स्वास्थ्य

गण्डकीमा घट्दै डेङ्गी सङ्क्रमण

चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ।

गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेङ्गी सङ्क्रम पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

'चिसो याम सुरु भएकाले अब विस्तारै सङ्क्रमण कम हुँदै जान्छ, फागनुदेखि फेरी सङ्क्रमण बढ्न थाल्छ', निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले भने, 'कात्तिक अन्तिमसम्मै सङ्क्रमणको जोखिम रहिरहने हुनाले हरेकले स्वास्थ्य सतर्कता अपनाउनुपर्छ।' उनका अनुसार गत फेबु्रअरीमा जम्मा ११ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका महिनामा क्रमशः सङ्क्रमितको संख्या थपिँदै गएको हो।

जुन महिनासम्ममा ९३ जनामा सीमित रहेको उक्त रोगको सङ्क्रमण जुलाई महिनामा बढेर सात सय २९ जनामा सङ्क्रमण देखिएको थियो। अगष्टमा एकैचोटि चार हजार ८४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ। गत जनवरीयताको अवधिमा सबैभन्दा बढी कास्की जिल्ला डेङ्गीबाट बढी प्रभापित भएको देखिन्छ। निर्देशनालयको तथ्याङ्क अनुसार कास्कीमा सात हजार आठ सय ९४ जनामा डेङ्गी सङ्क्रमण भएको छ।

सबैभन्दा कम मनाङमा जम्म पाँच जनामो उक्त रोगको सङ्क्रमण देखिएको महानिर्देशक खड्काले जानकारी दिए। कास्कीपछि धेरै सङ्क्रमण फैलिएको जिल्ला तनहुँमा तीन हजार तीन सय ७२ जना सङ्क्रमित भएको उनको भनाइ छ। पर्वतमा १३ सय ३४, बागलुङमा एक हजार ६१, गोरखामा आठ सय ४४, स्याङ्जामा छ सय ३६, म्याग्दीमा तीन सय ३१, नवलपुरमा दुई सय ४६, लमजुङमा एक सय २२ र मुस्ताङमा जम्मा नौ जना डेङ्गीबाट सङ्क्रमित भएका हुन्।

सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा सात हजार सात सय ८१ ज्नामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ। यस वर्ष डेङ्गी सङ्क्रमणका कारण प्रदेशभित्रका आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने र चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन्।

समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ। डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ।  डेङ्गी रोग ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ। डेङ्गीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ। 

प्रकाशित: ९ कार्तिक २०८१ १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App