स्वास्थ्य

सिँवा स्वास्थ्य चौकीलाई ८ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण प्रदान

ताप्लेजुङ विकास मञ्चले फक्ताङलुङ गाउँपालिकास्थित सिँवा स्वास्थ्य चौकीलाई ८ लाख मूल्य बराबरको तीन वटा स्वास्थ्य उपकरण प्रदान गरेको छ।

प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री योगेशकुमार भट्टराई तथा ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाँइले युएसजी मेसिन,एक्स–रे मेसिन र एक्स–रे प्रिन्टर हस्तान्तरण गरेका छन् । सांसद भट्टराई र विकास मञ्चका अध्यक्ष प्रसाँइले उक्त मेसिनहरू फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति) तथा स्वास्थ्य चौकी सिँवाका प्रमुख प्रेमकुमारी लिम्बूलाई हस्तान्तरण गरेका हुन ।नेपाल मेडिकल सर्पोट जर्मनीको आर्थिक सहयोगमा  ताप्लेजुङ विकास मञ्चले सो स्वास्थ्य उपकरण प्रदान गरेको हो।

नेपाल मेडिकल सर्पोट जर्मनीको आर्थिक सहयोगमा ताप्लेजुङ विकास मञ्चमार्फत सवा करोड बढी रकममा ताप्लेजुङ जिल्ला अस्पतालको भवन प्रबलीकरण तथा स्तरोन्नति भएको थियो भने करिब ९० लाख खर्चिएर आँखा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको संस्था नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको भवन समेत निर्माण तथा प्रबलीकरण भएको छ।

 सांसद भट्टराईको समन्वयमा नेपाल मेडिकल सर्पोट जर्मनीका प्रमुख ‘उस्सी दिदी’ताप्लेजुङ आएर सहयोग गर्न थालेको ‘उस्सी दिदी’कोतर्फबाट नेपालका कार्यक्रमको संयोजन गर्ने पर्यटन व्यवसायी विनोद आचार्यले जानकारी दिए। ‘उस्सी दिदी’जर्मनीकी सेवा निवृत्त चिकित्सक हुन्।नेपालका बिभिन्न जिल्लामा सहयोग गर्ने उनलाई नेपालीहरूले ‘उस्सी दिदी’ भनेर श्रद्धापूर्वक नाम दिएका छन्।

प्रकाशित: ११ कार्तिक २०८१ १८:१२ आइतबार

#Taplejung Development Platform #Simwa Health Post