स्वास्थ्य

‘टुकुचा खोलामा बग्ने ढलमा पोलियो भाइरस छैन’

भ्याक्सिन डिप्राइभड पोलियो भाइरस अहिले काठमाडौको टुकुचा खोलामा फेला नपरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

गएको असारमा उक्त खोलाको पानी परीक्षण गर्दा भाइरस भेटिएको थियो। भाइरस भेटिएपछि परिवार कल्याण महाशाखाले लगत्तै ३ लाख भन्दा बढी बालबालिकालाई पोलियो खोप अभियान चलाएको थियो । 

प्रयोगशालाले नियमित रुपमा टुकुचा खोलाको शङ्कास्पद ठाउँबाट नमुना संकलन गरी परीक्षण गर्दा पोलियो भाइरस नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल टेक्नोलोजिष्ट लिली श्रेष्ठले जानकारी दिएकी हुन।

गत जेठमा संकलन गरिएको टुकुचाका नमुना थाइल्यान्ड स्थित रेफरल ल्याबमा परीक्षण गर्दा भाइरस भेटिएको थियो। सो लगत्तै प्रयोगशालाले हरेक हप्ता काठमाडौका पाँच स्थलबाट नियमित परीक्षण सुरु गरेको थियो। सुरुको दुई महिनासम्म हप्तैपछि र त्यसपछि महिनाको दुई पटक नमुना परीक्षण गरेको श्रेष्ठले जानकारी दिइन्।

प्रकाशित: ३० कार्तिक २०८१ १६:५५ शुक्रबार

#Polio virus #Tukucha river #National Public Health Laboratory