स्वास्थ्य

सकसमा दुर्गमको सरकारी अस्पताल

खुट्टाको उपचारका लागि आएका ६२ बर्षीय बेलमन घर्तीको घाउ सफा गर्दै स्वास्थ्यकर्मी । तस्बिर : नागरिक

रोल्पा– सदरमुकामबाट २८ कोष टाढाको गाउँ सुनछहरी गाउँपालिकाको गाममा रहेको स्वास्थ्य चौकीमा आधारभुत आवश्यकताका सामग्री छैनन्। एक हेल्थ असिस्टेन्ट, एक अहेब र ३ अनमी कार्यरत यो स्वास्थ्य संस्थामा औषधि त पर्याप्त छैन नै, ड्रेसिङ गर्ने सामान्य टेबुल समेत छैन्। सरकारले बर्थिङ सेन्टर समेत स्वीकृती दिएर संचालनमा आएपनि सुत्केरी हुन आउने दर पनि न्यून रहेको छ। विरामी पनि मुस्किलले दैनिक १२/१५ जना आउने गर्दछन्।

‘भौतिक संरचना कमजोर छ। प्राय आवश्यक औषधि पनि हुँदैन। उपचार गर्ने ठाउँ नै छैन। काम गर्नै कठिन छ’, गाम हेपोकी अनमी इन्द्रा बुढाथोकीले भनिन्। ‘ड्रेसिङ टेबुल पनि छैन। न विरामीलाई बसाउने कुर्सी बेन्च छन्। सुत्केरी सेवाका लागि चाहिने औषधि छैन। अत्यावश्यक मेर्थारजिन, क्याथेटर, क्याट क्ल्याम, क्याल्सीयम ग्लुकोनेट जस्ता औषधिको सधै अभाव रहन्छ’, बुढाथोकी सुनाउँछिन, ‘विरामीलाई घाउ सफा गर्नु परेमा भुइँमा राखेर मलम लगाउनु पर्छ।’

त्यसो त यहाँको स्वास्थ्य संस्थामा प्राय एन्टिबायोटिक त हुँदैन नै बच्चाका लागि आबश्यक औषधि अभाव सधै रहन्छ। भौगोलिक विकटता र अभावका कारण स्वास्थ्य संस्थामा बिरामी त कम नै आउँछन भने सुत्केरी हुन आउनेको संख्या पनि कम छ। ‘गत साल एक बर्षमा २८ जनाले स्वास्थ्य चौकीमा सुत्केरी गराएका थिए। अहिले फागुनसम्म २५ जनाको भएको छ। भौगोलिक बिकटता, लाज र जनचेतना पर्याप्त नहुँदा सुत्केरी घरमै हुने गर्दछन’, अनमी सीता सुवेदीले बताईन्।

भौतिक सुबिधा कमजोर भएका कारण यहाँका स्वास्थ्यकर्मीलाई सेवा दिन सकस पर्ने गर्दछ। सामान्य कुर्सी र बेन्च टेबुल समेत नभएपछि बिरामीलाई भुइँमै राखेर घाउ सफा गर्नुको बिकल्प छैन। ‘स्थानीय अनुकुलन कार्य योजना लापाले गाबिसलाई दिएको टेबुल कुर्सी थियो। चुनाब जितेर जनप्रतिनिधी आएपछि यी सामग्री हाम्रो हो, हामीलाई चाहिन्छ भनेर सबै लगेपछि हेपो रित्तो भएको छ’, ढुङ्गाले खुट्टा काटेर उपचारका लागि आएका ६२ बर्षीय बेलमन घर्तीको घाउ सफा गर्दै गरेकी अनमी बुढाथोकीले बताईन। उनका अनुसार ‘यहाँबाट लगेर ति सबै कुर्सी टेबुल स्कुलको कोठामा थन्काएका छन्।’

उता सुनछहरी गाउँपालिकाका प्रमुख आसबहादुर पुन पनि समस्या रहेको स्वीकार गर्दै सुधार हुँदै गएको बताउँछन्। ‘समस्या छ। हेपो इन्चार्जले पनि कोर्डिनेसन गर्नुहुन्न। के छैन, के आवश्यक हो भन्ने उहाँहरुले हो। कार्ययोजना अनि माग सबै मिलाएर आए सहज हुन्छ। हामीले अलि अलि औषधि खरिद पनि गरेका छौं। भौतिकको सवालमा पनि नयाँ भबन बन्दै छ। फर्निचरको पनि छिटै ब्यबस्था हुनेछ।’

बर्षौदेखि रोल्पाको गाम जस्ता धेरै स्वास्थ्य संस्थामा यस्ता प्रकारका समस्या यथावत छन् तर समाधानमा चासो कसैको हुँदैन्। ‘नेताले विकास भनेको बाटो बुझेका छन, त हाम्रो अस्पताल राम्रो कसरी हुन्छ। दिनरात डोजर चलायो बाटो खन्यो कमिसन त्यहि आउँछ। स्वास्थ्यमा त फाइदा हुँदैन अनि नेताको आँखा पनि पर्दैन। आफू बिरामी भए ठुलो ठाउँ गइहाल्छन्। जनतालाई जे सुकै होस’, स्थानीय देउसिंह घर्तीले आक्रोश पोखे। ‘जति परिवर्तन भने पनि गाउँ उस्तै हुन। जनता त भोट हाल्ने मेसिन मात्र हो। पुरानै चलन छ बिकटका गाउँमा कसैले हेर्दैनन्।’

स्थानीय तह निर्वाचनपछि अब सहज हुन्छ भन्ने अपेक्षा गरेका रोल्पालीहरु अहिले अन्यौलमा छन्। जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य जस्ता गम्भीर सवालमा सुधारतिर छलफल समेत नगरेर बाटो खन्ने बाहेक अन्यत्र ध्यान नदिएपछि चिन्तित बनेका हुन। रोल्पा जिल्लाका प्राय सबै स्वास्थ्य संस्थामा सरकारले निःशुल्क प्रदान गरिने भनिएका सबै औषधिको अभाब भएको धेरै समय भएको छ तर पनि सरोकारवालाले ध्यान दिने गरेको पाइँदैन्।

प्रकाशित: २६ चैत्र २०७४ ०९:५२ सोमबार

सकसमा दुर्गमको सरकारी अस्पताल