स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन्।
चालु आर्थिक वर्षका लागि मन्त्रालय आफैँले र आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी कस्मेटिक बाहेकका जलन बिरामीहरूको उपचार निःशुल्क गर्ने गरी सम्बन्धित अस्पताललाई परिपत्र गरिएको मन्त्री पौडेलको भनाई छ।
मंगलबारअपराह्न जलन पीडितहरूसँगको छलफलमा उनले जलन पीडितका लागि उपचार सेवाको बिस्तार जिल्ला अस्पतालसम्म गर्ने प्रयासमा आफू लागिपरेको पनि बताए। हाल सरकारले ८ वटा अस्पतालमा सो व्यवस्था गरेको भए पनि त्यसलाई जिल्ला अस्पतालसम्म पुर्याउने योजना तय गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए।
मन्त्री पौडेलले जनशक्तिको अभावमा पनि नेपालमा जलनका बिरामीहरूको उपचार प्राथमिक स्वास्थ्य केन्द्रसँग पुर्याउने सम्भावना नभएको पनि स्पष्ट पारे। कार्यक्रममा जलन पीडितहरूले जलनका बिरामीको उपचार सहज बनाउन मन्त्री पौडेलले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
प्रकाशित: २७ कार्तिक २०८१ १८:२२ मंगलबार