स्वास्थ्य

धूमपानको दाग शताब्दीऔँसम्म रहने

यस्ताे पनि!

पुरातत्व वैज्ञानिकहरूले हालै फेला पारेको एउटा हाडको अध्ययनपछि पहिलो पटक धूमपानको असर हीमा शताब्दीऔँसम्म पनि देखिने पत्ता लगाएको बताएका छन्। युनिभर्सिटी अफ लेसेस्टरका अध्येताहरूले बेलायतमा १२ औँ र १९ औँ शताब्दीका हाडहरू भेला गरी तिनमा धूमपानको असरबारे अध्ययन गरेका थिए। सो अध्ययनमा बिँडी पिउँदाको असर हाडमा पनि पाइएको बताएका छन्। खासगरी धूमपान गर्दा ही भाँचिने खतरा बढी हुने पनि सो अध्ययन निष्कर्षमा निकालिएको छ।

पश्चिमा मुलुकहरूमा धूमपानको संस्कृति भित्रिएको पाँच सय वर्षभन्दा बढी भएको छैन। यत्तिका वर्षमा मानव हाडमा केही तात्विक फरक देखिएको वैज्ञानिकहरूले दाबीसमेत गरेका छन्। उदाहरणका रूपमा १६ औँ शताब्दीभन्दा अघिका हाड र पछिका हाडहरूको अध्ययन गरिएको थियो। यसअघि पुरातत्वका वैज्ञानिकहरूले धूमपानले पार्ने असरका बारेमा दाँते हीहरूको मात्र अध्ययन गर्ने गर्थे। सो अध्ययनमा लामो समयसम्म धूमपान गर्नेहरूको दाँते गू वा दाँते हाड र मुखका अध्ययन गरिन्थ्यो। तर लामो जीवन बाँच्नेहरूको दाँत झर्ने कारणले सो अध्ययन अहिलेसम्म अधुरो मान्ने गरिएको थियो। यही समस्या निराकरण गर्न वैज्ञानिकहरूले दाँत र ‘डेन्टल रिमेन’को साटो हाडमा हुने परिवर्तनतर्फ अध्ययन सोझ्याएका हुन्।

युनिभर्सिटी अफ लेन्सेस्टरको टोलीले हाडभित्रको कडा टिस्यू, जसले हीको बाहिरी भागलाई छोपेर सुरक्षा गर्ने गर्छ, त्यो कोर्टिकल बोनको अध्ययन गरी सो निष्कर्ष निकालेका हुन्। यसका लागि वैज्ञानिकहरूले ३२३ अवशेषहरूको अध्ययन गरेका थिए। उनीहरूको मतमा ती अवशेषहरू धूमपान गर्नेहरूका थिए।

फेला परेका हाडहरू सन् ११५० देखि १८५५ नर्थ लिंकरशायरको चर्च सिमेटरीबाट संकलन गरिएका थिए। केही कंकाल भने लन्डनको युस्टन क्षेत्रबाट संकलित गरिएका थिए। शोधकर्ताहरूले धूमपान खपत गर्नेहरूका बारेमा मानव हाडमा चिनो रहने गर्छ। जसले धूमपान गर्छ र जसले गर्दैन, उनीहरूको हाड हेरेर पत्ता लगाउन सकिने समेत वैज्ञानिकहरूले बताएका छन्। धूमपानले फोक्सोका समस्या र क्यान्सरहरू मात्र नगराई हाड पातलो पार्नेसमेत समस्या ल्याउने हुनाले हाडको अध्ययनबाट मानिसको धूमपानको बानी पत्ता लाग्ने द टाइम्स अखबारले लेखेको छ।

प्रकाशित: १३ कार्तिक २०८१ ०९:३४ मंगलबार