्यकृया गरिएकामध्ये ४० जना मोतियाबिन्दुका बिरामी रहेका छन्।६ जनाको आँखाको साधारण शल्यकृया गरिएको थेबेले जानकारी दिए। 

शिविरमार्फत ३ सय १७ जनालाई पढ्न मिल्ने प्रकृतिको निःशुल्क चश्मा बितरण गरिएको छ भने ३ सय ७३ जनालाई औषधि बितरण गरिएको छ। 

यसैबिच,नेपाल नेत्रज्योति संघ ताप्लेजुङले याङवरक गाउँपालिका पाँचथरसंगको सहकार्यमा थर्पु बजारमा याङवरक आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। 

ताप्लेजुङ जिल्लाका मेरिङदेन,आठराई त्रिबेणी,मैवाखोला र मिक्वाखोला गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी मंसिर २० र २१ गते दोभान बजारमा दुईदिने निःशुल्क शल्यकृया सेवा सहितको आँखा शिविर सञ्चालन हुने भएको छ।

 यसअघि कात्तिक २६–२८ सम्म ताप्लेजुङको फुङलिङमा भएको तीनदिने निःशुल्क शल्यकृया सहितको आँखा शिविरमा ६ सय ७७ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको थियो।

६२ जनाको मोतियाबिन्दुको तथा १४ जनाको साधारण गरी कूल ७६ जनाको आँखाको शल्यकृया सम्पन्न गरिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।  

प्रकाशित: २ मंसिर २०८१ १०:११ आइतबार

#Taplejung