स्वास्थ्य

डेङ्गु रोकथामका लागि ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान

डेङ्गु रोकथामको अभियान थालनी गर्दै मेयर बस्नेतलगायत । तस्विरः महेश्वर

देशभर फैलिएको डेङ्गु रोकथामका लागि सदरमुकाम त्रियुगा नगरपालिकाले पनि अभियान थालेको छ। डेङ्गुबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै यसबाट बँच्न नगरपालिकाले ‘खोज र नष्ट गर’ अभियानको थालनी गरेको हो।

जताततै डेङ्गु संक्रमणका बिरामी बढ्न थालेको पाइएपछि त्रियुगाले नगरवासीलाई यसबाट बँचाउन अभियान थालेको नगरप्रमुख वसन्त बस्नेतले बताए। नगरवासीलाई रोगबाट बँचाउन खोज्दै नष्ट गर्ने अभियान सुरु गरेको मेयर बस्नेतले बताए।

मेयर बस्नेतका अनुसार नगरपालिकाका १६ वटै वडामा डेङ्गु रोकथामका लागि विभिन्न गतिविधि सञ्चालन गरिनेछ। त्यसका लागि नगर स्वास्थ्य कार्यालयले नगर अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य उपचार केन्द्र तथा स्वास्थ्य सेवा कार्यालय मार्फत् स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्न थालेको उनले बताए।

अभियानलाई सशक्त र प्रभावकारी बनाउन स्वास्थ्य संस्थाहरुसँगै सामुदायिक तथा संस्थागत विद्यालय तथा टोल विकास संस्थाहरूलाई पनि साझेदार बनाएर अघि बढ्ने निर्णय भएको छ।

डेङ्गु रोग लाग्न नदिन सचेतना अभियान चलाउने मात्र नभई रोग लागेर बिरामी भएकाहरूको उचित उपचार तथा व्यवस्थापन गर्ने काम पनि सँगै लिएर जाने तयारी नगरपालिकाले गरेको छ।

डेङ्गु नियन्त्रण गर्न एक  पक्षबाट मात्र संभव नभएका कारण नगरपालिकाले सामूहिक प्रयासमार्फत अभियान थालेको हो। अभियान डेङ्गु नियन्त्रण नभएसम्म जारी राख्ने नगरपालिकाले जनाएको छ।

‘डेङ्गु संक्रमण रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्ने काम कुनै एक पक्षबाट मात्र संभव देखिएन’ मेयर बस्नेतले भने ‘त्यसैले सबै सरोकारवालाहरुसँग समन्वय गरी जनस्तरसम्म सचेतना फैलाउन विभिन्न क्रियाकलाप गर्ने योजना बनाइएको छ।’

डेङ्गु संक्रमण लामखुट्टेको टोकाइबाट हुने प्रमाणित भइसकेकाले लामखुट्टे नष्ट गर्नुपर्ने भएकाले फूल तथा लार्भा नष्ट गर्नु पहिलो कर्तव्य ठानिएको छ। त्यसका लागि लामखुट्टे बास बस्ने, फुल पार्ने ठाउँको खोजी गरी लार्भा नष्ट गर्न ‘खोज र नष्ट गर’ अभियानले सार्थक हुने स्वास्थ्य शाखाको बुझाई छ।

नगर स्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले अभियानमा साथ दिन नगरवासी सबैलाई आआफ्नो घर वरपरका खाल्डाखुल्डीमा पानी जम्न नदिन, जमेको ठाउँमा औषधि छिट्ने तथा सरसफाई गर्न लगाइएको बताए।

त्यसैगरी घरमा राखिएका खाली टिनका डब्बा, टायर, सजाइएका फुलका गमला, बाल्टी आदिमा पानी जम्न नदिने सचेतना फैलाउने काम गरिने पनि कार्कीले बताए। विद्यालय तथा सरकारी कार्यालय परिसरमा पूर्ण सरसफाई गर्ने, टोल विकास संस्थाहरूलाई आआफ्नो टोलको सरसफाइ आफै गर्न लगाउने काम पनि अभियान अन्तर्गत थालिएको छ। 

प्रकाशित: १२ कार्तिक २०८१ २०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App